सय स्थानीय तहले मात्रै गरे भूमि वर्गीकरण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सय स्थानीय तहले मात्रै गरे भूमि वर्गीकरण

सीमा तामाङ

काठमाडौँ — भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ३१ मा प्रेस नोट जारी गर्दै मंसिर २३ सम्म मुलुकभरका बसै स्थानीय तहलाई कृषि र गैरकृषि क्षेत्र (जग्गा) छुट्याउन परिपत्र गरेको थियो । तर, काठमाडौं उपत्यकाकै महालक्ष्मी नगरपालिकाले समयमै उक्त वर्गीकरण गर्न सकेन । वडा तहबाटै कृषि र गैरकृषि क्षेत्र छुट्याई सिफारिस गर्न नसक्दा स्थानीय भूउपयोग परिषद्बाट काम हुन नसकेको नगर प्रमुख हरिगोविन्द श्रेष्ठ बताउँछन् ।


‘कृषि र गैरकृषि छुट्याउने विषयमा वडामै समन्वय हुन सकेको छैन,’ उनले भने, ‘प्रायः स्थानीयवासीले गैरकृषि राख्ने चाहना देखाएकाले वडाले समेत सिफारिस गर्न सकेको छैन । वडाले नगरेपछि परिषद्ले पनि गरेको छैन ।’

धादिङको नीलकण्ठ नगरपालिकाले पनि अझै कृषि र गैरकृषि क्षेत्र छुट्याउन सकेको छैन । कृषि र गैरकृषि छुट्याउने कार्यले पछिसम्मै असर पर्ने भएकाले नगरवासी स्वयंलाई स्वघोषणा गर्न दिएको नगर प्रमुख भीमप्रसाद ढुंगाना बताउँछन् । ‘कृषि र गैरकृषि क्षेत्र वर्गीकरण गरेर हामी विवादमा पर्न चाहन्नौं,’ उनले भने, ‘सरकारले भू–उपयोग नियमावली ल्याउँदै हामीसँग छलफल गर्नुपर्थ्यो । घर भएको ठाउँ आवासीय र त्यसकै छेउको जग्गा कृषि भन्न सक्दैनौं ।’

पूर्ण रूपमा सहर बनिसकेको क्षेत्रमा सबै क्षेत्रलाई गैरकृषि घोषणा गर्न खासै समस्या देखिएको छैन । तर, नयाँ बजार बस्दै गरेका स्थानका हकमा भने भूमि वर्गीकरणमा समस्या देखिएको बताउँछन्, नेपाल नगरपालिका संघका अध्यक्षसमेत ढुंगाना । ‘गाउँपालिकालाई पनि बरु सहज होला तर बजार बस्दै गरेका क्षेत्रमा नगरपालिकाहरूलाई वर्गीकरणमा गाह्रो भएको छ,’ उनले भने, ‘महानगरले भने गैरकृषि घोषणा गरिसके ।’

पोखरास्थित हुप्सेकोट गाउँपालिकामा बल्ल प्राविधिक टोलीमार्फत अध्ययन, अनुसन्धान गरी जग्गा वर्गीकरणको प्रक्रिया अघि बढाइएको छ । ‘नापी विभागसँग प्राविधिक सहयोग मागेर नै अहिले काम भइरहेको छ,’ नेपाल गाउँपालिका महासंघकी अध्यक्षसमेत रहेकी हुप्सेकोट प्रमुख लक्ष्मी पाण्डेले भनिन्, ‘भूमिहीन दलित, सुकुम्बासी लगायतलाई मध्यनजर गर्दै वैज्ञानिक भूमि वर्गीकरण गर्ने तयारीमा छौं ।’ सबै क्षेत्रको स्थलगत अध्ययन सकेर मात्रै कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गर्ने उनले सुनाइन् ।

तर, स्थानीय तहले अब कृषि र गैरकृषि क्षेत्र मात्रै वर्गीकरण गर्न पाउने छैनन् । अब सबै स्थानीय तहले सरकारले तोकेका १० वटै क्षेत्रमा भूमिको वर्गीकरण गर्नुपर्ने नापी विभागको भनाइ छ । देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म कृषि र गैरकृषि मात्रै वर्गीकरण गर्ने सय वटा मात्रै छन् । अब १० वटै क्षेत्र वर्गीकरण गर्नुपर्ने भएकाले उनीहरूसामु चुनौती थपिएको छ ।

