अलैंचीको उत्पादन बढ्दो, मूल्य र निर्यात घट्दो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

अलैंचीको उत्पादन बढ्दो, मूल्य र निर्यात घट्दो

‘बर्सेनि ४/५ अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याउनेलाई सरकारले ध्यान दिएन’
सीमा तामाङ

काठमाडौँ — मुलुकमा अलैंची निर्यात गरेर बर्सेनि सरदर ४ अर्ब रुपैयाँ भित्रिन्छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर, अलैंची किसानले पाउने मूल्य भने निरन्तर घट्दो छ । किसान मात्र होइन, अलैंची व्यापारीसमेत आफूहरूले बर्सेनि घाटा बेहोर्नुपरेको बताउँछन् ।

कुनै बेला प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य यस वर्ष २६ देखि ३२ हजार रुपैयाँमा सीमित छ । यो मूल्यले उत्पादनदेखि बेच्न योग्य हुँदासम्मको खर्च पनि नउठ्ने किसानको भनाइ छ । झन्डै ९ वर्षदेखि अलैंचीको मूल्य घटिरहेको उनीहरू गुनासो गर्छन् ।

इलामस्थित रोम गाउँपालिका सलकपुरका किसान याम अधिकारीको गुनासो पनि यस्तै छ । उनले ०६२/६३ सालदेखि अलैंची उत्पादन थालेका हुन् । अधिकारीले झन्डै १० रोपनीमा रोपेको अलंैची सिँचाइ अभावका कारण बर्सेनि घट्दै गएको छ । ‘पहिला त्यही ठाउँबाट ६ देखि ७ मन अलैंची उत्पादन हुन्थ्यो, यसपालि एक मन फलाउन पनि मुस्किल भयो,’ उनले भने, ‘सिँचाइको पर्याप्त सुविधा छैन । त्यसैले अलैंचीका बोट मासिँदै गए ।’ सिँचाइ सुविधा पर्याप्त भएको खण्डमा घाटा नहुने उनी बताउँछन् । तर यस वर्ष ३० हजारभन्दा कम मूल्य तोकिसकेकाले आगामी वर्ष मूल्य थप घट्ने डर किसानलाई छ ।

अधिकारी अलैंचीको विकल्पमा विभिन्न जातका केरा र कफी खेती गर्ने योजनामा छन् । अघिल्लो आर्थिक वर्ष मुलुकमा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । अलैंची निर्यातको अवस्थामा उतारचढाव नदेखिए पनि किसानले प्राप्त गर्ने मूल्यमा भने व्यापक फरक छ । आर्थिक वर्ष ०७६/७७ सम्म बर्सेनि बढ्दै गएको उत्पादन आर्थिक वर्ष ०७७/७८ मा एक हजार टन नै घटेको छ । किसानले पाउने मूल्य पनि सोही वर्ष घट्दा ७ अर्ब रुपैयाँ मूल्य बराबरको अलैंची निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । व्यापारीले ‘होल्ड’ गरेको अलैंची बेच्दा धेरै रकम देखिएको नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द्र बिडाल बताउँछन् । ‘अलैंचीको मूल्य घट्दा पनि निर्यात बढ्नुको एउटा कारण ‘होल्ड’ गरेको सामान बेच्नु हो, अर्को ‘ओभर भ्यालु’ पनि हो,’ उनले भने, ‘नेपालमा जतिसुकै मूल्यमा खरिदबिक्री भए पनि भारतमा प्रतिमन ३२ हजारभन्दा कम मूल्यमा निर्यात गर्न पाइन्न ।’

विश्व बजारमा अलैंची र सुकमेलको एउटै एचएस कोड हुँदा भारत सरकारले प्रतिकिलो ५ सय भारुभन्दा कम मूल्यको बिल बनाउन नसकिने व्यवस्था गरेको बिडालले जनाए । ‘नेपालमा अलैंची र सुकमेलको छुट्टाछुट्टै कोड छ,’ उनले भने, ‘भारत सरकारले उठाउने जीएसटी वस्तुको मूल्यमा ५ प्रतिशत लाग्छ ।’

