१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बट मार्केटमा सबैभन्दा धेरै भारतीयहरूको डिजिटल विवरण

एजेन्सी

काठमाडौँ — विश्वमा इन्टरनेट र स्मार्टफोनका प्रयोगकर्ता बढेसँगै ह्याकिङ क्रियाकपाल पनि बढिरहेका छन् । हालसम्म २ सय ६९ देशका ५० लाख जनाको डेटा ह्याक्ड भएर बट मार्केटमा विक्रि भएको एक अध्ययनले देखाएको छ । यसमध्ये सबैभन्दा बढी ६ लाख भारतीय नागरिकका विवरणहरू चोरी भएको विश्वकै ठूलो भीपीएन सेवा प्रदायक कम्पनी नर्डभीपीएनले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । योसँगै डेटा चोरी हुने देशमध्ये भारत सबैभन्दा खराब अवस्थामा रहेको अध्ययनको निचोड छ ।

बट मार्केटमा सबैभन्दा धेरै भारतीयहरूको डिजिटल विवरण

बट मालवेयरमार्फत प्रयोगकर्ताका मोबाइल, कम्प्युटरजस्ता डिभाइसहरूबाट डेटा चोरी गरेर ह्याकरहरूले बट मार्केटमा बेच्ने गर्छन् । बट मार्केट भनेका ती अनलाइन बजारहरू हुन्, जहाँ ह्याकरहरूले चोरी गरेका डेटा बिक्रिका लागि राख्छन् । भारतबाट चोरिएका डेटामा प्रयोगकर्ताको लगइन आईडी, कुकिज, डिजिटल फिंगरप्रिन्ट, स्क्रिनसट र अन्य सूचनाहरू छन् । त्यसमा एक व्यक्तिको डिजिटल पहिचानको मूल्य ४ सय ९० भारतीय रुपैयाँ पर्ने साइबर सेक्युरिटी रिसर्चहरूले जनाएका छन् ।

नर्डभीपीएनले विगत ४ वर्षका डेटालाई लिएर गरेको अध्ययनअनुसार बट मार्केटमा उपलब्ध डेटामध्ये १२ प्रतिशत भारतीय नागरिकहरूका विवरण छन् । सन् २०१८ मा शुरु भएको बट मार्केटमा २ करोड ६६ लाख वटा लगइन आईडी पत्ता लागेको अनुसन्धानकर्ताहरूको भनाइ छ । तीमध्ये ७ लाख २० हजार गुगलका लगइन, ६ लाख ५४ हजार माइक्रोसफ्टका लगइन र ६ लाख ४७ हजार फेसबुकका लगइन आईडी रहेको अध्ययनमा उल्लेख छ । यसका साथै, ६ लाख ६७ हजार कुकिज, ८१ हजार डिजिटल फिंगरप्रिन्ट र ५ हजार ३८ वटा अटोफिलका विवरण, थुप्रै स्क्रिनसट र वेबक्यामले खिचेका तस्बीर बट मार्केटमा पुगेको अध्ययनमा भनिएको छ ।

‘डिजिटल बटहरू अहिले सामान्य बनिसकेका छन्, यिनको प्रयोग ग्राहक सेवा, सर्च इन्जिन अप्टिमाइजेसन र अन्य काममा हुने गरेको छ,’ अध्ययनमा भनिएको छ, ‘तर, सबै बटहरू राम्रो नियतका हुँदैनन् । तीमध्ये धेरै हानिकारक हुन्छन् ।’ प्रयोगकर्ताका डेटा चोरी र संकलन गर्ने मालवेयरमध्ये रेडलाइन, भिडार, रकुन, टाउरस, एजोरल्ट आदि चर्चित छन् ।

पछिल्लो समय साइबर सेक्युरिटीका क्षेत्रमा भारत सरकारले पहल थालेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । गत महिना मात्रै मन्त्री र राजनीतिकर्मीदेखि आम नागरिकहरूलाई समेत सेवा प्रदान गर्ने अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को वेब सर्भरमा मालवेयर आक्रमण भएको भारतीय प्रहरीले रोयटर्सलाई बताएका थिए । त्यसको एक महिनापछि भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आईसीएमआर) को वेबसाइटमा २४ घण्टामा ६ हजार पटक ह्याकिङ प्रयास भएको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।

भारत सरकारले यस वर्षको शुरुमा साइबर सेक्युरिटीका लागि कडा नीतिहरू बनाएको थियो । त्यसअनुसार डेटा जोखिममा रहेको संकेत पाएको ६ घण्टाभित्र कुनै पनि संस्थाले कम्प्युटर इमर्जेन्स रेस्पोन्स टिम (सीईआरटी) लाई जानकारी दिनुपर्ने र सूचना प्रविधि एवं सञ्चारको लग (पफर्मेन्स विवरण आदि) ६ महिनासम्म राख्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : मंसिर २२, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?