स्थानीय भूउपयोग परिषद्ले भूमिको वर्गीकरण गरिसकेपछि त्यसको विवरण नापी विभागलाई विवरण पठाउनुपर्ने सरकारको परिपत्रमा थियो । तर, नपठाएपछि नापी विभाग आफैंले सम्बन्धित कार्यालयमार्फत लिएको तथ्यांकअनुसार मंसिर मसान्तसम्म सय वटाले मात्र भूमिको वर्गीकरण गरेको पाइएको प्रवक्ता दामोदर ढकालले बताए । ‘जसमध्ये उपत्यकाभित्रका स्थानीय तहले गैरकृषि क्षेत्रको वर्गीकरण गर्ने निर्णय गरे पनि उपत्यकाबाहिरका स्थानीय तहले कृषि क्षेत्रसमेत छुट्याएका छन्,’ उनले भने, ‘हालसम्म जग्गा वर्गीकरण गर्ने र नगर्ने सबै स्थानीय तहमाझ वैज्ञानिक रूपमा जग्गा वर्गीकरण गर्नु चुनौतीपूर्ण छ ।’

उनका अनुसार मन्त्रालयले तोकेको मंसिर २३ सम्मको समयसीमाभित्र भूमिको वर्गीकरण नगरिए के हुन्छ भन्नेमा कानुनमा समेत स्पष्ट छैन । ‘मंसिर २३ सम्म स्थानीय तहलाई जग्गाको वर्गीकरण गर्ने २ वटा बाटो थियो । एउटा कृषि र गैरकृषि छुट्याउने, अर्को १० वटै क्षेत्रमा वर्गीकरण गर्ने,’ उनले भने, ‘उक्त समयसीमा सकिएकाले अब १० वटै क्षेत्रमा वर्गीकरण गर्नुपर्छ । कृषि र गैरकृषि मात्रै छुट्याउन पाइँदैन ।’ भू–उपयोग ऐन र नियमावलीमा समेत स्थानीय तहले कहिलेसम्म भूमिको वर्गीकरण गरिसक्नुपर्ने समय तोकिएको छैन । यद्यपि भूमि वर्गीकरण नगर्दा कित्ताकाट रोकिने भएकाले त्यसकै दबाबस्वरूप स्थानीय तहले छिट्टै वर्गीकरण गर्ने बुझाइ उनको छ ।

अहिले घरजग्गा कारोबारमा उल्लेख्य कमी आएको छ । जसका कारण मुलुककै अर्थतन्त्रमा समेत प्रभाव परेको पूर्वमालपोत अधिकृत बाबुराम पोखरेल बताउँछन् । भूमि वर्गीकरण नहुँदा कित्ताकाट गरेर बेचबिखन र अंशबण्डा गर्न समस्या भइरहेकाले त्यसको प्रत्यक्ष असर सरकारको राजस्व संकलनमा समेत परेको उनको भनाइ छ । ‘जग्गाका स–साना कित्ता बेचेर जीवन गुजारा गर्ने मान्छेलाई समस्या भएको छ । अशंबण्डासमेत हुन सकेको छैन,’ उनले भने, ‘जग्गा वर्गीकरण नहुँदा हरेक व्यक्तिको जीवनलाई नै प्रभाव परेको छ ।’

स्थानीय तहले समयमै वर्गीकरण गर्न नसक्नुको कारण नियमावलीमै रहेका विवादस्पद व्यवस्था रहेको उनले दाबी गरे । बसोबास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए पनि कित्ताको क्षेत्रफल ५ हजार वर्गमिटरभन्दा बढी भई खेती, खनजोत गरिएको वा बाँझो जग्गा कृषि क्षेत्रमा पर्ने नियमावलीमा छ । अर्कोतिर बसोबासका लागि आवश्यक आधारभूत भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी वा ढल निकासलगायतको व्यवस्था भएको क्षेत्रमा रहेको १ हजार वर्गमिटरभन्दा साना कित्ताको जग्गा आवासीय क्षेत्रमा पर्ने भनिएको छ ।

