कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनारले पहेँलपुर बगैँचा

टीकाप्रसाद भट्ट

रामेछाप — ओख्रेनीका किसान शेरबहादुर तामाङको बगैँचा जुनारको दानाले पहेँलपुर देखिन थालेको छ । रोगकीरा नियन्त्रण र स्याहार सुसारमा जिल्लाकै अग्रणी उक्त बगैँचामा यो वर्ष उत्पादन पनि अरु बगैँचाको भन्दा बढेको छ । मंसिरको अन्तिम सातादेखि तामाङको बगैँचाका जुनार बजारमा पुग्नेछन् । 

जुनारले पहेँलपुर बगैँचा

‘अलि गुलियो भैसकेको छैन‚’ तामाङले भने‚ ‘दुई सातापछि खानका लागि उपयुक्त हुन्छ । अमिलो जातको फलफूलमा पर्ने जुनारको यो वर्ष उत्पादनसँगै भाउ पनि बढेको छ । केही किसानले बगैँचामै प्रतिकेजि ६० रुपैयाँसम्ममा जुनार बिक्री गर्न थालेका छन् । अघिल्लो वर्षभन्दा यो वर्ष प्रतिकेजीमा २० रुपैयाँसम्म जुनारको भाउ बढेको छ । उत्पादनको सुरुआती चरणमै बजारमा जुनारको भाउ प्रतिकेजी ८० रुपैयाँ पुगेको छ ।

जुनारको जिल्ला भनेर चिनिएको रामेछापमा यो वर्ष किसानहरूले नचिताएको उत्पादन भएको छ । रोग किरा नियन्त्रणका लागि अभियान चलाएपछि दाना लागेका जुनार सबै पाकेका छन् । केही वर्षअघिदेखि रामेछापमा फल कुहाउने औंसा कीराको प्रकोपका कारण बगैँचामा पाक्ने समयसम्म जुनार झरेर नास हुने गरेका थिए । थोरै जुनार बोटमा रहे पनि त्यसमा पनि कीरा भेटिन्थ्यो ।

‘यो वर्ष बोटमा कुनै पनि रोग‚ कीरा नभेटिएकाले पनि उत्पादन ह्वात्तै बढेको हुनसक्छ‚’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रे भन्छन्‚ ‘प्रतिहेक्टर ३० मेक्ट्रिकटनसम्म उत्पादन पुगेको छ । यो उत्पादन अहिलेसम्मकै उच्च हो । कम स्याहार भएका बगैँचामा पनि २० मेक्ट्रिकटन उत्पादन पुग्छ ।

जुनार जोगाउन गैह्रेले यो वर्ष उल्लेख्य मेहनत गरेका थिए । परियोजना र रामेछाप नगरपालिकाको सहयोगमा मुख्य उत्पादन हुने सुकाजोर, ओख्रेनी, रामेछाप, रामपुरलगायतको क्षेत्रमा अभियानको रुपमा विषादी छर्ने काम गरेकाले किसानको बगैँचामा पहेँलपुर हुदाँसम्म जुनार अडिएको उनले बताए । अघिल्लो वर्ष बोटमा भन्दा भुइँमा झरेका जुनार धेरै हुने गरेकोमा यो वर्ष औंसाले फल कुहाएर झरेको नदेखिएकोमा गैह्रे खुसी छन् ।

फल कुहाउने औंसाबाट जुनार जोगाउनका लागि १० पटकसम्म विषादी छिट्ने अभियान चलेको थियो । गैह्रेले जुनार बगैँचामा आर्मी परिचालन भन्ने गरेको उक्त अभियानमा रामेछाप नगरपालिकाले पनि सहयोग गरेको थियो । परियोजनाले किसानले मागेजति विषादी उपलब्ध गराएको थियो ।

‘जुनारमा जुन अवस्था देखिएको थियो यो वर्ष त्यस्तो छैन‚’ जुनार कृषक हिमाल तामाङ भन्छन्‚ ‘बगैँचाहरू हेरूँहेरूँ लाग्ने रहर लाग्दा भएका छन् ।’ रोग कीरा नभएको जुनार उत्पादन गरेर बजार पठाउन थालिएको उनले बताए । ‘अघिपछि रामेछापको जुनारमा कीरा छ भन्नेले यो वर्ष त्यस्तो भन्ने मौका पाउँदैनन्‚’ तामाङले भने‚ ‘कुनै दानामा पनि कीरा भेटिँदैन ।’

कृषि ज्ञान केन्द्र रामेछापको तथ्याङ्कमा रामेछाप जिल्लामा ७ सय २१ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष १० हजार ७ सय ९७ मेट्रिकटन उत्पादन भएको जुनार यो वर्ष झन्डै १५ हजार मेट्रिकटन पुग्ने अनुमान रहेको छ । कार्यालयबाट उत्पादनको तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको केन्द्रकी प्रमुख निर्मला गुरुङले बताइन् ।

रामेछाप, रामपुर, सुकाजोर, ओख्रेनी, फुलासी, सालु, भलुवाजोर, हिमगंगालगायत क्षेत्रमा जुनारको व्यावसायिक उत्पादन हुने गरेको छ । त्यस बाहेक छिटफुट रुपमा जिल्लाका अधिकांश भागमा उत्पादन हुन्छ‚ जसको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छैन ।

जुनार जोन कार्यक्रम लागू भएको रामेछापमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नर्सरी व्यवस्थापन, सिंचाइ पूर्वाधारको निर्माण, रोगकीरा नियन्त्रण, बिरुवा वितरण, बगैँचा सुधार कार्यक्रमलगायतमा किसानलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?