तेस्रो मुलुकबाट मुसुरो आयात गर्दै बंगलादेश निर्यात !- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेस्रो मुलुकबाट मुसुरो आयात गर्दै बंगलादेश निर्यात !

पर्वत पोर्तेल

झापा — पहिला मुसुरो (दाल) बंगलादेश निर्यात हुने मुख्य नेपाली उत्पादनमध्ये पर्थ्यो । यो वस्तु नेपाली उत्पादनको रूपमा २० वर्षदेखि निरन्तर बंगलादेश निर्यात हुँदै आएको छ । खासमा बंगलादेशसँगको निर्यात व्यापार अहिले पनि मुसुरोले नै धानेको छ ।

नेपाली उत्पादन भनेर मुसुरो बंगलादेश निर्यात हुँदै आए पनि त्योभन्दा धेरै परिमाण नेपालले नै आयात गर्दै आएको छ । विश्वका ५ महादेशका ७ मुलुकबाट मुसुरो पूर्वी नाका हुँदै भित्रिरहेको छ । जसमा एसियाका म्यानमार र भारत, युरोपको रसिया, उत्तर अमेरिकाको क्यानडा, अफ्रिकीका तान्जानिया र इथियोपिया तथा अस्ट्रेलिया छन् ।

व्यवसायीहरूका अनुसार मुलुकभित्र मुसुरोको उत्पादन क्रमशः गिर्दो छ । त्यही कारण भारतसहित तेस्रो मुलुकबाट आयात गरेर माग धान्नुपर्ने अवस्था छ । मेची भन्सार स्रोतका अनुसार प्रदेश १ का आधा दर्जनभन्दा बढी फर्महरूले मुसुरो आयात गरिरहेका छन् । ‘तेस्रो मुलुकबाट आयात गरिएको मुसुरो पुनः प्रशोधन गरी बंगलादेश निर्यात भएको पनि हुन सक्छ,’ भन्सार स्रोतले भन्यो, ‘अहिले हाम्रो आशंका मात्रै हो, त्यसो नहुन पनि सक्छ । तर, उत्पादन नै घटिरहेको अवस्थामा बंगलादेश पनि निर्यात भइरहँदा भने त्यो शंका स्वतः उब्जिन्छ नै ।’

चालु आर्थिक वर्षको पहिलो ५ महिनाकै तथ्यांक हेरौं न, निर्यातको तुलनामा ८ गुणाले बढी मुसुरो दाल आयात भएको छ । जसअनुसार ९५ करोड ५० लाख रुपैयाँभन्दा बढी मूल्यको मुसुरोलगायत दालजन्य वस्तु आयात हुँदा झन्डै १२ करोड रुपैयाँको मुसुरो दाल बंगलादेश पठाइएको छ । गत साउनदेखि मंसिरसम्म अस्ट्रेलियाबाट ४८ करोड ४७ लाख मूल्यको ४६ लाख ८९ किलो, इथियोपियाबाट २ करोड ३२ लाख मूल्यको २ लाख २० हजार किलो, तान्जानियाबाट ३० करोड २८ लाख मूल्यको ३० लाख ३२ हजार किलो, म्यानमार र भारतबाट क्रमशः ५ करोड ८६ लाख मूल्यको ५ लाख किलो र ८ करोड ६७ लाख मूल्यको ८ लाख ८५ हजार किलो मुसुरो आयात भएको छ । यो अवधिमा क्यानडा र रसियाबाट भने मुसुरो भित्रिएको छैन ।

गत आवमा ६१ करोड ८६ लाख ४७ हजार रुपैयाँको ७० लाख ११ हजार किलो मुसुरो भित्रिएको थियो । जसमध्ये अस्ट्रेलियाबाट १६ करोड ७० लाख ३४ हजार मूल्यको २० लाख ४४ हजार किलो, क्यानडाबाट १ करोड ६४ लाख मूल्यको २ लाख ७३ हजार किलो, इथियोपियाबाट २ करोड ४६ लाख २३ हजार मूल्यको २ लाख ४० हजार किलो मुसुरो भित्रिएको देखिन्छ । त्यस्तै, रसियाबाट १ करोड ३ लाख ५३ हजार मूल्यको १ लाख ८९ किलो, तान्जानियाबाट सबैभन्दा धेरै ३० करोड ९४ लाख मूल्यको ३५ लाख ४ हजार किलो मुसुरो भित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ । त्यस्तै, छिमेकी मुलुक भारतबाट पनि ६ करोड ५० लाख मूल्यको ५ लाख ९ हजार किलो तथा म्यानमारबाट अढाई करोड मूल्यको अढाई लाख किलो मुसुरो भित्रिएको छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष ५२ करोड ७२ लाख मूल्यको मूल्यको ३५ लाख १४ हजार किलो मुसुरो बंगलादेश पठाइएको थियो । चालु आवको ५ महिनामा ११ करोड ९६ लाख मूल्यको ८ लाख ३३ हजार किलो मुसुरो बंगलादेश निर्यात भएको छ । भन्सार स्रोतका अनुसार झापासहित मोरङ, पर्सा, रूपन्देही र काठमाडौंका दर्जन बढी उद्योगहरूले मुसुरो आयात गर्दै आएका छन् । सबैभन्दा बढी धाइजनको सूर्य पल्स एन्ड प्रोसेसिङ प्रालिले आयात गर्दै आएको छ ।

