२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपाल–बंगलादेश व्यापार आठ वर्षदेखि घाटामा

अघिल्लो वर्ष ६६ करोड २७ लाखभन्दा बढीको सामान बंगलादेश निर्यात भयो, यही बेला उताबाट १० अर्ब ८५ करोड ३५ लाखभन्दा बढीको सामान आयो
पर्वत पोर्तेल

झापा — आर्थिक वर्ष ०५४/५५ बाट सुरु भएको नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापार आठ वर्षदेखि निरन्तर घाटामा छ । व्यापार सुरु भएको पहिलो र दोस्रो वर्ष बंगलादेशको पक्षमा रहेका व्यापार ०५६/५७ मा भने नेपालको पक्षमा देखिएको थियो ।

नेपाल–बंगलादेश व्यापार आठ वर्षदेखि घाटामा

त्यो वर्ष ९४ करोड २३ लाख मूल्यको सामान निर्यात हुँदा ४१ करोड ३२ लाखको सामान आयात भएको थियो । त्यसयता चार वर्ष निरन्तर घाटा बेहोर्‍यो ।

आर्थिक वर्ष ०६१/६२ देखि ०६४/६५ सम्म नेपाल–बंगलादेश व्यापारमा उतारचढाव आयो । ०६४/६५ देखि ०७०/७१ सम्म करिब ७ वर्ष नाफामा रह्यो । त्यो समयमा गहुँ निर्यात हुन्थ्यो । बंगलादेशबाट आउने सामान पनि कम थियो । ०७१/७२ देखि भने व्यापार ओरालोमा छ । ‘करिब आठ वर्षदेखि नेपाल–बंगलादेश व्यापार हाम्रो पक्षमा छैन,’ नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, काँकडभिट्टाका प्रमुख लीलाधर सुवेदीले भने, ‘मुसुरो दालको गिर्दो निर्यातलगायत कारणले व्यापार घाटामा छ ।’

भारतलगायतका मुलुकसँगको व्यापार घाटा अकासिँदो छ । बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सेनि नेपालको पक्षमा हुन्थ्यो । पछिल्लो तथ्यांक हेर्दा बंगलादेशसँगको व्यापार पनि निरन्तर ओरालो लाग्दै छ । बंगलादेश निर्यात गर्ने वस्तु नै छैन । अदुवा, अम्रिसोलगायतका सीमित कृषि उत्पादनका भरमा बंगलादेशको व्यापार टिकेको छ । नेपाली वस्तुमाथि बंगलादेशी भन्सारले चर्को ड्युटी लगाएका कारण निर्यात व्यापार खस्किएको हो । ‘बेलाबेला कृषिजन्य वस्तु र जडीबुटीलगायतका कारण मात्रै हाम्रो व्यापार टिकेको छ,’ सुवेदीले भने, ‘मुसुरोको निर्यात पूरै घट्दा सिंगो व्यापारमा असर परेको छ ।’

अघिल्लो वर्ष ६६ करोड २७ लाखभन्दा बढीको सामान बंगलादेश निर्यात भएको थियो । जब कि बंगलादेशबाट १० अर्ब ८५ करोड ३५ लाखभन्दा बढीको सामान आयात भयो । यो करिब साढे ६ दोब्बर बढी हो । त्यो वर्ष साढे ५२ करोडको मुसुरो निर्यात भएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको तथ्यांक छ । नेपाल–बंगलादेशबीचको समग्र व्यापारमै कमी आएको स्थानीय आयातकर्ता मित्रलाल संग्रौलाले जनाए । पहिला कोभिड र त्यसपछिको आर्थिक मन्दीको प्रभाव नेपाल–बंगलादेशको व्यापारमा प्रत्यक्ष रूपमा परेको संग्रौलाको दाबी छ । ‘निर्यात त घटेकै छ, आयात पनि कम हुँदै गएको छ,’ उनले भने ।

कोभिडअघि बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ वटा आइटमलाई ‘ड्युटी फ्री’ सुविधा दिने निर्णय गरे पनि त्यो अहिलेसम्म कार्यान्वयन नभएको नेपाल–बंगलादेश चेम्बर एन्ड ट्रेडर्सका संस्थापक पन्नालाल जैनले बताए । ‘नेपाली वस्तुलाई ड्युटी छुट गर्नेबित्तिकै निर्यात व्यापार बढिहाल्छ,’ उनले भने । बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्सारसहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रिजेरेटर, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, टोवाको, टमटरको सस र बिस्कुटलगायत ५० वस्तुमा ड्युटी फ्री गर्ने भनेको थियो ।

१९ वर्षमा पौने २८ अर्बको निर्यात

०५४ भदौ १४ देखि नेपालले बंगलादेशसँग औपचारिक व्यापार थालेको थियो । काँकडभिट्टा–फूलबारी–बंगलाबन्द मार्ग सञ्चालन भएको २५ वर्षमा कुल ८३ अर्ब ८२ करोड ३६ लाख मूल्यभन्दा बढीको व्यापार हुँदा बंगलादेशबाट ५० अर्ब २३ करोड १२ लाख मूल्यको सामान नेपाल आयात भएको छ । नेपालबाट ३३ अर्ब ५९ करोड २३ लाख ९० हजार मूल्यभन्दा बढीको सामान निर्यात भएको छ । बंगलादेशबाट कटन वेस्ट, औषधि, फेब्रिक, जुट, चिनी, दूध पाउडर, सोया, आलुलगायत करिब तीन दर्जन वस्तु आयात हुन्छन् । नेपालले मुसुरो, जडीबुटी, अदुवा, तोरीको पिना, तरकारीजन्य वस्तु निर्यात गर्दै आएको छ ।

प्रकाशित : पुस १७, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?