रसुवागढी खुलेपछि चीनमा बढ्यो नेपाली सामानको माग- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रसुवागढी खुलेपछि चीनमा बढ्यो नेपाली सामानको माग

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट चीनतर्फ निर्यात खुलेपछि तिब्बतमा नेपाली सामानको माग हुन थालेको छ । झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात हुन थालेको हो । कोरोना महामारीका कारण रोकिएको निर्यात गत मंगलबारदेखि पुनः सुरु भएको छ ।

निर्यात सुरु भएसँगै तिब्बतमा नेपाली सामानको माग हुन थालेको व्यावसायीहरूले बताए । रसुवागढी हुँदै चीनतर्फ मैदा, बेसार, खुर्सानी, बाँसका मुडा, अम्रिसोको कुचो, हस्तकलाका सामान, कस्मेटिक, चाउचाउलगायत सामान निर्यात हुँदै आएको थियो ।

तिब्बतका व्यवसायीले फोन गरेरै नेपाली सामान मगाउन थालेको कालिका गाउँपालिका–५ जीवजीवेका व्यवसायी मुकुन्द पौडेलको भनाइ छ । ‘अहिले उताका व्यवसायीबाट नेपाली सामानको माग हुन थालेको छ,’ पौडेलले भने, ‘चिनियाँ नागरिकले नेपाली सामान औधी मन पराउँछन् ।’

तिब्बतबाट सामानको माग आएपछि आफूले निर्यात गर्ने सामान संकलन गर्न थालेको पौडेलले बताए । निर्यातका लागि दुई कन्टेनर बाँसका मुडा बुक भइसकेको उनको भनाइ छ । नेपालबाट निर्यात भएका सामान ल्हासा, सिगात्से आम्दोलगायत ठाउँमा पुग्ने गरेका छन् ।

रसुवागढीबाट सामान निर्यात सुरु भएदेखि सोमबारसम्म ११ कन्टेनर सामान चीनतर्फ निकासी भइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । सामान लैजान चिनियाँ कन्टेनर नेपाली भूभागमै आउने गरेका छन् । एक सातामा एक करोड ३१ लाख १६ हजार नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । मूर्ति, कार्पेट, बाँसका मुडा, ह्यान्डीक्राफ्ट, तामाका सजावटका सामानलगायत वस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।

रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका छन् । ०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयातनिर्यात बन्द भएको थियो ।

पछि कोरोना भाइरस देखा परेपछि आयात, निर्यात थप प्रभावित भयो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । ०७७ असार २२ बाट पुनः आयात सुरु भए पनि निर्यात ठप्प थियो । आयात सुरु भए पनि कहिले कोरोना, कहिले पहिरो र हिमपातका कारण पटकपटक नाका प्रभावित हुँदै आएको छ ।

बारम्बार आइरहने यस्ता समस्याका कारण व्यापारी भने मर्कामा छन् । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ । सामान आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ ।

अहिले नाकाबाट प्रतिदिन १४ कन्टेनर मात्र चिनियाँ सामान आयात भइरहेको छ । सामान आयातनिर्यात भए पनि मानिसको आवतजावत हुन सकेको छैन । नाका सहज हुँदा मासिक ४० टनसम्म बेसार र खुर्सानी मात्रै रसुवागढी हुँदै निर्यात भएको व्यवसायी बताउँछन् ।

आर्थिक वर्ष ०७६/७७ मा रसुवागढी हुँदै ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

प्रकाशित : पुस २०, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली वस्तु निर्यात

मंगलबार ८ कन्टेनर सामान चीन निकासी
बलराम घिमिरे

रसुवा — झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ ।  कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुन: सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । 

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको छ । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार मंगलबार करिब ५० लाख नेपाली रुपैयाँबराबरको सामान निर्यात भएको छ । 'कोरोनाका कारण रोकिएको निर्यात आजदेखि खुलेको छ । मंगलबार बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ,' भण्डारीले बताए ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । अहिले नाकाबाट दिनहुँ १४ वटा चिनियाँ कन्टेनरमा सामान आयात भइरहेको छ ।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

प्रकाशित : पुस १२, २०७९ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×