राष्ट्र बैंकद्वारा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ ।


यसअघि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सबै काम राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) मार्फत हुँदै आएको थियो । अब उक्त काम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण महाशाखाबाट पनि हुने राष्ट्र बैंकले जनाएको छ ।

शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय एसिया प्रशान्त समूह (एपीजी) र फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) द्वारा नेपालको पारस्परिक मूल्यांकन गर्ने टोली अहिले नेपालमा छ । यही समयमा राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन तथा व्यवस्थाहरु जारी गर्दै आएको छ ।

नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि ८१ प्रतिशतभन्दा धेरैले बढेको एफआईयूको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था र अन्य वित्तीय कारोबार गर्ने संस्थाहरुबाट वित्तीय अपराधका उजुरी बढ्नुले त्यस्तो कारोबार पनि बढेको स्वत: पुष्टि हुने जानकार बताउँछन् ।

प्रकाशित : मंसिर २३, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री शाहीको निर्वाचन खर्च १८ लाख ८९ हजार

जनकबहादुर शाही

हुम्ला — हुम्ला जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२) बाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनको खर्च विवरण बुझाएका छन् । 

शुक्रबार प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय हुम्लामा बुझाएको विवरणअनुसार मुख्यमन्त्री शाहीले निर्वाचनमा १८ लाख ८९ हजार रुपैयाँ खर्च गरेका छन् । शाहीको निर्वाचनमा प्रतिनिधि परिचालनमा ५ लाख १० हजार, कार्यालय संचालनमा ८० हजार, सवारी साधन प्रयोगमा ४ लाख ८० हजार रुपैयाँ खर्च भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ । यस्तै मतदाता नामावली छपाइमा २० हजार, प्रचारप्रसार सामग्रीमा ६ लाख ७९ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख २० हजार रुपैयाँ गरी जम्मा १८ लाख ८९ हजार खर्च भएको छ ।

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ३ जना, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (१) मा ५ जना र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. (२)मा ५ गरी १३ जना उम्मेदवार थिए । जसमा प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका तेजबहादुर रावत र नेकपा एमालेका दल रावलले खर्च विवरण बुझाइसके पनि नेकपा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा कार्चेनले भने खर्च विवरण बुझाएका छैनन् ।

प्रदेश १ बाट उम्मेदवार बनेका राप्रपाका छापे ऐडी र एकीकृत समाजवादीका हस्तबहादुर शाहीले खर्च विवरण बुझाए पनि गठबन्धनका उम्मेदवार रहेका रणसिंह परियार, स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही र एमालेका दल फडेराले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा २ तर्फ राप्रपा नेपालका सुमन रावत, राप्रपाका नैनबहादुर रावत, जसपाका बलिराज शाही र एमालेका छक्कबहादुर लामासहित सबै उम्मेदवारहरुले निर्वाचन खर्च विवरण बुझाइसकेका जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । उम्मेदवारहरुलाई यो महिनाभित्र खर्च विवरण बुझाउने समयावधि दिइएको छ ।

प्रकाशित : मंसिर २३, २०७९ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×