कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहेंलपुर जुनार बगैंचा

रोगकिराविरूद्ध विषादी छर्कने अभियान चलाएपछि बोटमा फल लटरम्म
उत्पादन बढ्ने आकलन

रामेछाप,सिन्धुली — रामेछापका रामपुर, सुकाजोर, ओख्रेनी, फुलासी, सालु, भलुवाजोर, हिमगंगालगायत क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । छिटफुट रूपमा त जिल्लाभर नै उत्पादन हुने गर्छ । अहिले जुनार पाक्ने समय हो । जसका कारण जिल्लाभरका जुनार बगैंचा पहेंलपुर देखिन थालेका छन् ।

पहेंलपुर जुनार बगैंचा

क्षेत्रफल र उत्पादनका हिसाबले पनि ओख्रेनीका शेरबहादुर तामाङ जिल्लाका अग्रणी किसान मानिन्छन् । जुनार पाकेर पहेंलै देखिएको छ उनको बगैंचा पनि । रोगकिरा नियन्त्रण, अनुकूल मौसम र स्याहारका कारण यो वर्ष उत्पादन बढ्ने आकलन उनको छ । यसै साताबाट जुनार टिपेर बजार पुर्‍याउने उनले सुनाए । ‘फल पाकेर पहेंलै भइसकेको छ । गुलियो पसिसकेकाले अब खान उपयुक्त हुन्छ,’ उनले भने, ‘क्रमशः बजार लैजान्छौं ।’

अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादन मात्रै होइन, भाउ पनि बढेको छ । केही किसानले बगैंचाबाटै प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेका छन् । गत वर्षको भन्दा यो मूल्य किलोमै २० रुपैयाँ बढी हो । उत्पादनको सुरुवाती चरण रहेकाले अहिले बजारमा जुनारको भाउ प्रतिकिलो ८० देखि सय रुपैयाँसम्म छ ।

केही वर्षयता रामेछापमा फल कुहाउने औंसा किरा (ब्याक्टोसेरा मिनाक्स) को प्रकोपका कारण पाक्ने समयसम्म जुनार बगैंचामै झरेर नास हुने गरेको थियो । थोरै परिमाणमा बोटमा रहेको फल पाकेपछि हेर्दा पनि किरा भेटिन्थ्यो । जुनारको जिल्ला भनेर चिनिएको रामेछापमा यो वर्ष भने किसानहरूले नचिताएको उत्पादन भएको छ । रोगकिरा नियन्त्रणका लागि बेलैमा अभियान चलाइएकाले फल लागेका सबैजसो जुनार बेलैमा पाकेका छन् । ‘यस वर्ष उत्पादन ह्वात्तै बढेको छ, रोगकिरा देखिएको छैन,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थीरलाल गैरे भन्छन्, ‘प्रतिहेक्टर ३० टनसम्म उत्पादन भएको पाइएको छ ।’ यो उत्पादन जिल्लामा हालसम्मकै उच्च भएको उनको भनाइ छ । कम स्याहार भएका बगैंचामा पनि २० टनसम्म उत्पादन भइरहेको उनले जनाए ।

कमलामाई–३ भोटेछापमा किसान जुद्धबहादुर राई बगैंचामा जुनार टिप्दै  । तस्बिर : राजकुमार/कान्तिपुर

परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा जिल्लामा मुख्य उत्पादन हुने क्षेत्र सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतमा अभियानकै रूपमा रोगकिराविरुद्धको विषादी छरिएको थियो । ‘गत वर्ष बोटमा भन्दा भुइँमा धेरै जुनार हुने गरेको थियो । अहिले औंसाले फल कुहाएर झरेको देखिएन । यसबाट किसान मात्र होइन हामी पनि खुसी छौं,’ उनले भने ।

जुनारलाई औंसाबाट जोगाउन १० पटकसम्म विषादि छर्कने अभियान चलाइएको थियो । ‘जुनार बगैंचामा आर्मी परिचालन’ को संज्ञा दिई चलाइएको उक्त अभियानमा रामेछाप नगरपालिकाले जनशक्ति सहयोग गरेको थियो भने परियोजनाले आवश्यक विषादि उपलब्ध गराएको थियो । परियोजना र नगरपालिकाले चालेको अभियानकै कारण बगैंचा हेर्न लायकको बनेको किसानहरू बताउँछन् । ‘फल पाकेर पहेंलो देखिएकाले बगैंचा हेरुँहेरुँ लाग्दो देखिएको छ,’ अर्का किसान हिमाल तामाङले भने, ‘जुनार बजार पठाउन थालिएको छ । यसअघि रामेछापको जुनारमा किरा छ भन्नेले यो वर्ष त्यस्तो भन्ने मौका पाउने छैनन् ।’

कृषि ज्ञान केन्द्रका जिल्लामा ७ सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गतवर्ष १० हजार ७ सय ९७ टन उत्पादन भएकामा यस वर्ष झन्डै १५ हजार टन पुग्ने अनुमान केन्द्रको छ । अहिले उत्पादनको तथ्यांक संकलन भइरहेको केन्द्रकी प्रमुख निर्मला गुरुङले बताइन् । जुनार जोन कार्यक्रम लागू भएको रामेछापमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नर्सरी व्यवस्थापन, सिँचाइ पूर्वाधारको निर्माण, रोगकिरा नियन्त्रण, बिरुवा वितरण, बगैंचा सुधारलगायतमा किसानलाई सहयोग गर्दै आएको छ ।

