गैंडाकोटमा फागुनभित्रै केबलकार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

गैंडाकोटमा फागुनभित्रै केबलकार

करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकारमा ५१ प्रतिशत मुख्य लगानीकर्ता आईएमई समूह र बाँकी स्थानीयको
नारायण शर्मा

नवलपरासी पूर्व — गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार निर्माण हुने भएको छ । केबलकार निर्माण यति बेला अन्तिम चरणमा छ । केबलकारका लागि यहाँ एक हजारभन्दा बढी रूख काटिएको छ ।

केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आईएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । ‘फागुनभित्र परीक्षण गरी सञ्चालनमा ल्याउने तयारीमा छौं,’ प्रोजेक्ट म्यानेजर गोकुल सावदले भने ।

आईएमई समूहले काठमाडौंको चन्द्रागिरिमा पनि केबलकार स्थापना गरेको छ । करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकार आयोजनामा ५१ प्रतिशत मुख्य लगानीकर्ता आईएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने बताइएको छ । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गरेको सावदले बताए । केबलकारले करिब ४ सय जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ । मन्दिर नजिकमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) को जग्गा किनेर सरकारलाई दिएको हो । केबलकारले अधिग्रहण गरेको जग्गा नेपालकै कुनै स्थानमा सट्टा भर्ना दिनुपर्ने नियम छ ।

चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले यहाँ पनि काम गरिरहेको छ । गैंडाकोट–१ धारापानीमा चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन छन् । त्यहाँ हेलिप्याड निर्माण गरिएको छ ।

केबलकारको लम्बाइ १२ सय मिटर छ । ६ वटा टावर रहने केबलकारमा १४ वटा डब्बा रहनेछन् । एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना अट्ने क्षमता छ । हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने पनि कम्पनीको विश्वास छ ।


प्रकाशित : मंसिर २०, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी निजी क्षेत्रका समस्यामा समाधान निकाल्ने बताए । 

प्रधानमन्त्रीले निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता जनाए । महासंघ प्रतिनिधिमण्डलले यसअघि सोमबार एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादीका अध्यक्ष पुुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी निजी क्षेत्रका समस्याबारे जानकारी गराएको थियो । मुख्यत: बैंकको उच्च ब्याजदर, तरलता अभाव, आयातमा गरिएको कडाइ, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका विषयमा निजी क्षेत्रले असन्तुष्ट जनाउँदै आएको छ ।

निजी क्षेत्रको लगानी संकुचित भई राजस्व निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेका बेला चालु पुँजी कर्जा मार्गदर्शनले व्यवसायमा जटिलता थपेको भन्दै यसलाई कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने माग महासंघले गरेको छ । त्यस्तै बैंकको ब्याजदर जसरी पनि घटाउनुपर्ने माग महासंघले अघि सारेको छ । तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र राष्ट्र बैंकले पहिल्याउनुपर्ने निजी क्षेत्रको माग छ । सवारीसाधन लगायत आयातमा गरिएको प्रतिबन्ध हटाउनुपर्ने महासंघले माग गरेको छ ।

पुस मसान्तमा पुर्नकर्जा वापतको करिब ६० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट फिर्ता जाने भएकाले यसलाई कम्तीमा एक वर्ष नवीकरणको सुविधा दिइनुपर्ने महासंघको माग छ । अनिवार्य नगद मौज्दात अनुपात घटाउनुपर्ने, सरकारी ढुकुटी प्रयोग गरी तरलता बढाउनुपर्ने, स्थानीय तहको शत प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिनुपर्नेजस्ता माग महासंघले अघि सारेको छ ।

प्रकाशित : मंसिर २०, २०७९ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×