१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाहिरी ऊर्जा बजारलाई विश्वासमा लिने प्रयत्नमा नेपाल

'दक्षिण एसियाको ऊर्जा संकट कम गर्न हामी तयार हुँदै छौ‌' – कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
राजेश मिश्र

नयाँदिल्ली — नेपालमा बिजुली उत्पादन बर्सेनि बढ्दै गएका बेला त्यसको बाह्य बजार सुनिश्चितता खोजीमा ऊर्जा उत्पादन क्षेत्रमा संलग्न सरकारी तथा गैरसरकारी निकाय लागेका छन् । नेपालमा उत्पादित बिजुलीको प्रमुख बाह्य बजार भारत र बंगलादेश हुन् । पूर्ण क्षमतामा हाल २ हजार २ सय ५३ मेगावाट उत्पादन हुँदा त्यसबाट करिब ५ सय मेगावाट बिजुली खपत नहुने अवस्था छ । यसै वर्षबाट ३ सय ८६ मेगावाट बिजुली भारतमा बेच्न थालिएको छ ।

बाहिरी ऊर्जा बजारलाई विश्वासमा लिने प्रयत्नमा नेपाल

नेपालको प्रणालीमा अर्को वर्ष सन् २०२३ मा थप एक हजार मेगावाट उत्पादन थपिँदै छ । हरेक वर्ष उत्पादन थपिँदै गएर सन् २०२६ सम्ममा अहिले निर्माणाधीन परियोजनाले उत्पादन थालिसक्दा नेपालको बिजुली उत्पादन क्षमता ७ हजार २ सय ६४ मेगावाट पुग्ने बताइन्छ । तसर्थ आगामी ३ देखि ४ वर्षभित्र ५ हजार मेगावाट बिजुलीको बजार सुनिश्चितता बाह्य मुलुकमा गर्नुपर्नेछ । यसैअन्तर्गत ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ऊर्जा उत्पादकले नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रम ‘पावर समिट’ मा नेपालको ऊर्जा क्षेत्रको सम्भावना, उत्पादन र बजारबारे वकालत गरे ।

भारतीय उद्योगी व्यवसायीहरूको संस्था द एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (सीआईआई) ले शुक्रबार गरेको दक्षिण एसिया (बीबीआईएन) पावर समिटको ‘प्लेटफर्म’ लाई नेपालका सहभागीहरूले आफ्नो पक्षमा उपयोग गर्ने प्रयास गरे । ‘बीबीआईएन’ मा नेपाल, भारत, बंगलादेश र भुटान सदस्य राष्ट्र छन् । भारत र पाकिस्तानबीचको द्वन्द्वले सार्क निष्क्रिय बनाइएका बेला पछिल्लो समय भारतले ‘बीबीआईएन’ लाई सक्रिय पार्दै लगेको छ । कार्यक्रममा चारै देशका ऊर्जासँग सम्बन्धित अधिकारी तथा अन्य सरोकारवालाले ऊर्जाको अन्तरदेशीय बजार कसरी बढाउने, त्यसको सम्भावना र चुनौतीबारे छलफल गरे । नेपालको बजार सानो रहेकाले भारत र बंगालदेश नै नेपाली बिजुलीको बजार रहेको र त्यसमा सहजताका लागि नेपाली पक्षको आग्रह थियो ।

उत्पादनको क्षमता रहे पनि खपतको क्षमता नेपालसँग नरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । दक्षिण एसियाको ऊर्जा संकट कम गर्न नेपाल तयार हुँदै गरेको उनको भनाइ छ । बिजुली उत्पादनसँगै, बजार व्यवस्थापन र प्रसारण लाइन निर्माणमा आफूहरू लागिपरेको उनले जनाए । गत अप्रिलमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुई देशबीच ऊर्जा व्यापारका क्षेत्रमा भएका सहमतिले धेरै आशा जगाएको प्राधिकरणकै निर्देशक प्रबल अधिकारीको भनाइ छ । भारतको सीमापार विद्युत् व्यापार निर्देशिकालाई संकेत गर्दै उनले त्यसमा सुधारको अनुरोध गरे । भारतले आफूसँग सीमा जोडिएको देश जोसँग ऊर्जा व्यापार सम्झौता भएको छैन, त्यस देशको स्वामित्व रहेको वा उसले लगानी गरेको परियोजनाबाट बिजुली नकिन्ने नीति लिएको छ । त्यसको असर नेपालमा चिनियाँ पक्षको थोरै पनि संलग्नता रहेका परियोजनालाई परेको छ । अहिले नै अपर तामाकोसीबाट उत्पादित ४ सय ५६ मेगावाट बिजुली किन्न भारतले आनाकानी गर्दै आएको छ । त्यसमा चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो । परियोजनामा भने २० लाखभन्दा बढी नेपालीको सेयर छ ।

नेपालले बिजुली उत्पादनमा मार्दै गरेको फड्कोबारे छिमेकी देशका सरकोकारवालालाई जानकारी गराउने अवसर प्राप्त भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) उपाध्यक्ष आशिष गर्गले बताए । ‘हामीकहाँ प्रत्येक वर्ष बढ्दै गएको उत्पादनबारे भारतीय पावर मार्केटलाई जानकारी गराउने काम समिटमा भएको छ,’ उनले भने, ‘नेपालको बिजुली सस्तो र जलविद्युत्बाट उत्पादित रहेकाले वातावरणमैत्रीसमेत रहेको बारे जानकारी गराएका छौं ।’

समिटमा भारतको विदेश मन्त्रालयका अधिकारी प्रभात कुमारले नेपालको बिजुली भारतले निरन्तर लिइरहने र त्रिदेशीय निर्यातमा पनि सहयोगी रहने बताए । ऊर्जा क्षेत्रका लागि भारतका नीति निर्मातादेखि खरिदकर्तासम्म उपस्थित रहेको ‘पावर समिट’ मा नेपालले आफ्ना सबै पक्षबारे कुरा राखेको र भारतीय सरोकारवालाबाट सकारात्मक प्रतिबद्धता आएको इप्पानका कार्यकारी निर्देशका शैलेश मिश्रको भनाइ छ ।

प्रकाशित : पुस २, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?