२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पाँचखाल सेज डेढ दशकदेखि चर्चा मात्रै, निर्माण सुस्त

हरेक वर्षको बजेटमा सरकारले विशेष प्राथमिकतामा राखे पनि बजेट विनियोजन कम
ज्योति श्रेष्ठ

काभ्रे — डेढ दशकदेखि चर्चामा रहेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) को काम पूरा हुन सकेको छैन । काम सुरु भएको ११ वर्षमा बल्ल प्रशासनिक भवन मात्रै अघि बढेको छ, त्यसले पनि पूर्णता पाएको छैन । विशेष आर्थिक क्षेत्र प्राधिकरणले ०६८ मै सरकारी जमिन (वन क्षेत्र) प्राप्त गरे पनि सेजको निर्माण कार्यले तीव्रता पाउन सकेको छैन ।

पाँचखाल सेज डेढ दशकदेखि चर्चा मात्रै, निर्माण सुस्त

निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिन काभ्रेको पाँचखाललाई विशेष आर्थिक क्षेत्र (सेज)का रूपमा घोषणा गरिए पनि ०७६ बाट मात्रै कार्यान्यवन थालिएको थियो । ०७६ सालमा सेजको प्रशासनिक भवनको निर्माण कार्य थालनी गरिए पनि सम्पन्न भएको छैन । तीन वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने लक्ष्य थियो ।

पाँचखाल नगरपालिका–८ स्थित देवीस्थान पााडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी जग्गा सेज निर्माणका लागि खरिद गरिएको थियो । जग्गा खरिद भएको करिब एक दशकपछि मात्रै सेजको प्रशासनिक भवन, कम्पाउन्ड वाल (घेराबार) र जग्गा विकासका लागि रुख कटानको काम अघि सरेको पाँचखाल सेजले जनाएको छ । सेजको प्रशासनिक भवन निर्माणका कार्य अन्तिम चरणमा पुगेको, कम्पाउन्ड वाल (घेराबार) को काम ५० प्रतिशत र रुख कटानको काम सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) का सह–प्राविधिक भरत भट्टले बताए । आमनिर्वाचनका कारण यसको निर्माणको काम पनि प्रभावित भएको थियो । अबको केही दिनमै उक्त कार्यलाई तीव्रता दिइने उनको भनाइ छ ।

आर्थिक वर्ष ०६८/६९ देखि नै सरकारले बजेटमा पाँचखाल सेजलाई प्राथमकितामा राख्दै आएको बताएको छ । प्राथमिकतामा रहेको भनिए पनि यसअघिका सरकारले बजेट व्यवस्थापन नगरेको कारण कामले तीव्रता पाएको छैन । बजेटको कारण निर्माणले तीव्रता नपाएको सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट तर्क गर्छन् । ‘पर्याप्त बजेट हुने हो भने निर्माण कार्यले तीव्रता पाउनेछ, २ वर्षमा हामीले निर्माण कार्य सम्पन्न गर्न सक्छौं,’ उनले भने । ०७५/७६ देखि पूर्वाधार निर्माण अघि बढाएको पाँचखाल सेजले हालसम्म २५ करोडको लगानी भएको उनले जानकारी दिए । प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि करिब चार अर्ब रुपैयाँ अनुमानित लागत तयार गरेको छ । तर वार्षिक ५ देखि १० करोड रुपौयाँ मात्र बजेट विनियोजन हुने भएकाले पनि यसको कार्य सम्पन्नमा ढिलाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक भट्टले बताए ।

हरेक वर्षको बजेटमा सरकारले पाँचखाल सेजलाई विशेष प्राथमिकतामा राखे पनि बजेट विनियोजनमा भने कम प्राथमिकतामा परेको देखिन्छ । ०७८/७९ को बजेट कार्यक्रमै सरकारले विशेष आर्थिक क्षेत्र पाँचखालको पूर्वाधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा पनि आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।

भैरहवा सेजपछिको प्राथमिकतामा राखिएको पाँचखाल सेजको सञ्चालनले चीनबाट हुने व्यापारलाई सहजीकरण हुने पाँचखाल सेजले जनाएको छ । चिनियाँ लगानीकर्ताहरूको आकर्षण बढे पनि सोचेअनुसार काम नहुँदा भने उद्योगी व्यवसायी एवं स्थानीय चिन्तित भएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंले बताए । बहुप्रतीक्षित पाँचखाल सेज पाँचखालको मात्र नभएर काभ्रेका साथै मुलुककै गौरवको विषय भएकाले पनि यसको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।

अर्बौंको लगानी गर्नुपर्ने सेजमा हरेक सरकारले वार्षिक ५/१० करोड मात्र विनियोजन गरेकाले पूर्णता पाउन नसकेको उनको दाबी छ । सेज पाँचखाल काभ्रेकै लागि महत्त्वपूर्ण भएकाले समयमै निर्माण हुन आवश्यक भएको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताए । विशेष आर्थिक क्षेत्रले धेरै रोजगारी सिर्जना गर्ने भएको हुनाले नगरपालिकाका तर्फबाट सबै खाले सहयोग हुने उनको भनाइ छ । केही समयअघि मात्र काम छिटो सम्पन्न गराउन सेजको केन्द्रीय कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको थियो । आफू पहिलो पटक नगरप्रमुख भएपछि भवन निर्माण क्षेत्रका रुख कटानको सुरुवात गरेको उनले जनाए । सेजका लागि ५० हेक्टर (१ हजार रोपनी) वनक्षेत्र किनिएको भए पनि हाललाई एक हेक्टर क्षेत्रफलको मात्र रुख कटान गरिएको उनको भनाइ छ ।

निर्यात गर्ने सबै उद्योगलाई सेजमा ल्याउन प्राथमिकता दिनुपर्ने उद्योग वाणिज्य संघ काभ्रेका महासचिव एवं काष्ठ उद्योग व्यवसायी रवीन्द्र बैदार बताउँछन् । यहाँ उद्योग सञ्चालन भएपछि रोजगारीको सिर्जना हुनुका साथै उद्योगी व्यवसायबाट राजस्व वृद्धि हुने हुँदा देशको अर्थतन्त्रमा पनि सुधार हुने उनको अपेक्षा छ । सेज निर्माणमा ढिलाइ हुनाले उद्योग व्यवसायीसँगै सरकारलाई पनि उत्तिकै असर पर्ने उनको भनाइ छ । पाँचखालमा सेज आउने कुराले उत्साहित भएका यहाँका उद्योगी व्यवसायी यसको निर्माणमा भएको ढिलाइले निरुत्साहित भएको वैदले बताए ।

पाँचखाल सेजमा ५८ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ । त्यहाँ विशेष गरेर चिया, कफी, अदुवा, अलैंची, आयुर्वेदिक औषधि, दूग्ध पदार्थलगायत कृषि, खनिज, आईटी र चीनबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गर्ने उद्योग बढी सम्भाव्य छन् । ती उद्योग सञ्चालनमा आएपछि करिब वार्षिक १५ अर्बको निर्यात हुने अनुमान गरिएको सेज पाँचखालले जनाएको छ । सेज सञ्चालनबाट ३५ सय जनालाई रोजागारी दिने लक्ष्य राखिएको बताइएको छ ।

प्रकाशित : मंसिर १८, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?