कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

रासस

कमलामाई (सिन्धुली) — बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्री गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ ।

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

बीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन् । उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छन् । 'यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ', उनले भनिन् ।

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यस वर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । 'यहाँको जुनारलाई यात्रुले कोसेलीका रुपमा लैजाने गरेका छन्,' स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन् । एकैदिनमा ५० हजार रुपैयाँसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् ।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताइन् । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको एक लाख रुपैयाँ बचत गर्छिन् ।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि १२० रुपैयाँसम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यस वर्ष सात लाख २० हजार रुपैयाँ आम्दानी भएको बताए । उनको बगैँचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् ।

किसानको बगैँचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौं, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागार्इंका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको उनी बताउँछन् ।

प्रकाशित : मंसिर २२, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?