मिरगन्जमा नयाँ पुल, एक वर्षपछि जोगवनीबाट आयात

मंगलबार साँझ नै मिरगन्जबाट ६० टन भारवहन क्षमताका गाडी जोगवनी नाकासम्म आए
विनोद भण्डारी

विराटनगर — झन्डै एक वर्षदेखि बन्द भारतको मिरगन्जमा नयाँ पुल बनेसँगै मंगलरबारदेखि सञ्चालनमा आएको छ । भारत र बेलायत युद्धकालमा निर्मित मिरगन्ज पुल क्षतिग्रस्त भएको भन्दै भारतले गत पुसदेखि जोगवनी नाकाबाट मालवाहक गाडी आउजाउमा रोक लगाएको थियो ।

मिरगन्जमा नयाँ पुल, एक वर्षपछि जोगवनीबाट आयात

मंगलबारदेखि मिरगन्जमा निर्मित नयाँ आरसीसी पुलबाट मालवाहक गाडी आउजाउ खुलेको हो ।

मंगलबार साँझदेखि मिरगन्जबाट कम्तीमा ६० टन भारवहन क्षमता लोडका गाडी जोगवनी नाकासम्म आउन सुरु भएको मोरङ व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले बताए । त्यसका लागि भारत अररियाका एसडीएम एस कुमार, आईसीपी म्यानेजर रत्नाकुमार यादव, भारतको नेसनल हाइवे प्रतिनिधि उमेश यादव र अररियाका बीजेपी नेता दिलीप झाले मिरगन्जको नयाँ पुल सञ्चालनका लागि अनुमति दिएपछि आयात-निर्यात खुला भएको हो ।

पुल सञ्चालनमा आएलगत्तै ठूलो भारवहन क्षमताका दुई दर्जनभन्दा बढी मालवाहक गाडी मंगलबार साँझसम्म जोगवनी नाका हुँदै विराटनगर भन्सार कार्यालय आइपुगेका छन् ।

मिरगन्ज पुल बन्द हुँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले १ सय १६ किमि रिरुट गर्दै सुनसरीको भान्टाबारी नाकाबाट औद्योगिक कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दै आएका थिए । मिरगन्ज पुलकै कारण विराटनगर भन्सारको व्यापार पनि एक वर्षदेखि झन्डै २५ प्रतिशतले कमी आएको थियो । आयात र निर्यातकर्ताले व्यापार नै अन्यत्र सार्दा विराटनगर भन्सारको व्यापारमा २५ प्रतिशतले कमी आएको भन्सार कार्यालयको भनाइ छ ।

एक वर्षसम्म १ सय १६ किमि रिरुट गरेर सुनसरीको भान्टाबारी नाकाबाट कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दा उद्योगी व्यवसायीले डेढ अर्बभन्दा बढी अतिरिक्त ढुवानी शुल्क तिर्नुपरेको बताइन्छ । मिरगन्ज पुलबाट आयातनिर्यात खुलेपछि यहाँको औद्योगिक र व्यापारिक क्षेत्रले सामान्य राहत पाएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको भनाइ छ । मिरगन्ज पुलमा भारतको एकतर्फी अघोषित नाकाबन्दीका कारण अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा चालु वर्षको चौमासिकमा जोगवनी नाकाबाट आयात र निर्यात नै घटेको थियो ।

भन्सारको तथ्यांकअनुसार गत वर्ष साउनमा १८ अर्ब ४० करोडको आयात हुँदा यस वर्ष १६ अर्ब ३५ करोडको आएको छ । गत वर्ष भदौमा १९ अर्ब ८० करोडको आयात हुँदा यसपालि १७ अर्ब ५७ करोड, असोजमा २० अर्ब २२ करोडको आयात हुँदा यसपालि १४ अर्ब ८६ करोड र गत वर्ष कात्तिकमा १८ अर्ब ७७ करोडको आयात हुँदा यसपालि १५ अर्ब ९१ करोडको मात्र आयात भएको भएको भन्सारको तथ्यांक छ । निर्याततर्फ गत वर्ष साउनमा ५ अर्ब ५२ करोडको निर्यात हुँदा यसपालि ४ अर्ब ८० करोड, भदौमा ६ अर्ब ९ करोडको निर्यात हुँदा यसपालि ४ अर्ब ७ करोड, असोजमा ५ अर्ब ३४ करोडको आयात हुँदा यसपालि ३ अर्ब ६९ करोड र कात्तिकमा गत वर्ष ५ अर्ब २० करोड मूल्यका सामान निर्यात हुँदा यसपालि ३ अर्ब ८० करोडको मात्र निर्यात भएको तथ्यांक छ ।

प्रकाशित : मंसिर २०, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?