एसियाली राजमार्गमा गुडे सवारी

पर्वत पोर्तेल

झापा — चिल्लो र फराकिलो राजमार्ग देख्दा स्थानीय सवारी चालक प्रकाश मगरको मन रोमाञ्चित हुन्थ्यो । तर त्यो भव्य सडक छिचोल्दै भारत छिर्न नपाउँदा भने उनी खल्लो महसुस गर्थे । पुरानो पुलको घण्टौं लामो जाममा पटकपटक फसेका मगरले सुनाए, ‘नयाँ पुल र सडकमा कहिलेदेखि मोटर गुडाउन पाइएला भन्ने थियो, बल्ल सपना पूरा भयो ।’

एसियाली राजमार्गमा गुडे सवारी

मगरजस्ता सवारी चालकको मात्रै होइन, एसियाली राजमार्ग र मितेरी पुल कहिले सञ्चालन होला भन्ने दुवै देशका नागरिकको सरोकार थियो । करिब दुई वर्षपछि बहुप्रतीक्षित राजमार्ग र पुल सञ्चालनमा आएपछि दुवैतर्फका नागरिक हर्षित छन् । भारत, पानीट्यांकीका व्यवसायी सरकार गिरीले भने, ‘एसियन हाइवे पूर्ण रूपमा सुरु हुनु भनेको दुवै देशकालाई आउजाउमा सहजता हुनु हो ।’

निर्माण सकिएको दुई वर्ष बित्दा पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको उक्त राजमार्ग सञ्चालनका लागि गत पुस ६ मा नेपाल–भारतका भन्सार र सुरक्षा अधिकारीले निर्णय गरेका थिए । संयुक्त बैठकले ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुललाई पूर्ण रूपमा सञ्चालनका लागि सहमति गरेका थिए । त्यही सहमतिबमोजिम आइतबार दिउँसो मेची भन्सार प्रमुख रामप्रसाद पाठक र भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पाले रिबन काटेर राजमार्ग खुलेको जनाउ दिएका थिए ।

दुई देशका अधिकारीहरूले रिबन काटेपछि सबै किसिमका सवारी निर्बाध गुड्न थालेका छन् । ‘लामै प्रयत्नपछि राजमार्ग सञ्चालन गर्न सफल भयौं,’ पाठकले भने, ‘राजमार्ग खुलाउने विषयमा भारतीय अधिकारीहरूले खेलेको भूमिका अतुलनीय छ ।’

चारपांग्रे सवारीसहित मालवाहक ट्रक–कन्टेनरलगायत सबै सवारीलाई नयाँ पुलबाट जाने र पुरानो पुलबाट आउने व्यवस्था मिलाइएको छ । दुईपांग्रे सवारीसहित पैदल यात्रीलाई पुरानो पुलबाट आवागमनको व्यवस्था मिलाइएको छ । ‘यति भएपछि अब दिनहुँ हुँदै आएको सवारी जाम कम हुने अपेक्षा छ,’ पाठकले भने, ‘यात्रीहरूले अब सकस भोग्नुपर्दैन ।’

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेन सडकसहित नेपाल–भारत सीमा छुट्याउने मेची नदीमा अर्को पुल बनाएको हो । कोरोना कहरकै बेला निर्माण सकिएको यो पुल र राजमार्गले मुलुकको पूर्वी सीमान्त सहरको स्वरूप नै बदलिदिएको छ ।

उक्त पुल निर्माणसँगै नेपालतर्फको करिब ५ सय मिटर पहुँच मार्ग (एप्रोच रोड) पनि भारतले बनाएको छ । यस राजमार्गबाट भारत हुँदै बंगलादेश, थाइल्यान्डसम्म पुग्न सकिनेछ । ‘यसले खास गरी नेपालको अर्थ व्यापारको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ,’ मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले भने, ‘आयात–निर्यात व्यापार अब सहज बन्दै जाने निश्चित छ ।’ ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा पुल निर्माणमा सम्झौता गरेका थिए । गत ०७४ फागुनबाट औपचारिक निर्माण सुरु भएको पुल ०७७ माघमा पूर्ण सम्पन्न भएर एसियन हाइवे निर्माण कम्पनीले भारत सरकारलाई हस्तान्तरण गरेको थियो । ६ सय ७५ मिटर लामो पुल ६ लेन चौडाइको छ ।

प्रकाशित : पुस १८, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?