रोचक कुरा के भने भारतबाट मुसुरो आयातसँगै निर्यात पनि हुने गरेको छ । गत आवमा भारतबाट ६ करोड ५० लाख मूल्यको ५ लाख ९ हजार किलो मुसुरो भित्रिएकोमा ३ लाख २५ हजार मूल्यको ४ हजार ४० किलो मुसुरो निर्यातसमेत भएको थियो । यो वर्ष २० हजार मूल्यको अढाई सय किलो मुसुरो भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । भारतबाट आयात भएको मुसुरो किन फेरि भारत नै जाँदै छ भन्नेबारे भन्सार अधिकारीहरू नै अनभिज्ञ छन् । ‘हामीलाई भारतको दाल मन पर्न सक्छ, भारतीयलाई हाम्रो,’ मेची भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठकले भने, ‘त्यही भएर एकअर्का मुलुकमा उत्पादित दाल आयात र निर्यात भएको हुन सक्छ ।’

प्रकाशित : पुस १४, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

जनवरी १ देखि एसियाली राजमार्ग पूर्ण सञ्चालनमा

भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएको थियो
पर्वत पोर्तेल

झापा — एसियाली राजमार्ग जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । निर्माण सकिएको लामो समयसम्म उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल नयाँ वर्षको सुरुवातसँगै गुल्जार हुनेछ ।

उक्त राजमार्ग सञ्चालनमा भारतीय पक्षले गरेको ढिलासुस्तीबारे कान्तिपुरले पटकपटक समाचार र सम्पादकीयमार्फत दबाबसमेत दिएको थियो । गत पुस ६ मा सम्पन्न नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहितको उक्त राजमार्ग सञ्चालन गर्ने सहमति भएको हो ।

भारतको पानीट्यांकीमा सम्पन्न बैठकपछि जारी द्विपक्षीय सहमतिमा भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पा र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले हस्ताक्षर गरेका थिए । भारतीय सुरक्षा र भन्सार अधिकारीले भारत सरकारकै लगानीमा निर्मित पुल आफ्नै पक्षबाट समयमा सञ्चालन गर्न नसकेकामा आत्मालोचना पनि गरेका थिए । ‘सहमतिपछि अब पूर्ण रूपमा सञ्चालन हुने टुंगो लाग्यो,’ पाठकले भने, ‘निकै लामो प्रयत्नपछि सफल भयौं ।’

उक्त राजमार्ग सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए । भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएको थियो । यसले दुवै देशका नागरिकले सास्ती बेहोर्नुपरेको थियो । भारतीय पक्षले मालवाहक ट्रकबाहेक अन्य सवारीलाई उक्त राजमार्ग प्रयोग गर्न निषेध गर्दै आएको थियो ।

पुरानो पुलबाटै सवारी आउजाउ गर्दा यो नाकामा दैनिकजसो ट्राफिक जाम हुँदै आएको थियो । ‘नयाँ वर्षदेखि नाकाको जाम सबै हट्ने विश्वास छ,’ भन्सार प्रमुख पाठकले भने, ‘अब सवारी आवागमन सहज बन्ने पक्का छ ।’ भन्सार स्रोतका अनुसार चारपांग्रे सवारीलाई उक्त राजमार्गबाट तथा दुई र तीनपांग्रे सवारीलाई पुरानो पुलबाट आउजाउको व्यवस्था मिलाइनेछ । अहिले पुरानो मेची पुल सवारी र पैदलयात्रीको भीडले थेगिनसक्नुहुन्छ । सिटी रिक्सादेखि यात्रुवाहक सवारीका कारण दुई लेनको थोत्रो पुल सधैंको ट्राफिक जामले अस्तव्यस्त हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको भव्य सडक र पुललाई भारतले पूर्ण रूपमा सञ्चालन नगरिदिँदा अन्तर्राष्ट्रिय सीमानाका वारपार गर्न यात्रीका लागि ‘युद्ध जित्नु’ जस्तो हुँदै आएको छ । पुल र राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि दुवै मुलुकका यात्रीलाई सहज हुने मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । ‘नाका वारपार गर्दा अहिले ठूलो सास्ती छ,’ बुढाथोकीले भने, ‘अब चाँडै यो समस्याबाट मुक्ति मिल्ने विश्वास छ ।’

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण गरेको थियो । ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गरेका थिए ।

प्रकाशित : पुस १२, २०७९ २२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×