१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दिमागमा चिप राख्ने मस्कको योजना सफल होला ?

एजेन्सी

काठमाडौँ — ट्विटरका नयाँ मालिक इलन मस्क पछिल्लो समय नयाँ विषयका कारण चर्चामा आएका छन् । दिमागमा जडान गर्न मिल्ने चिप बनाउने आफ्नो कम्पनी न्युरालिंकले अबको ६ महिनामा मानिसमा परीक्षण सुरु गर्ने बताएपछि यसका फाइदा र जोखिमबारे अनेक विश्लेषण भइरहेका छन् ।

दिमागमा चिप राख्ने मस्कको योजना सफल होला ?

सन् २०१६ मा केही इन्जिनियरहरूको समूहसँग मिलेर आफ्नो १० करोड डलर समेतको लगानीमा मस्कले स्थापना गरेको न्युरालिंक कम्पनीले मानिसको दिमागमै प्रत्यारोपण गर्न मिल्ने चिप बनाउने प्रयत्न गरिरहेको छ । उक्त चिपले विशेषत: अपाङ्गता भएका व्यक्तिलाई हिँड्न/चल्न र कुराकानी गर्न वा देख्न सहयोग गर्ने कम्पनीको दाबी छ । न्युरालिंकले यो डिभाइसको विकास क्रममा माउस, किबोर्डजस्ता टेक्स्ट पठाउन प्रयोग गरिने कम्प्युटरका विभिन्न पाटो पनि मान्छेले आफ्नो विचारमार्फत नियन्त्रण गर्न सक्ने जनाएको छ ।

कम्पनीले सिलाइ मेसिनजस्तो देखिने प्रत्यारोपण रोबोट ३ वर्षअघि नै सार्वजनिक गरेको थियो भने दुई वर्षअघि देखि सुँगुर, बाँदर लगायत जनावरको टाउकोमा प्रयोगस्वरूप चिप प्रत्यारोपण थालेको थियो । त्यस क्रममा २३ मध्ये १५ जनावरको मृत्‍यु भएकाेबारे केही रिपोर्ट प्रकाशित भएका छन् । निरन्तर विवादका बीच गएको साता आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख मस्कले सो चिपको मानव प्रयोग ६ महिनाभित्र सुरू गर्ने दाबी गरे। 'मलाई लाग्छ संभवत ६ महिनाभित्र न्युरालिंकलाई कुनै मानव शरीरमा जडान भएको हामी देख्न पाउने छौं,' मस्कले भने । यसअघि २०२१ मा मस्कले पहिलो चरणमा पक्षघातका बिरामीले आफ्नो विचारको प्रयोगमार्फत औंलाले स्मार्टफोन चलाएभन्दा छिटो स्मार्टफोन चलाउन सक्ने बनाइने दाबी गरेका थिए ।

गएको जुलाईमा सिन्क्रोन नामक कम्पनीले अमेरिकामै यस्तो किसिमको डिभाइसको परीक्षण सुरू गरेपछि मस्क र न्युरालिंक हतारिएको विज्ञहरूको ठहर छ । सिन्क्रोनले डेढ इन्च लामो ब्रेन इन्टरफेस डिभाइसलाई मानव दिमागमा प्रत्यारोपण गरिएको र यो सफल रहेको रिपोर्ट सार्वजनिक भएपछि मस्कको टिमले पछिल्लो अपडेट सार्वजनिक गरेको हो । सन् २०२० बाटै सो परीक्षण सुरू गर्ने अनुमान गरेका मस्कको टिमको सुरूवात कम्तीमा ३ वर्ष पर धकेलिइसक्ने छ ।

टेस्ला, स्पेस एक्सजस्ता विभिन्न कम्पनीमार्फत नवीनतम प्रविधिमा विज्ञताको रूपमा ख्याति कमाएका मस्कको यो घोषणा सफल भएमा प्रविधि क्षेत्रमा एक फड्को हुने आँकल्न गरिएको थियो । साइबर शक्तिले भरिपूर्ण सुपर ह्युमनको वकालत गर्ने मस्कले रोग र अपाङ्गतालाई मेसिन र प्रविधिको प्रयोगबाट नयाँ तवरले अगाडि बढाउने भिजन बारम्बार दिँदै आएका छन् । मिडियामा चर्चाको लागि सदैव तयार रहने मस्कको न्युरालिंक महत्त्वाकांक्षा अपाङ्गता भएका व्यक्तिहरूलाई सघाउने मात्रैमा भने सीमित नहुन सक्छ ।

टोरन्टो विश्वविद्यालयका न्युरोसाइन्स शोधकर्ता ग्रेम मोफटका अनुसार न्युरालिंकको यो प्रविधि आकार, संभावना र क्षमता लगायत सबै हिसाबले बजारमा उपलब्ध प्रतिस्पर्धा र तुलनाभन्दा माथिको छ । क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका साइकोलोजी, न्युरोसाइन्स तथा बायोलोजीका प्राध्यापक राल्फ एडोल्फ पनि न्युरालिंकको घोषणा अत्यन्तै उत्साहजनक र गतिलो प्राविधिक उपलब्धि रहेको बताउँछन् । अप्रिल २०१३ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि झण्डै १ अर्ब डलर लगानीको 'ब्रेन इनिसिएटिभ' नामक यस्तै प्रकृतिको घोषणा गरेका थिए ।

मस्कको पछिल्लो घोषणाबाट उत्साहित प्रविधि विज्ञहरूले अहिले यो प्रविधिको सफलता/असफलताबारेको ठोस अनुमान असम्भव भए पनि न्युरालिंकको प्रगति उत्साहजनक देखिएको र असफल हुने संभावना कम रहेको बताएका छन् ।

प्रकाशित : मंसिर २१, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?