पाँचखाल सेज डेढ दशकदेखि चर्चा मात्रै, निर्माण सुस्त
काभ्रे — डेढ दशकदेखि चर्चामा रहेको पाँचखालमा निर्माण भइरहेको विशेष आर्थिक क्षेत्र (सेज) को काम पूरा हुन सकेको छैन । काम सुरु भएको ११ वर्षमा बल्ल प्रशासनिक भवन मात्रै अघि बढेको छ, त्यसले पनि पूर्णता पाएको छैन । विशेष आर्थिक क्षेत्र प्राधिकरणले ०६८ मै सरकारी जमिन (वन क्षेत्र) प्राप्त गरे पनि सेजको निर्माण कार्यले तीव्रता पाउन सकेको छैन ।
निर्यातमूलक उद्योगलाई एउटै स्थानमा स्थापना गरेर निर्यातलाई प्रोत्साहन दिन काभ्रेको पाँचखाललाई विशेष आर्थिक क्षेत्र (सेज)का रूपमा घोषणा गरिए पनि ०७६ बाट मात्रै कार्यान्यवन थालिएको थियो । ०७६ सालमा सेजको प्रशासनिक भवनको निर्माण कार्य थालनी गरिए पनि सम्पन्न भएको छैन । तीन वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने लक्ष्य थियो ।
पाँचखाल नगरपालिका–८ स्थित देवीस्थान पााडुल्ला सुवर्णेश्वरी सामुदायिक वनको ६ सय रोपनी र शिखरपुरको चार सय गरी एक हजार रोपनी जग्गा सेज निर्माणका लागि खरिद गरिएको थियो । जग्गा खरिद भएको करिब एक दशकपछि मात्रै सेजको प्रशासनिक भवन, कम्पाउन्ड वाल (घेराबार) र जग्गा विकासका लागि रुख कटानको काम अघि सरेको पाँचखाल सेजले जनाएको छ । सेजको प्रशासनिक भवन निर्माणका कार्य अन्तिम चरणमा पुगेको, कम्पाउन्ड वाल (घेराबार) को काम ५० प्रतिशत र रुख कटानको काम सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) का सह–प्राविधिक भरत भट्टले बताए । आमनिर्वाचनका कारण यसको निर्माणको काम पनि प्रभावित भएको थियो । अबको केही दिनमै उक्त कार्यलाई तीव्रता दिइने उनको भनाइ छ ।
आर्थिक वर्ष ०६८/६९ देखि नै सरकारले बजेटमा पाँचखाल सेजलाई प्राथमकितामा राख्दै आएको बताएको छ । प्राथमिकतामा रहेको भनिए पनि यसअघिका सरकारले बजेट व्यवस्थापन नगरेको कारण कामले तीव्रता पाएको छैन । बजेटको कारण निर्माणले तीव्रता नपाएको सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट तर्क गर्छन् । ‘पर्याप्त बजेट हुने हो भने निर्माण कार्यले तीव्रता पाउनेछ, २ वर्षमा हामीले निर्माण कार्य सम्पन्न गर्न सक्छौं,’ उनले भने । ०७५/७६ देखि पूर्वाधार निर्माण अघि बढाएको पाँचखाल सेजले हालसम्म २५ करोडको लगानी भएको उनले जानकारी दिए । प्राधिकरणले पाँचखाल सेजको निर्माणका लागि करिब चार अर्ब रुपैयाँ अनुमानित लागत तयार गरेको छ । तर वार्षिक ५ देखि १० करोड रुपौयाँ मात्र बजेट विनियोजन हुने भएकाले पनि यसको कार्य सम्पन्नमा ढिलाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक भट्टले बताए ।
हरेक वर्षको बजेटमा सरकारले पाँचखाल सेजलाई विशेष प्राथमिकतामा राखे पनि बजेट विनियोजनमा भने कम प्राथमिकतामा परेको देखिन्छ । ०७८/७९ को बजेट कार्यक्रमै सरकारले विशेष आर्थिक क्षेत्र पाँचखालको पूर्वाधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमा पनि आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।
भैरहवा सेजपछिको प्राथमिकतामा राखिएको पाँचखाल सेजको सञ्चालनले चीनबाट हुने व्यापारलाई सहजीकरण हुने पाँचखाल सेजले जनाएको छ । चिनियाँ लगानीकर्ताहरूको आकर्षण बढे पनि सोचेअनुसार काम नहुँदा भने उद्योगी व्यवसायी एवं स्थानीय चिन्तित भएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंले बताए । बहुप्रतीक्षित पाँचखाल सेज पाँचखालको मात्र नभएर काभ्रेका साथै मुलुककै गौरवको विषय भएकाले पनि यसको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।
अर्बौंको लगानी गर्नुपर्ने सेजमा हरेक सरकारले वार्षिक ५/१० करोड मात्र विनियोजन गरेकाले पूर्णता पाउन नसकेको उनको दाबी छ । सेज पाँचखाल काभ्रेकै लागि महत्त्वपूर्ण भएकाले समयमै निर्माण हुन आवश्यक भएको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताए । विशेष आर्थिक क्षेत्रले धेरै रोजगारी सिर्जना गर्ने भएको हुनाले नगरपालिकाका तर्फबाट सबै खाले सहयोग हुने उनको भनाइ छ । केही समयअघि मात्र काम छिटो सम्पन्न गराउन सेजको केन्द्रीय कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको थियो । आफू पहिलो पटक नगरप्रमुख भएपछि भवन निर्माण क्षेत्रका रुख कटानको सुरुवात गरेको उनले जनाए । सेजका लागि ५० हेक्टर (१ हजार रोपनी) वनक्षेत्र किनिएको भए पनि हाललाई एक हेक्टर क्षेत्रफलको मात्र रुख कटान गरिएको उनको भनाइ छ ।
निर्यात गर्ने सबै उद्योगलाई सेजमा ल्याउन प्राथमिकता दिनुपर्ने उद्योग वाणिज्य संघ काभ्रेका महासचिव एवं काष्ठ उद्योग व्यवसायी रवीन्द्र बैदार बताउँछन् । यहाँ उद्योग सञ्चालन भएपछि रोजगारीको सिर्जना हुनुका साथै उद्योगी व्यवसायबाट राजस्व वृद्धि हुने हुँदा देशको अर्थतन्त्रमा पनि सुधार हुने उनको अपेक्षा छ । सेज निर्माणमा ढिलाइ हुनाले उद्योग व्यवसायीसँगै सरकारलाई पनि उत्तिकै असर पर्ने उनको भनाइ छ । पाँचखालमा सेज आउने कुराले उत्साहित भएका यहाँका उद्योगी व्यवसायी यसको निर्माणमा भएको ढिलाइले निरुत्साहित भएको वैदले बताए ।
पाँचखाल सेजमा ५८ वटा निर्यातमूलक उद्योग स्थापना गर्न सकिने सम्भाव्यता रहेको गुरुयोजनामा उल्लेख छ । त्यहाँ विशेष गरेर चिया, कफी, अदुवा, अलैंची, आयुर्वेदिक औषधि, दूग्ध पदार्थलगायत कृषि, खनिज, आईटी र चीनबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गर्ने उद्योग बढी सम्भाव्य छन् । ती उद्योग सञ्चालनमा आएपछि करिब वार्षिक १५ अर्बको निर्यात हुने अनुमान गरिएको सेज पाँचखालले जनाएको छ । सेज सञ्चालनबाट ३५ सय जनालाई रोजागारी दिने लक्ष्य राखिएको बताइएको छ ।
प्रकाशित : मंसिर १८, २०७९ ०७:१३