मिरगन्जमा नयाँ पुल, एक वर्षपछि जोगवनीबाट आयात- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिरगन्जमा नयाँ पुल, एक वर्षपछि जोगवनीबाट आयात

मंगलबार साँझ नै मिरगन्जबाट ६० टन भारवहन क्षमताका गाडी जोगवनी नाकासम्म आए
विनोद भण्डारी

विराटनगर — झन्डै एक वर्षदेखि बन्द भारतको मिरगन्जमा नयाँ पुल बनेसँगै मंगलरबारदेखि सञ्चालनमा आएको छ । भारत र बेलायत युद्धकालमा निर्मित मिरगन्ज पुल क्षतिग्रस्त भएको भन्दै भारतले गत पुसदेखि जोगवनी नाकाबाट मालवाहक गाडी आउजाउमा रोक लगाएको थियो ।

मंगलबारदेखि मिरगन्जमा निर्मित नयाँ आरसीसी पुलबाट मालवाहक गाडी आउजाउ खुलेको हो ।

मंगलबार साँझदेखि मिरगन्जबाट कम्तीमा ६० टन भारवहन क्षमता लोडका गाडी जोगवनी नाकासम्म आउन सुरु भएको मोरङ व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले बताए । त्यसका लागि भारत अररियाका एसडीएम एस कुमार, आईसीपी म्यानेजर रत्नाकुमार यादव, भारतको नेसनल हाइवे प्रतिनिधि उमेश यादव र अररियाका बीजेपी नेता दिलीप झाले मिरगन्जको नयाँ पुल सञ्चालनका लागि अनुमति दिएपछि आयात-निर्यात खुला भएको हो ।

पुल सञ्चालनमा आएलगत्तै ठूलो भारवहन क्षमताका दुई दर्जनभन्दा बढी मालवाहक गाडी मंगलबार साँझसम्म जोगवनी नाका हुँदै विराटनगर भन्सार कार्यालय आइपुगेका छन् ।

मिरगन्ज पुल बन्द हुँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले १ सय १६ किमि रिरुट गर्दै सुनसरीको भान्टाबारी नाकाबाट औद्योगिक कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दै आएका थिए । मिरगन्ज पुलकै कारण विराटनगर भन्सारको व्यापार पनि एक वर्षदेखि झन्डै २५ प्रतिशतले कमी आएको थियो । आयात र निर्यातकर्ताले व्यापार नै अन्यत्र सार्दा विराटनगर भन्सारको व्यापारमा २५ प्रतिशतले कमी आएको भन्सार कार्यालयको भनाइ छ ।

एक वर्षसम्म १ सय १६ किमि रिरुट गरेर सुनसरीको भान्टाबारी नाकाबाट कच्चा पदार्थ आयात र तयारी वस्तु निकासी गर्दा उद्योगी व्यवसायीले डेढ अर्बभन्दा बढी अतिरिक्त ढुवानी शुल्क तिर्नुपरेको बताइन्छ । मिरगन्ज पुलबाट आयातनिर्यात खुलेपछि यहाँको औद्योगिक र व्यापारिक क्षेत्रले सामान्य राहत पाएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको भनाइ छ । मिरगन्ज पुलमा भारतको एकतर्फी अघोषित नाकाबन्दीका कारण अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा चालु वर्षको चौमासिकमा जोगवनी नाकाबाट आयात र निर्यात नै घटेको थियो ।

भन्सारको तथ्यांकअनुसार गत वर्ष साउनमा १८ अर्ब ४० करोडको आयात हुँदा यस वर्ष १६ अर्ब ३५ करोडको आएको छ । गत वर्ष भदौमा १९ अर्ब ८० करोडको आयात हुँदा यसपालि १७ अर्ब ५७ करोड, असोजमा २० अर्ब २२ करोडको आयात हुँदा यसपालि १४ अर्ब ८६ करोड र गत वर्ष कात्तिकमा १८ अर्ब ७७ करोडको आयात हुँदा यसपालि १५ अर्ब ९१ करोडको मात्र आयात भएको भएको भन्सारको तथ्यांक छ । निर्याततर्फ गत वर्ष साउनमा ५ अर्ब ५२ करोडको निर्यात हुँदा यसपालि ४ अर्ब ८० करोड, भदौमा ६ अर्ब ९ करोडको निर्यात हुँदा यसपालि ४ अर्ब ७ करोड, असोजमा ५ अर्ब ३४ करोडको आयात हुँदा यसपालि ३ अर्ब ६९ करोड र कात्तिकमा गत वर्ष ५ अर्ब २० करोड मूल्यका सामान निर्यात हुँदा यसपालि ३ अर्ब ८० करोडको मात्र निर्यात भएको तथ्यांक छ ।

प्रकाशित : मंसिर २०, २०७९ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो

प्रत्यक्षमा ९/९ सिट जितेका कांग्रेस र माओवादीलाई समानुपातिकमा ५ र ४ सिट
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको पनि नतिजा आएको छ । कर्णाली प्रदेशमा ३२.७१ प्रतिशत मत प्राप्त गरी समानुपातिकतर्फ कांग्रेसले ५ सिट प्राप्त गरेको छ ।

त्यस्तै ३०.३६ प्रतिशत मत प्राप्त गरेको एमालेले पनि ५ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादीले २४.४६ प्रतिशत मत ल्याएर ४ सिट प्राप्त गरेको छ । त्यस्तै नेकपा एस र राप्रपाले १/१ सिट प्राप्त गरेका छन् ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ । कर्णाली प्रदेशमा १.५९ मत प्राप्त गरे पनि नेपाल मजदुर किसान पार्टीले भने समानुपातिकतर्फ सिट प्राप्त गर्न सकेन ।

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ जना सांसद निर्वाचित हुन्छन् । कर्णालीमा प्रत्यक्षमा ९ र समानुपातिकमा ५ गरी १४ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

त्यस्तै प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ सांसदसहित दोस्रो दल बनेको छ । प्रत्यक्षमा ५ सिट र समानुपातिकतर्फ पनि ५ सिट जितेको एमाले तेस्रो दल बनेको छ ।

कर्णालीमा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।

प्रकाशित : मंसिर २०, २०७९ २०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×