‘घरसँगै जोडिएको जग्गा कृषि क्षेत्रमा र घर आवासीय क्षेत्रमा पर्ने भएकै कारण वर्गीकरण हुन नसकेको हो,’ उनले भने, ‘घर र घरले चर्चेको खाली जग्गा एउटै होकी छुट्टै हो भनेर छुट्याउन नसक्दा स्थानीय तहले अहिलेसम्म वर्गीरकण अघि बढाउन नसकेका हुन् ।’ चालु बाटोको आधारमा वर्गीकरण गर्ने हो भने सबै स्थानीय तहलाई सहज हुने उनको भनाइ छ । ‘बाटोदेखि यति मिटर टाढा कृषि र बाटोले छोएको यति मिटरसम्म आवासीय क्षेत्र भनेमा सहज हुन्छ,’ उनले सुझाव दिए ।

प्रकाशित : पुस १२, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत् लाइन भूमिगत गर्ने काम अति सुस्त

१५ महिनाभित्र चालु आयोजनाको काम सक्ने प्राधिकरणको लक्ष्य, सकिनेमा आशंका
सीमा तामाङ

काठमाडौँ — २०७९ साउनसम्म काम सक्ने लक्ष्य लिँदै नेपाल विद्युत् प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकाका विद्युत् तार लाइन भूमिगत गर्ने काम सुरु गरेको थियो । समय सकिएको तीन महिना गुज्रिसक्दासमेत काम सकिनु परको कुरा, भएको प्रगतिसमेत सन्तोषजनक छैन ।

उपत्यकाभित्रको विद्युत् प्रसारण लाइन, वितरण प्रणाली र केबल लाइनलाई भूमिगत गर्ने योजनाको काम सुस्त हुँदा अवस्था यस्तो भएको हो । प्राधिकरणले भने कोरोना महामारी र सडक विभागले गरिदिएको ढिलाइलाई दोष दिने गरेको छ ।

‘रत्नपार्क वितरण केन्द्रअन्तर्गत ४० प्रतिशत भौतिक प्रगति छ । महाराजगन्जअन्तर्गत ६५ प्रतिशत भएको छ,’ प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, ‘यो काममा विभिन्न समस्या आइरहेका हुन्छन् । त्यसैले द्रुत गतिमा काम गर्न सकिएको छैन ।’ सुरु भइसकेका सबै आयोजनाका काम १५ महिनाभित्र सक्ने गरी अघि बढेको उनको दाबी छ । मुख्य गरी सडकमा काम गर्न नपाउँदा बिजुलीको तार भूमिगत गर्ने प्रक्रिया नै ढिलाइ भएको उनले बताए । ‘सडकबाट अनुमति पाइँदैन, फुटपाथ साँघुरा छन्, काम गर्नै गाह्रो छ,’ उनले भने । जेलिएका तार व्यवस्थापन गरी कुरूप सहरलाई सुन्दर बनाउनकै लागि आयोजना सुरु गरिएको उनको भनाइ छ । उपत्यकाका तार सबै भूमिगत गर्न सके सुन्दर सहर निर्माणमा सहयोग पुग्ने उनले बताए ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत चाबहिल, चुच्चेपाटी, मित्रपार्क, लैनचौर, लाजिम्पाट, धोबीखोला करिडोर क्षेत्रमा भूमिगत गर्ने काम सकिएको काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख प्रमुख सुमन श्रेष्ठले जनाए । सामाखुसी, महांकाल, टेकु क्षेत्रमा भूमिगत कार्य भइरहेको उनको भनाइ छ । ‘यस प्याकेजमा पहिले नै १५ महिना समय थपिइसकेको छ । उक्त अवधि पनि मध्य जनवरीसम्म मात्रै हो,’ उनले भने, ‘यस अवधिमा काम नसकिने हुँदा म्याद थप्ने प्रक्रिया अघि बढाएका छौं ।’ अन्य क्षेत्रमा सडक खन्न सडक विभागसँग समन्वय भइरहेको उनले सुनाए । समयमै अनुमति नपाउँदा र कोरोना महामारीका कारण काममा ढिलाइ भएको उनको भनाइ छ । प्राधिकरणका अनुसार यो खण्डको भौतिक प्रगति ६३.९३ र वित्तीय प्रगति ६५.७१ प्रतिशत छ ।

विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो । महाराजगन्ज वितरण केन्द्र मातहत ६ सय किमि तार अन्डरग्राउन्ड गर्न लागिएको छ । बूढानीलकण्ठ चपली, गोल्फुटार, हात्तीगोडा, महाराजगन्जलगायतका विभिन्न स्थानमा भूमिगत कार्य भइरहेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले बताए ।

‘गोंगबु बसपार्कदेखि चाबहिल चक्रपथ विस्तार हुँदै छ, त्यस कारण हाम्रो काम रोकिएको छ,’ अधिकारीले भने, ‘त्यसकारण जेठदेखि नै ठेकेदार खाली छ ।’ महाराजगन्ज, पानीपोखरी, गोल्फुटार, मन्डिखाटर, बालुवाटार आसपासका सडकमा ‘रोड रिस्टोरेसन’ को काम भइरहेको उनले सुनाए । प्राधिकरणका अनुसार यस आयोजनामा ६३.४१ प्रतिशत भौतिक र ६३.७३ प्रतिशत वित्तीय प्रगति छ । काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत कीर्तिपुर, जोरपाटी, साँखु, मातातीर्थ क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख पीयूष मालाकारले बताए । ‘अहिलेसम्म २२ प्रतिशत काम सकियो,’ उनले भने, ‘ठेक्काको समय अझै एक वर्ष बाँकी छ । त्यतिन्जेल ८० देखि ९० प्रतिशत काम सकाउने लक्ष्य छ ।’ समयमा सडक खन्ने अनुमति नपाउँदा उल्लेख्य प्रगति गर्न नसकेको उनले जनाए । प्राधिकरणको चालु आर्थिक वर्षको असोजसम्मको प्रमुख क्रियाकलापअनुसार हालसम्म २७.४६ प्रतिशत भौतिक र २२.०२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

उपत्यकाका भक्तपुर तथा ललितपुर र भरतपुर एवं पोखरा महानगरपालिकामा पनि प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने काम अघि बढेको छ । ‘भक्तपुरका लागि आवश्यक निर्माण सामग्री ल्याइसकिएको छ । डिजाइन तयार भइसक्यो । अहिले फाउन्डेसनको काम र भक्तपुर सबस्टेसन र ठिमी सबस्टेसनलाई जोड्ने काम हुँदै छ,’ उनले भने, ‘ललितपुरमा २६/२७ वटा फिडर राख्ने काम भइरहेको छ ।’

प्राधिकरणले भने एचटी र एलटी लाइन निर्माणका लागि सर्भे भएको र एचटी तथा एलटी केबल साइटमा पुगेको जनाएको छ । यस क्षेत्रको काम १६.२५ प्रतिशत भएको छ । यसको वित्तीय प्रगति भने ९.८७ प्रतिशत छ । भरतपुरमा समेत आवश्यक सामग्री पुर्‍याइसकेको र डिजाइनको काम भइसकेको आयोजना प्रमुख झाले बताए । सबै ठाउँमा सडक विभागले अनुमति दिनासाथ सडकको काम गरिने उनले जनाए । पोखरा र भरतपुर क्षेत्रको भौतिक प्रगति १२.९२ र वित्तीय प्रगति ९.०६ प्रतिशत छ ।

बिजुलीका तार भूमिगत गर्ने काम सडक खन्ने अनुमति नपाउँदा सुस्त भएको प्राधिकरणको दाबी छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारी भने स्वीकृति लिने तर समयमा काम नसकाउने प्रवृत्तिले गर्दा एकै पटक स्वीकृति नदिएको बताउँछन् । ‘प्राधिकरण सबै ठाउँ एकै पटक सडक खन्ने गरी स्वीकृति लिन आउँछन्, त्यसरी दिन मिल्दैन, सडक ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसमाथि तीन महिनाका लागि स्वीकृति लिने तर एक वर्षसम्म नगर्ने प्रवृत्ति छ । एक ठाउँको काम सकिएपछि अर्को ठाउँका लागि स्वीकृति लिन आउँदा पाइन्छ ।’ अनुमति लिएको सडक खनेर त्यसलाई सक्दो चाँडो पुरानै अवस्थामा ल्याउनुपर्ने उनले जनाए । सर्वसाधारणले सास्ती पाएकै कारण सबै सडकको काम सकेपछि मात्रै नयाँ अनुमति दिने विभागको नीति रहेको उनको भनाइ छ ।

प्रकाशित : पुस २, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×