नेपाली अलैंचीको मुख्य बजार भारत नै हो । अलैंची उत्पादन ९५ प्रतिशत भारतमा र ५ प्रतिशत मात्रै स्वदेशमा खपत हुन्छ । बन्दरगाह र करका कारण अन्य मुलुकमा निर्यात गर्न नसकिएको व्यवसायी बताउँछन् । भारतमार्फत पाकिस्तान, अफगानिस्तान, बंगलादेशमा स्वदेशी अलैंची निर्यात हुन्छ । अलैंचीको मूल्य बर्सेनि घट्नुमा भारत र भुटानमा उत्पादन बढ्नुसमेत रहेको महासंघका प्रशासकीय अधिकृत अनिल ढुंगानाले जनाए । स्पाइसेस बोर्ड अफ भारतको तथ्यांकले पनि भारतमा अलैंचीको उत्पादन बर्सेनि बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष ०७५/७६ मा ४२ हजार ८ सय २६ हेक्टर जग्गाबाट ८ हजार ६ सय ६९ टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ४४ हजार ८२ हेक्टर जग्गामा ८ हजार ५ सय ३० टन अलैंची उत्पादन भएको बोर्डको तथ्यांक छ । भारतमा आर्थिक वर्ष ०७७/७८ मा ४४ हजार ७ सय १ हेक्टरमा ८ हजार ८ सय ३ टन अलैंची उत्पादन भएको थियो ।

भुटानको राष्ट्रिय तथ्यांक ब्युरोको कृषि तथ्यांक २०२१ अनुसार उत्पादन बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा एक हजार ४२ टन अलैंची उत्पादन हुँदा ०७६/७७ मा १४ सय १३ टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा २ हजार १ सय ७५ टन उत्पादन भएको ब्युरोको तथ्यांक छ । भुटानमा जलवायु परिवर्तन र अन्य समस्याका कारण अलैंची उत्पादन घटबढ भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस वर्ष आर्थिक मन्दीको समेत प्रभाव हुन सक्ने ढुंगानाको भनाइ छ । विदेशी अलैंचीको खपत घट्नुको कारण जलवायु परिवर्तन रहेको उनले बताए । ‘अलैंची उत्पादन खर्च र किसानले बेच्ने मूल्य नै बराबर हुन थाल्यो, आफैं नोक्सानमा गई किसानले कसरी खेती गर्छन्,’ उनले भने, ‘अब अलैंची खेती नै छाड्छन् कि भन्ने डर हुन थालिसक्यो ।’ पहिला विश्व बजारमा नेपाली अलैंचीको हिस्सा ८० प्रतिशत थियो । बर्सेनि उत्पादन घट्दै यस वर्ष बजारमा ६० प्रतिशतमा झरेको छ,’ उनले भने, ‘बर्सेनि ४/५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याउनेलाई सरकारले ध्यान दिन जरुरी छ ।’

सरकारले अलैंची निर्यात गरेबापत नगद अनुदानसमेत दिने व्यवस्था गरेको छ । निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, ०७५ मा तेस्रो मुलुकमा निर्यात गरेबापत प्रशोधित अलैंचीमा समेत नगद अनुदान पाइन्थ्यो । कार्यविधिको दोस्रो संशोधनले भारतमा निर्यात गरे पनि नगद अनुदान पाउने व्यवस्था गरेको छ । तर अलैंचीमा नगद अनुदान देखावटी मात्र रहेको महासंघका ढुंगाना बताउँछन् । ‘अहिलेसम्म एक–दुई जनाले मात्र लिए होलान्,’ उनले भने, ‘अनुदान दिनु ठीक हो । तर यसको प्रक्रिया झन्झटिलो छ ।’

एउटै कम्पनीलाई घरेलु, भ्याट, कम्पनी रजिस्ट्रार सबैमा छुट्टै दर्ता गर्नुपर्ने र व्यावसायिक करसमेत छुट्टाछुट्टै ठाउँमा बुझाउनुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर २०, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्

