१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मध्यमोदीबाट बिजुली उत्पादन सुरु

अगन्धर तिवारी

पर्वत — मोदी खोलामा निर्मित १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । ०७१ मंसिरबाट निर्माण सुरु गरिएको आयोजना दुई वर्षभित्रै सक्ने लक्ष्य थियो । तर भूकम्प, नाकाबन्दी, स्थानीय र कामदारको निरन्तरको अवरोधलगायत कारण आयोजना सकिन ८ वर्ष लाग्यो ।

मध्यमोदीबाट बिजुली उत्पादन सुरु

अहिले परीक्षण उत्पादन भइरहेको र केही दिनमै व्यावसायिक उत्पादनका लागि विद्युत् प्राधिकरणबाट अनुमति लिइने आयोजना प्रमुख प्रताप खरेलले जनाए ।

आयोजनाले कम्तीमा दुई साता परीक्षण उत्पादन गर्नुपर्छ । सुरुमा १५.१ मेगावाटको इस्टिमेट गरी सुरु भएको आयोजनाको क्षमता बढेर १८ मेगावाट पुगेको हो । सुरुङको लम्बाइ, पावरहाउसबाट पेनस्टक पाइप जोड्ने सुरुङमार्गको मुखसम्मको लम्बाइलगायतको सहजताका कारण आयोजनाको क्षमता बढेको हो । आयोजना परीक्षणका सबै काम पूरा गरिएको विद्युत् गृह प्रमुख प्रवीन देसारले बताए । आयोजनाले कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटी र पर्वतको मोदी गाउँपालिका–१ र २ लाई समेट्छ ।

अन्नपूर्ण–३ बिरेठाँटीमा आयोजनाको बाँध छ । पावरहाउस पर्वतको मोदी गाउँपालिका–२ केरुंगामा पर्छ । पर्वततर्फ आयोजनाको मोदी–१ भुक र मोदी–२ देउपुरस्थित मख, कल्लेनी, ओख्ले, ठाना, सिमखेतलगायत प्रभावित क्षेत्र हुन् । प्रभावित क्षेत्रमा आयोजनाले विद्यालय, खानेपानी, सामुदायिक भवनलगायत पूर्वाधारका लागि समेत सहयोग गरेको छ । मोदी गाउँपालिकाको प्रशासकीय भवनलाई २५ लाख र मोदी–६ तिलाहारको वडा कार्यालय भवन निर्माणमा समेत आयोजनाले १५ लाख नगद सहयोग गरेको थियो ।

दुई अर्ब ८० करोड लागत इस्टिमेटमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तर आयोजनाको लागत बढेर करिब ५ अर्ब पुगेको हो । आयोजनाका लागि २८ सय ४० मिटर लम्बाइको टनेलबाट ल्याइएको पानी ७७ मिटर लामो टेलरेसबाट मोदी खोलामा खसालिएको छ । चौधरी ग्रुपको लगानी रहेको आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) यसअघि नै प्राधिकरणसँग भइसकेको छ । मध्यमोदीको बिजुली मोदी गाउँपालिकाकै पातिचौरमा रहेको कोरुंगा सबस्टेसनमा लगेर १३२ केभी लाइनमार्फत मोदी–लेखनाथ प्रसारण लाइनमा पठाइनेछ ।

प्रकाशित : पुस १५, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?