कार्डबाटै मोबाइल रिचार्ज गर्नेको संख्या ५२ प्रतिशत : टेलिकम

कार्डबाट रिचार्ज गर्नेलाई टेलिकमले ल्यायो बोनस डाटा अफर

काठमाडौँ — आजभोलि धेरैले मोबाइल वालेट वा बैंकिङ एप प्रयोग गरी विद्युतीय माध्यमबाट मोबाइल फोनको रिचार्ज (टप अप) गर्ने गरेको पाइन्छ । नेपाल टेलिकमका कुल ग्राहकमध्ये ५२ प्रतिशतले अझै पनि पसलमा गएर रिजार्ज कार्ड किनेर त्यसबाटै फोनमा पैसा हाल्ने गरेको पाइएको छ । अधिकांशले कागजी माध्यम रोज्ने भएकाले ती ग्राहकलाई लक्षित गर्दै कम्पनीले हाल कार्डबाटै मोबाइल रिचार्ज गर्ने ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ ।

कार्डबाटै मोबाइल रिचार्ज गर्नेको संख्या ५२ प्रतिशत : टेलिकम

ग्राहकले २ सय, ५ सय र १ हजार रुपैयाँका कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले उक्त अफर उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार कार्डबाट २ सय रुपैयाँको रिचार्ज गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५ सयको रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यसबापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ । यो अफर २०७९ मंसिर २० देखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बताइएको छ ।

'अझै पनि ५२ प्रतिशत प्रयोगकर्ताले कागजकै कार्ड कोट्याएर मोबाइल रिचार्ज गर्छन्' टेलिकमका प्रवक्ता शोभन अधिकारी भन्छन्, '४८ प्रतिशतले भने विद्युतीय माध्यमबाट रिचार्ज गर्छन् । दुवै किसिमका ग्राहकलाई समान व्यवहार गर्न हामीले रिचार्ज कार्ड प्रयोग गर्नेलाई पनि बोनस दिने योजना ल्याएका हौं ।' कम्पनीले आगामी दिनमा विद्युतीय माध्यमलाई नै प्राथमिकता दिने भए पनि हाल कागजी कार्ड प्रयोग गर्ने आफ्ना ग्राहकलाई बराबर सेवा दिन खोजेको अधिकारीको भनाइ छ ।

'टेलिकमको फोर जी सेवा देशभरी पुगिसक्यो तर टुजी मात्रै चलाउने ग्राहक पनि छन्,' उनले भने, 'रिचार्ज सेवामा पनि त्यस्तै अवस्था छ । विभिन्न योजनाहरू उपलब्ध गराइ हामी विद्युतीय माध्यमबाट रिचार्ज गर्नेतर्फ आकर्षण बढाइरहेका छौं ।' विद्युतीय रिचार्जको तुलनामा कागजको कार्डको मेन्टेनेन्स खर्चिलो हुने गरेको पनि उनले बताए ।

प्रकाशित : मंसिर १९, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?