भारतीय ट्रकको मनपरी रोक्न माग गर्दै आन्दोलन

दीपेन्द्र बडुवाल, माधव ढुंगाना

भैरहवा — मनपरी रुपमा तौल लोड गरेर भारतीय ट्रकलाई मुलुकभर ढुवानीमा छुट दिएको विरोधमा ट्रक व्यवसायी आन्दोलित बनेका छन् । मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने माग राख्दै शुक्रबार व्यवसायीले रुपन्देहीमा प्रदर्शन गरेका हुन् ।

भारतीय ट्रकले नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभर ढुवानी गररहेको जनाउँदै ट्रक यातायात व्यवसायीका संस्थाले शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका हुन् । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजी गर्दै व्यवसायीको र्‍यालीले नाकास्थित भन्सार कार्यालयको गेटमा पुगेर विरोधसभा गरेको थियो । कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिए ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा यातायात मजदुर संघका साथै आधा दर्जन व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए । महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका समान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको जनाएको छ ।

महासंघका अध्यक्ष यमप्रसाद पाण्डेले भारतीय ट्रकले अधिक भारत बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए । ‘धेरै भार बोक्ने ट्रकसित जरिवाना अशुलेर नियम विपरीतको तौल घटाउन लगाउनु पर्छ,’ विरोधसभामा उनले भने, ‘तर, यहाँ जरिवाना अशुलेर अधिक भार बोक्न दिने गरिएको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरीले झन धरासायी बनेको बताए । ‘हाम्रा ट्रकदेखि तिनमा प्रयोग हुने इन्धन, टायर, पार्टस लगायत वस्तु भारतबाटै आयात गरिन्छ,’ उनले भने, ‘यी वस्तुमा अत्यधिक भन्सार महशुल लगाइएको छ । जसले गर्दा हामी भारतीय ट्रकसित प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ त्यसैले मुलुकमा भारतीय ट्रकको निर्वाध आवागमन र अधिक भार बहन नियन्त्रण गर्न माग गरिरहेको उनले बताए । ‘अधिक भार बहन सम्बन्धमा नेपाली ट्रकलाई कडाइ गरिन्छ,’ उनले भने, ‘तर, भारतीय ट्रकको हकमा आँखा चिम्लिने गर्दा समस्या भएको हो ।’ राज्यलाई सघाउने उद्देश्यले आन्दोलन गर्नु परेको उनले बताए ।

यातायात व्यवसायी महासंघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अधिक भार बहन र भारतीय ट्रकको मनपरी बारे वर्षौंदेखि सुनुवाइ नहनु दुखद् भएको बताए । नेपाली प्रशासन र सरकार यस विषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको उनले बताए ।

‘अहिले हामीले विरोधसभा गरेर माग सुनुवाइका लागि दबाब दिएका हौं,’ उनले भने, ‘तत्काल माग सुनुवाइ नभए भारतीय ट्रक रोक्ने र हाम्रा ट्रक भन्सारमा खडा गर्ने चेतावनी दिन्छु ।’ कोरोना महामारीबाट थलिएका व्यावसायीलाई बैंकको ताकेताले अत्याइरहेको अवस्थामा राज्यबाट राहत उपलब्ध गराउने कार्यक्रम नहुनु चिन्ताको विषय भएको बताए ।

‘एकातिर व्यवसाय चलाउनै कठिन छ,’ उनले भने, ‘अर्को तर्फ बैंकको किस्ता बुझाउने ताकेताले व्यवसायीको मनोदशा विक्षिप्त बनेको छ ।’

प्रकाशित : पुस १, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुलीमा लटरम्मै जुनार

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका–३ भोटेछापका किसान जुद्धबहादुर राईको जुनार बगैंचा यतिखेर पहेंलपुर छ । जुनार पाकेर टिप्ने बेलामा बगैंचा पहेंलपुर भएर सुनजस्तै टल्कन्छ । मंसिरको दोस्रो साताबाट माघ महिनासम्म जुनार पाक्ने सिजन हो । किसान राईको १६ रोपनीमा ५ सय बोट जुनार बगैंचा छ ।

ती बोटमा लटरम्म फलेको जुनारले गर्दा भोटेछापको पाखाबारीहरु पहेंलपुर देखिन्छ । जुनारमा लाग्ने रोग नियन्त्रणमा आएकाले यो वर्ष राईको बगैंचामा जुनार उत्पादन बढ्ने भएको छ । सिन्धुलीगढीबाट आड–जलकन्या–मझुवा सडक हुँदै सहायक मार्गबाट भोटेछाप पुगिन्छ । भर्खरै सडकको ट्रयाक खुलेकाले ट्याक्टर बाहेक अन्य सवारी साधन बगैंचा क्षेत्रमा पुग्दैनन् ।

जुनारमा प्रकोपको रुपमा देखिएको औसा किरा (ब्याक्टोसेरा मिनाक्स) यो वर्ष नियन्त्रणमा आएकाले किसानहरु दंग छन् । ‘यतिखेर मेरो बगैंचामा ५ सय बोट जुनार पाकेर बिक्रीयोग्य भएको छ, राईले भने, ‘गत वर्ष १४ मेट्रिक टन उत्पादन हुँदा करिब सात लाख आम्दानी लिएको थिएँ, यो वर्ष २० टन जति उत्पादन भएकोले आम्दानी पनि १० लाख रुपैयाँ लिने अनुमान गरेको छु ।’

उनका बगैंचाबाट यो वर्ष जुनार बिक्री भएको छैन । जुनार खरिद गर्न दैनिक बगैंचामा नै व्यापारी पुग्ने गरेकोमा भाउ नमिलेकाले बिक्री नभएको हो । ‘व्यापारीले प्रतिकेजी ५५ रुपैयाँमा जुनार खोजेका छन्, मैले ७० रुपैयाँभन्दा तल झर्दिनँ भनेको छु’, उनले भने, ‘व्यापारीले किसानसँग गरेको मूल्यभन्दा झण्डै दोब्बरले उपभोक्तालाई बिक्री गरिरहेका छन् ।’ उपभोक्ताले बजारमा व्यापारीसँग जुनारको खरिद गर्दा प्रति केजी ९० देखि १ सय रुपैयाँसम्म पर्नेछ ।

यस क्षेत्रमा जुनार बिक्रीबाट बर्सेनि १ घर किसानले २ देखि २० लाखसम्म आम्दानी लिने गरेको स्थानीयको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन प्रमुख रमेश हुमागाईंका अनुसार जुनार बढाउने, जुनार सुन्तला जोगाउने र जुनारबाट कमाउने गरी तीन वटा कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सिन्धुलीमा ७ हजार टन जुनार उत्पादन हुने अनुमान गरिएकोसुपर जोनले जनाएको छ । उत्पादन भएको फलमध्ये हालसम्म ४० प्रतिशत किसानले बिक्री गरिसकेको र समग्र उत्पादनबाट किसानले ३३ करोड आम्दानी लिने आंकलन गरिएको छ । स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा जुनार खेतीका लागि पकेट क्षेत्र बनेका छन् ।


प्रकाशित : पुस १, २०७९ १४:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×