निरुत्साहित गरिँदै शाखारहित बैंकिङ

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाको शाखा नपुगेका ग्रामीण भेगमा वित्तीय सेवा पुर्‍याउने उद्देश्यले सुरु गरिएको शाखारहित बैंकिङ सेवालाई निरुत्साहित गर्ने स्थितिमा राष्ट्र बैंक पुगेको छ ।

निरुत्साहित गरिँदै शाखारहित बैंकिङ

पछिल्ला महिनामा केही शाखारहित बैंकिङमार्फत भएका कारोबारमा सर्वसाधारणको करोडौं रुपैयाँ हिनामिना भएको, व्यवस्थापन प्रभावकारी बन्न नसकेको, नियामक निकायको निर्देशनबाहिर गएर पनि सञ्चालन भएकोलगायत कारण उक्त सेवालाई विस्तारै निरुत्साहित गर्ने स्थितिमा राष्ट्र बैंक पुगेको हो ।

‘यही नै गर्ने भन्ने निर्णय भइसकेको छैन । अहिले शाखारहित बैंकिङ र त्यसमार्फतका कारोबारलाई सूक्ष्म रूपमा हेरिरहेका छौं,’ स्रोतले भन्यो, ‘यद्यपि अब यो प्रणाली अलि पुरानो भएको हो कि ? नयाँ विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने कि भन्ने सम्बन्धमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ ।’ शाखारहित बैंकिङ सेवालाई निरुत्साहित गरे पनि बन्द नै गरिहाल्ने बेला नभएको स्रोतको दाबी छ ।

विदेशबाट हुन्डीमार्फत नेपाल भित्रिएको रेमिट्यान्स शाखारहित बैंकिङ प्रणालीमार्फत आन्तरिक रेमिट्यान्सका रूपमा मुलुकका विभिन्न स्थानमा गएको आशंका पनि राष्ट्र बैंकले गरेको छ । विदेशबाट हुन्डीमार्फत मुलुक भित्रिएको रकम रेमिट्यान्स कम्पनीका एजेन्ट/शाखा कार्यालयमार्फत बैंकिङ प्रणालीमा आएको भन्दै राष्ट्र बैंकले त्यस्ता कारोबारको दैनिक सीमा यसअघि घटाएको थियो । ‘यसरी हुन्डीमार्फत आएको रकम नेपाल आइसकेपछि बैंकिङ प्रणालीमा ल्याउन शाखारहित बैंकिङ सेवाको पनि सहभागिता रहेको प्रमाण/उजुरीहरू राष्ट्र बैंकले प्राप्त गरेको छ,’ स्रोतले भन्यो, ‘यसकारण पनि शाखारहित बैंकिङ कारोबारलाई थप निगरानीमा राख्नुपर्ने देखियो ।’

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाहरूले पनि शाखारहित बैंकिङलाई प्रोत्साहन गर्न छाडेको जनाएका छन् । ‘विगतमा शाखारहित बैंकिङको राम्रो प्रभाव थियो । पछिल्ला महिनामा उक्त सेवाको प्रभावकारितामा कमी आउन थालेको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसकारण त्यस सम्बन्धमा बैंकहरूले चासो दिन छाडेको देखिन्छ ।’ पछिल्ला महिनामा शाखारहित बैंकिङको संख्या घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत असोजसम्म शाखारहित बैंकिङको संख्या १ हजार ५ सय छ । गत आर्थिक वर्षको असोजसम्म यस्तो संख्या १ हजार ७ सय ५२ थियो । शाखारहित बैंकिङको संख्या घटे पनि पछिल्ला महिनामा कारोबार संख्या र कारोबार रकम भने बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । यसअनुसार गत असोजसम्म शाखारहित बैंकिङमार्फत करिब ७३ हजार ३ सय वटा कारोबार भएका थिए । ती कारोबारबाट १ अर्ब ४८ करोड रुपैयाँ परिचालन भएको थियो । ०७८ असोजसम्म शाखारहित बैंकिङमार्फत करिब ५८ हजार ७ सय कारोबार हुँदा १ अर्ब २७ करोड रुपैयाँ परिचालन भएको थियो ।

