कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

५ प्रतिशतले घट्यो सेयर कर्जा

बैंकको कर्जा प्रवाह क्षमता घट्नु, ब्याजदर बढ्नु, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले ऋण लिएर सेयरमा लगानी गर्नेहरु निरूत्साहित

काठमाडौँ — गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन् । तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेको जानकारहरू बताउँछन् ।

५ प्रतिशतले घट्यो सेयर कर्जा

‘सेयर बजार निरन्तर जसो घटेको छ । यसअघि ३२ सयसम्म पुगेको बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए । त्यो लगानी बजारमा फर्किन सकेको छैन,’ एक ब्रोकरले भने, ‘तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो । त्यसको असर सेयर कर्जामा देखिएको हो ।’ अहिले निरन्तर सेयर बजार घट्नुको एउटा कारण सेयर कर्जा पनि भएको उनको दाबी छ ।

राष्ट्र बैंकका अनुसार गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा ७६ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेका छन् । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ५.२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको तीन महिनामा सेयर कर्जा २.२ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै वित्तीय संस्थाबाट गरेर बढीमा १२ करोड रुपैयाँभन्दा धेरै कर्जा प्रवाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । उक्त व्यवस्थापछि सेयर कर्जा घट्न थालेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था खारेज गरेको छ । उक्त व्यवस्था खारेज गरेर मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरेको छ ।

‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइनेछ ।’ २५ लाख रुपैयाँभन्दा कम रकम बराबर सेयर कर्जा प्रवाह गरेको हकमा १ सय प्रतिशत मात्र कर्जा जोखिम भार कायम राखिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १ सय प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १ सय ५० प्रतिशत राख्नुपर्नेे व्यवस्था यथावत् राखिएको छ,’ राष्ट्र बैंकले भनेको छ । सेयर कर्जामा चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गरेको व्यवस्था गत वर्षको मौद्रिक नीतिमा गरिएको भन्दा तुलनात्मक रूपमा खुकुलो हो । तर बजार धेरै तल झरिसकेको, बैंक तथा वित्तीय संस्थाबाट धमाधम मार्जिन कल आउन थालेको, निक्षेपको ब्याजदर धेरै माथि पुगेकोलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण घटेको जानकारहरू बताउँछन् ।

तुलनात्मक रूपमा सेयर कर्जालाई जोखिममुक्त मानिए पनि बैंक तथा वित्तीय संस्थासँग ‘मार्जिन कल’ को सुविधा हुन्छ । यही कारण बजार घट्दा धितोमा राखेको सेयरको मूल्य पूर्वनिर्धारित रकमभन्दा कम भएमा बैंक तथा वित्तीय संस्थाले ऋणीलाई टेलिफोन गरेर अपुग रकम थप गर्न लगाउँछन् ।

यसरी गरिने टेलिफोनलाई ‘मार्जिन कल’ भनिन्छ । बैंकहरूसँग ‘मार्जिन कल’ को सुविधा रहेकाले सेयर धितो कर्जामा जोखिम कम रहेको ब्रोकरहरूको दाबी छ ।

करिब दुई वर्षअघि (बजार निरन्तर उकालो लागेको समयमा) धेरै नयाँ लगानीकर्ता दोस्रो बजारमा भित्रिएका थिए । बजार घट्न थालेपछि धेरै लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरै भए पनि पोर्टफोलियो व्यवस्थापन गरिरहेका थिए ।

त्यही अवस्थामा राष्ट्र बैंकले नीतिगत कडाइ गरेपछि एकाएक सेयर कर्जा घट्न थालेको हो । त्यसको परिणामस्वरूप अहिले पनि सेयर कर्जा बढ्न नसकेको जानकारहरू बताउँछन् ।

गत असोजसम्म एक करोड रुपैयाँभन्दा बढी रकमका सेयर कर्जा ६.४ प्रतिशतले घटेको छ । ०७८ असोजमा एक करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कर्जा ७.६ प्रतिशतले घटेको थियो । सोही अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ३ प्रतिशतले बढेको छ ।

२५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १४.१० प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कमको यस्तो कर्जा १.१ प्रतिशत बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : मंसिर २०, २०७९ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?