बगैंचाबाटै बिक्री

सिन्धुलीको कमलामाई नगरपालिका–३ भोटेछापका किसान जुद्धबहादुर राई पाकेर पहेंलै भएका जुनार बिक्रीको तयारीमा छन् । सामान्यतया मंसिर १५ देखि पुस १५ सम्मको अवधिमा जुनार पाक्ने सिजन मानिन्छ । १६ रोपनीमा फैलिएको राईको बगैंचामा झन्डै ५ सय बोट छन् । ‘सबै बोटमा लटरम्म फल लागेर पाकेको छ, अब बिक्री गर्ने तयारीमा छौं,’ उनले भने, ‘जुनार किन्न व्यवसायी नै बगैंचासम्म धाइरहेका छन् । यसले बजारसम्म पुर्‍याउन हामीलाई सकस हुने छैन ।’ रोगकीरा नियन्त्रणमा आएकाले यो वर्ष उत्पादन बढेको उनको भनाइ छ । ‘गत वर्ष १४ टन उत्पादन हुँदा करिब ७ लाख रुपैयाँ आम्दानी भएको थियो,’ उनले भने, ‘यो वर्ष उत्पादन बढेको छ । २० टन जति उत्पादन भए पनि १० लाख रुपैयाँ आम्दानी हुने देखिन्छ ।’ फल राम्रो लागेकाले यसपल्ट भाउ पनि राम्रै पाउने आसमा उनी छन् । तर, बगैंचामै आएका व्यापारीले कम मूल्य दिएका कारण अझैसम्म बिक्री सुरु नगरेको उनको भनाइ छ । ‘व्यापारीले प्रतिकेजी ५५ रुपैयाँमा जुनार खोजेका छन्, मैले ७० रुपैयाँभन्दा तल झर्दिन भनेको छु,’ उनले भने, ‘व्यापारीले किसानसँग लिएको मूल्यभन्दा झन्डै दोब्बरमा उपभोक्तालाई बिक्री गरिरहेका छन् ।’

किसानसँग खरिद गरेर बिचौलियाले बीचमा खाने प्रतिकिलो २० रुपैयाँ आफूहरूले खोजेको किसानको भनाइ छ । गोलन्जोर गााउँपालिका–४ तीनकन्या माझ कुभिन्डेका लोकबहादुर आलेमगरले पनि १६ रोपनीमा लगाएको जुनार अहिले बगैंचाबाटै धमाधम बिक्री गरिरहेका छन् । मगरको बगैंचामा ३५० बोट जुनार र ३५० बोट सुन्तला छन् । हरेक वर्ष सिजनमा जुनार र सुन्तला बिक्रीबाट १२ लाख रुपैयाँभन्दा बढी आम्दानी लिँदै आएको उनले बताए ।

सिन्धुलीको महाभारत उत्तरतर्फका बगैंचा यतिखेर पहेंलपुर बनेका छन् । विभिन्न कृषि सडकका कारण सबैजसो बगैंचाबाट जुनारलाई बजारसम्म पुर्‍याउन समस्या छैन । यहाँका प्रत्येक किसानले जुनार बिक्रीबाट बर्सेनि २ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी लिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनले जनाएको छ । जोनका अनुसार जुनारमा औंसा किरा नियन्त्रण गर्न वैशाख दोस्रो सातादेखि असोज तेस्रो सातासम्म प्रोटिन बेट विषादी छर्किने अभियान नै चलाएका कारण यो वर्ष बोटमा लटरम्म जुनार देखिएको छ । जुनारको उत्पादन बढाउने, जोगाउने र कमाउने गरी ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको जोन प्रमुख रमेश हुमागाईंको भनाइ छ ।

जुनार बढाउने कार्यक्रमअन्तर्गत हरेका वर्ष ६० हेक्टर जमिनमा नयाँ बिरुवा रोप्ने, जुनार–सुन्तला जोगाउने कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा विषादी छर्किएर औंसा किरा नियन्त्रण गर्ने र जुनारबाट कमाउने कार्यक्रमअन्तर्गत समुदायस्तरमा १० टन क्षमताको कोल्ड स्टोर निर्माण गर्ने रहेको उनले प्रस्ट्याए । यस वर्ष सिन्धुलीमा ७ हजार टन जुनार उत्पादन हुने अनुमान गरिएको उनको भनाइ छ । ‘उत्पादन भएकोमध्ये हालसम्म ४० प्रतिशत किसानले बिक्री गरिसकेका र समग्र उत्पादनबाट किसानले ३३ करोड आम्दानी लिने आकलन गरिएको छ,’ उनले भने । जिल्लाका ७९ वडामध्ये ८ वटा वडामा व्यावसायिक जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, वाशेश्वर, मझुवा र दुम्जालाई जुनार खेतीको पकेट क्षेत्र मानिन्छ ।

प्रकाशित : पुस १०, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?