कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३८

बेनी-जोमसोम सडक विस्तार झन् सुस्त

दसैंयता गलेश्वर छेउमा ८/१० जना मजदुरले रिटेनिङ वाल लगाउनेबाहेक काम भएन
घनश्याम खड्का

म्याग्दी — सरकारको प्राथमिकतापूर्ण गौरवको योजनामध्येको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला अन्तरदेशीय सडकको काम झन्झन् सुस्त बनेको छ । अधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पूरै ठप्प छ । आयोजनाको सुरु विन्दु गलेश्वरदेखि मुस्ताङ सीमावर्ती घाँसासम्मको ४० किमि (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्पप्रायः छ ।

बेनी-जोमसोम सडक विस्तार झन् सुस्त

गत दसैंयता गलेश्वर छेउमा ८/१० जना मजदुरले रिटेनिङ वाल लगाउनेबाहेक अरु कुनै काम भएको छैन । ‘बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्डअन्तर्गत बेनी–जोमसोम ७६ किमिमध्ये मुस्ताङतर्फको ३८ किमि क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ ।

म्याग्दीतर्फको ३८ किमि क्षेत्रमा निकै सुस्त काम भएको छ,’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘दसैं मनाउन गएका मजदुर निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन् । हामीले व्यवसायीलाई दबाब दिइरहेका छौं ।’

प्रजापतिका अनुसार फिल्डमा देखिने गरी काम नभए पनि बेनी–घाँसासम्मको खण्डमा सडक विस्तार गर्न प्राविधिक समस्या पनि छ । भिरकाटेमा सुरुङ मार्ग बनाउन अध्ययन जारी छ भने रुप्से छहरामा अघिल्लो वर्ष बाढीले बगाएको मोटरेबल पुलको डिजाइनपछि ठेक्का लगाए पनि सम्झौता गर्न बाँकी रहेको प्रजापतिले बताए ।

आयोजनाका अनुसार गत वर्षदेखि थपिएको पर्वतको मालढुंगा–बेनी १३ किमि र बेनी–गलेश्वर ३ किमि सडकमा पनि काम भइरहेको छ । नालीको पानी पन्छाउने विषयमा स्थानीयले अवरोध गरेपछि काम प्रभावित हुँदा ठेक्का लगाएको २ वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाको दाबी छ ।

प्रजापतिका अनुसार मालढुंगा–बेनी खण्डमा ३५ प्रतिशत काम भएको छ । बेनी–गलेश्वर खण्ड ठेक्का प्रक्रियामा छ । गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७०, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५, घाँसा–कैकुखोला तेस्रो प्याकेज शतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको छ ।

०७६ मंसिर भित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, उन्नत र कालोपत्र गर्ने काममा ढिलाइ भइरहेको छ ।

‘मुस्ताङतर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङ वाल र नालीको काम सकिएको छ । गर्मी सुरु भएर कालोपत्र गर्न योग्य तापक्रम पुग्नेबित्तिकै काम अघि बढाउने गरी ठेकदारलाई तयारी बस्न भनेका छौं,’ प्रजापतिले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा अघिल्लो र यस वर्ष ठुल्ठूला बाढीपहिरोले सडकमा धेरै क्षति पुर्‍याएकाले व्यवसायीले प्रगति देखिने गरी काम गर्न सकेनन् । पहिरोमा अझै धेरै काम बाँकी छ । म्याग्दी खण्डमा पनि यो वर्ष धेरै भाग कालोपत्र गर्छौं ।’

प्रकाशित : पुस १६, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?