भैरहवाबाट हुने सबै हवाई उडान रद्द, कुहिरोले ढाक्यो विमानस्थल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैरहवाबाट हुने सबै हवाई उडान रद्द, कुहिरोले ढाक्यो विमानस्थल

माधव ढुंगाना

भैरहवा — बिहीबार बिहानैदेखिको बाक्लो कुहिरोका कारण भैरहवा-काठमाडाैं रुटका सम्पूर्ण हवाई उडान रद्द भएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाले बाक्लो कुहिरोले ढाकेका कारण बिहीबार सम्पूर्ण हवाई उडान रद्द भएको बताए । ‘बिहीबारलाई हवाई उडान हुन सक्ने सम्भावना कम छ’ झाले भने, ‘साँझ भएपछि हुस्सु झन बाक्लिँदै जान थालेको छ ।’

उनका अनुसार भैरहवा–काठमाडौं बीच दैनिक २१ वटा आन्तरिक उडान र एउटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । आन्तरिक उडानका लागि दैनिक सरदर १ हजार यात्रु भैरहवा आउने र भैरहवाबाट प्रस्थान गर्ने गर्छन् । हुस्सु र कुहिरोका कारण जजिराको कुवेतबाट भैरहवाका लागि बुधबार राति २ बजे हुनु पर्ने अन्तर्राष्ट्रिय उडान पनि हुन सकेन ।

हवाई उडान संचालनका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी (आँखाले देख्न सकिने दूरी) आवश्यक पर्छ । बिहीबार भैरहवामा ३ सय मिटर मात्र भिजिविलिटी थियो । काठमाडौं–भैरहवा बीचको हवाई उडान सञ्चालन नहुँदा भारतीय अभिनेता विवेक ओवराय र सुरेश ओवराय बुद्ध जन्मस्थल लुम्बिनी आउने योजना पनि प्रभावित भएको छ । बिहीबार उनीहरु दुवैले बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरको भ्रमण गर्ने योजना रहे पनि हुन नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तियले जानकारी दिए ।

प्रकाशित : पुस ७, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटन प्रवर्द्धनका लागि राति १२ बजेसम्म व्यवसाय गर्न छुट : गृहमन्त्री खाँण

माधव ढुंगाना

भैरहवा — गृहमन्त्री बालकृष्ण खाँणले नेपालको पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन मुलुकको जुनसुकै स्थानमा रहेका होटेल, रेष्टुरेन्ट लगायतका व्यवसाय राति १२ बजेसम्म संचालन गर्नका लागि सरकारले अनुमति दिएको बताएका छन् ।


भैरहवामा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को शुक्रबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले यसभन्दा अघि राति १० बजेसम्म खोल्ने र त्यसपछि बन्द गर्ने प्रचलनमा रहेका कफी सप, पान पसल, बेकरी पसल, रेष्टुरेन्ट तथा होटेल राति १२ बजेसम्म संचालन गर्न पाउने गरी मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको उनले बताए ।

‘अब ती पसलमा सरकारको तर्फबाट स्थानीय प्रशासन र सुरक्षाकर्मीले सहयोग पुर्‍याउने छन्,’ खाणले भने, ‘यस बारेमा प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र आइसकेको होला, यदि नआएको भए आउने छ ।’

हाल उद्यमी व्यवसायीले भोग्नु परेको आर्थिक मन्दी र आर्थिक संकटको निकासका लागि सरकार प्रतिबद्ध रहेको र अब बन्ने नयाँ सरकारले यस विषयलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नु पर्ने पनि उनले बताए ।

भैरहवाममा संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालकै एउटा आर्थिक विकासको केन्द्र बनाउने पहल सरकारले गरिरहेको पनि खाँणले बताए । ‘यो विमानस्थल गतिशील र चलायमान हुनेछ,’ उनले भने, ‘यस विमानस्थलबाट यस क्षेत्रका उद्यमी व्यवसायी र आम नागरिकको जीवनमा परिवर्तन आउने छ ।’

प्रकाशित : मंसिर २३, २०७९ १६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×