५ प्रतिशतले घट्यो सेयर कर्जा

बैंकको कर्जा प्रवाह क्षमता घट्नु, ब्याजदर बढ्नु, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले ऋण लिएर सेयरमा लगानी गर्नेहरु निरूत्साहित
कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन् । तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेको जानकारहरू बताउँछन् ।

‘सेयर बजार निरन्तर जसो घटेको छ । यसअघि ३२ सयसम्म पुगेको बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए । त्यो लगानी बजारमा फर्किन सकेको छैन,’ एक ब्रोकरले भने, ‘तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो । त्यसको असर सेयर कर्जामा देखिएको हो ।’ अहिले निरन्तर सेयर बजार घट्नुको एउटा कारण सेयर कर्जा पनि भएको उनको दाबी छ ।

राष्ट्र बैंकका अनुसार गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा ७६ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेका छन् । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ५.२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको तीन महिनामा सेयर कर्जा २.२ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै वित्तीय संस्थाबाट गरेर बढीमा १२ करोड रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । उक्त व्यवस्थापछि सेयर कर्जा घट्न थालेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था खारेज गरेको छ । उक्त व्यवस्था खारेज गरेर मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरेको छ ।

‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ ।’ २५ लाख रुपैयाँभन्दा कम रकम बराबर सेयर कर्जा प्रवाह गरेको हकमा १ सय प्रतिशत मात्र कर्जा जोखिम भार कायम राखिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १ सय ५० प्रतिशत राख्नुपर्नेे व्यवस्था यथावत् राखिएको छ,’ राष्ट्र बैंकले भनेको छ । सेयर कर्जामा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गरेको व्यवस्था गत वर्षको मौद्रिक नीतिमा गरिएको भन्दा तुलनात्मक रूपमा खुकुलो हो । तर बजार धेरै तल झरिसकेको, बैंक तथा वित्तीय संस्थाबाट धमाधम मार्जिन कल आउन थालेको, निक्षेपको ब्याजदर धेरै माथि पुगेकोलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण घटेको जानकारहरू बताउँछन् ।

तुलनात्मक रूपमा सेयर कर्जालाई जोखिममुक्त मानिए पनि बैंक तथा वित्तीय संस्थासँग ‘मार्जिन कल’ को सुविधा हुन्छ । यही कारण बजार घट्दा धितोमा राखेको सेयरको मूल्य पूर्वनिर्धारित रकमभन्दा कम भएमा बैंक तथा वित्तीय संस्थाले ऋणीलाई टेलिफोन गरेर अपुग रकम थप गर्न लगाउँछन् ।

यसरी गरिने टेलिफोनलाई ‘मार्जिन कल’ भनिन्छ । बैंकहरूसँग ‘मार्जिन कल’ को सुविधा रहेकाले सेयर धितो कर्जामा जोखिम कम रहेको ब्रोकरहरूको दाबी छ ।

करिब दुई वर्षअघि (बजार निरन्तर उकालो लागेको समयमा) धेरै नयाँ लगानीकर्ता दोस्रो बजारमा भित्रिएका थिए । बजार घट्न थालेपछि धेरै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरै भए पनि पोर्टफोलियो व्यवस्थापन गरिरहेका थिए ।

त्यही अवस्थामा राष्ट्र बैंकले नीतिगत कडाइ गरेपछि एकाएक सेयर कर्जा घट्न थालेको हो । त्यसको परिणामस्वरूप अहिले पनि सेयर कर्जा बढ्न नसकेको जानकारहरू बताउँछन् ।

गत असोजसम्म एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा ६.४ प्रतिशतले घटेको छ । ०७८ असोजमा एक करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कर्जा ७.६ प्रतिशतले घटेको थियो । सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ३ प्रतिशतले बढेको छ ।

२५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १४.१० प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कमको यस्तो कर्जा १.१ प्रतिशत बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : मंसिर २०, २०७९ ०६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×