'बैंकको ताकेताले हतोत्साहित बनायो'

‘बढ्दो ब्याजदर र कच्चा पदार्थको उच्च मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा’
रमेशकुमार पौडेल

चितवन — नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजीसम्बन्धी मार्गदर्शनलाई दुई वर्षपछि मात्रै कार्यान्वयन गर्न, ऋणको ब्याजदर एक अंकमा सीमित गर्न, वस्तु आयातको नीति खुकुलो बनाउन, पुस मसान्तसम्मको ब्याजलाई पुँजीकरण गर्न र पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन चितवनका उद्योगीहरूले माग गरेका छन् । राष्ट्र बैंकले यी माग पूरा नगरे पुसबाट कुनै कर नबुझाएर आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

'बैंकको ताकेताले हतोत्साहित बनायो'

चितवन उद्योग संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर बढ्दो ब्याजदर र कच्चा पदार्थको उच्च मूल्यवृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी गराएको छ । यति बेला उद्योगीहरू निराश र हतोत्साहित भएको संघका चितवन अध्यक्ष त्रिलोचन कँडेलले बताए । ‘कर्जाको किस्ता तथा ब्याज उठाउन उद्योगीहरूलाई मानसिक तनाव दिने गरी बैंकहरूले ताकेता गर्दा थप हतोत्साहित भयौं,’ उनले भने ।

कोरोनाका कारण दुई वर्षसम्म भएको घाटा र रुस–युक्रेनबीचको युद्धले अकासिएको इन्धनको मूल्यले अर्थतन्त्र नाजुक मोडमा पुगेको उनको भनाइ छ । विदेशी मुद्राको सञ्चय बढाउन आयातमा प्रतिबन्ध लगाउँदा चोरी निकासी बढेको र यसले अर्थतन्त्रलाई झनै चुनौती थपेको कँडेलले बताए । अति विलासिताका वस्तुबाहेक सामान्य आवश्यकताका हरेक वस्तुको आयात खोल्न पनि उनको माग छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि पनि समस्या समाधानका लागि राष्ट्र बैंकले कुनै ठोस कदम नचालेको हुँदा उद्योगीहरूको ध्यानाकर्षण भएको उनले बताए । कोरोनाका बेलामा चितवनका ११ प्रतिशत उद्योग बन्द भएको संघका पूर्वअध्यक्ष राजु पौडेलको भनाइ छ । अहिले देखिएको आर्थिक समस्या र नीतिगत अन्योलमा सुधार नगरे आउँदा दिनमा ४० प्रतिशतसम्म उद्योग बन्द हुने उनको दाबी छ ।

चितवन कुखुरासँग सम्बन्धित (पोल्ट्री) उद्योग फस्टाएको जिल्ला हो । कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द जस्तै भएको चितवन उद्योग संघका अध्यक्ष कँडेलले जानकारी दिए । ‘अन्डा पार्ने लेयर्स कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी त चितवनमा जे जति छन्, बन्द जस्तै नै छन् । मासुका लागि पालिने ब्रोइलरका चल्ला उत्पादन गर्ने ह्याचरी पनि संकटमा छन्,’ अध्यक्ष कँडेलले भने ।

पोल्ट्री क्षेत्रमा दानाको खपत अत्यधिक हुने र दानाको कच्चा पदार्थको मूल्य पछिल्ला वर्षहरूमा ४० देखि शतप्रतिशतसम्म बढेको हुँदा पोल्ट्री क्षेत्रमा महासंकट आएको उनको दाबी छ । निर्माण क्षेत्र, खाद्य उद्योग र औषधि उद्योगमा पनि यही समस्या रहेको उनले बताए । ‘त्यसैले सानादेखि ठूला उद्योगीलाई उकास्ने गरेर मौद्रिक नीति ल्याउन माग गरेका हौं,’ चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेलले भने ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?