केही शाखारहित बैंकिङ कारोबारमा समस्या देखिएकाले तिनीहरूको नियमित नियमन र सुपरिवेक्षण भइरहेको राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए । ‘यो प्रणाली अलि परम्परागत पनि भयो । अलि अलि समस्या पनि देखिए । जनचासो र जनगुनासा पनि आए,’ उनले भने, ‘यसकाण हामी पनि थप सचेत भएका छौं, बैंकहरूलाई पनि सचेत भएर सजगताका साथ कारोबार गर्न निर्देशन दिएका छौं ।’ शाखारहित बैंकिङ सेवाको कारोबार सम्बन्धमा बैंकहरूको निश्चित शाखा पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा केही बैंकको हकमा त्यसो नदेखिएकाले समस्या भएको पौडेलको भनाइ छ ।

‘हामीले शाखारहित बैंकिङ सेवालाई व्यवस्थित गर्न खोजेका हौं, बन्द गर्न होइन,’ उनले भने, ‘भौतिक रूपमा बैंकको शाखा पुग्न नसकेका र डिजिटल बैंकिङ कारोबार सम्भव नभएका स्थानमा अझै पनि शाखारहित बैंकिङ कारोबारमार्फत नै वित्तीय सेवा सञ्चालन गर्नुपर्नेछ ।’ शाखारहित कारोबारलाई व्यवस्थित गर्न राष्ट्र बैंकले छुट्टै निर्देशन जारी गरेको पनि उनले बताए । ‘बैकहरू पनि थप उत्तरदायी र जिम्मेवार हुनुपर्छ,’ उनले थपे, ‘गुनासो आएका बैंकलाई पत्र काटेर सचेत हुन भनेका छौं । शाखारहित कारोबारबारेमा सचेतना जगाउने राष्ट्र बैंकले जारी गरेको सूचना आआफ्ना वेबसाइटमा प्रकाशन गर्न पनि बैंकहरूलाई आग्रह गरेका छौं ।’

हाल शाखारहित बैंकिङ सेवामार्फत करिब ३ लाख ग्राहकले कारोबार गरिरहेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो समय केही बैंकले सञ्चालन गरेको शाखारहित बैंकिङ सेवामा समस्या देखिएको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले स्विकारे । ‘केही शाखारहित बैंकिङहरू आन्तरिक रेमिट्यान्स स्थानान्तरण गर्ने काममा पनि प्रयोग भएको सुन्नमा आएको छ,’ उनले भने, ‘त्यसो हो भने सम्बद्ध बैंकले त्यस्ता गतिविधि सच्याउनुपर्छ ।’ शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला दिनमा शाखारहित बैंकिङमार्फत सर्वसाधारणको बचत हिनामिना भएका घटना बढिरहेको समयमा राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगताका सम्बन्धमा सर्वसाधारणका लागि सचेत हुन भनेको हो ।

‘अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ,’ सूचनामा भनिएको छ, ‘बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा सुरक्षाका विषयमा विशेष ध्यान दिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।’ शाखारहित कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र कारोबार गर्न, कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न, कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य लिन र विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि) मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न पनि राष्ट्र बैंकले भनेको छ । व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको यकिन गर्न र सेवा सम्बन्धमा केही सुझाव तथा गुनासो भए राष्ट्र बैंकको उजुरी गर्न पनि भनिएको छ ।

के हो शाखारहित बैंकिङ ?

बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा खाता भएका ग्राहकलाई संस्था स्वयम् वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) का सहायताले ‘प्वाइन्ट अफ ट्रान्जेक्सन’ मेसिनका माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका/उपमहानगरपालिकाबाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सकिने व्यवस्था छ । ती केन्द्रमार्फत खातामा नगद जम्मा गर्न, रकम भुक्तानी तथा रकमान्तर गर्न, खाताको मौज्दात वा कारोबार विवरण (स्टेटमेन्ट) प्रदान गर्न र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्नेलगायत कारोबार गर्न पाइन्छ ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?