सुनकोसी–मरिण डाइभर्सनको कामले गति लियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसी–मरिण डाइभर्सनको कामले गति लियो

४५ दिनमा एक किलोमिटर सुरुङ खनियो
राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण कार्यले गति लिएको छ । डेढ महिनाको अवधिमा एक किलोमिटर सुरुङ खनिएको आयाोजनाले जनाएको छ ।

गत असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो । टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको उक्त योजना डेढ महिनाको अवधिमा शनिबारसम्म एक हजार मिटर (एक किलोमिटर) सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

आयोजना प्रमुख बरालका अनुसार १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिनबाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेकोमा प्रगति बढेको उनको भनाइ छ ।

‘एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो, आयोजना प्रमुख बरालले भने,' ‘अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौं । ढिलो वा चाँडो भन्ने भौगर्भिक समस्यामा निर्भर हुन्छ । चुरे पहाड र महाभारतको संगमस्थलमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ ।’ यही रफ्तारमा काम भए महिनामा ७ सय मिटरसम्म खन्न सक्ने भएकाले लक्ष्य राखिएको २२ महिनाको अवधिअघि नै निर्माण सम्पन्न हुने उनको आकलन छ ।

अहिले दैनिक सरदर १८ मिटर र कुनै दिन ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । मेसिनले १३ दशमलब तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा सात सय मिटर तल पर्छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमबल ६ डायमिटरको सुरुङ मेसिनले खनि रहेको छ ।

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपयाँमा ठेक्का पाएको छ । टीबीएमले आठ/आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खनिरहेको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ ।

त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिनेछ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराइका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । बाह्रै महिना सिँचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड आम्दानी हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

सामाजिक सञ्जालमा सँधै विवादित कान्य वेस्ट

एजेन्सी

काठमाडौँ — अमेरिकी र्‍यापर ये (कान्य वेस्ट) लाई ट्वीटरमा पुन: प्रतिबन्ध लगाइएको छ । रङ र जातीभेदी अभिव्यक्ति दिएर ‘हिंसा भड्काउन खोजेको’ भन्दै उनको खाता सस्पेन्ड गरिएको ट्वीटरका नयाँ मालिक इलन मस्कले ट्वीटरमार्फत् बताएका छन् ।

वेस्टले हिंसा प्रोत्साहनविरुद्धको ट्वीटरको नीति उल्लंघन गरेकाले उनको खाता सस्पेन्ड गरिएको इलनको ट्वीटमा उल्लेख छ । गत महिना पनि वेस्टलाई ट्वीटरमा प्रतिबन्ध लगाइएको थियो । पछिल्लो समय उनी लगातार जातीभेदी ट्वीटहरू पोस्ट गरिरहेका थिए । तीमध्ये एउटामा उनले नाजी जर्मनको स्वस्तीक चिन्हलाई यहुदीहरूको स्टार अफ डेभिड चिन्हसँग समाहित गरिएको तस्बीर ट्वीट गरेका थिए ।

उक्त ट्वीटपछि उनले एक अन्तर्वार्तामा नाजी जर्मनका नेता अडोल्फ हिटलरको प्रशंसा गर्दै पाप, अश्लिलता र दानवताबारे लामो भाषण दिएका थिए । बेलायतको ‘होलोकास्ट एजुकेसनल ट्रस्ट’ ले उनको अभिव्यक्तिलाई ‘घृणित र रोगी’ बताएको बीबीसीको समाचारमा उल्लेख छ । यस्तै अभिव्यक्तिलाई लिएर विभिन्न ब्रान्ड र कम्पनीहरूले वेस्टसँगको सहकार्य अन्त्य गरेका छन् । पछिल्लो समय एडिडासले उनीसँगको सम्बन्ध टुटाएको थियो । यसले गर्दा उनी अर्बपतीको सूचीबाट हट्न लागेको फोर्ब्सको आँकडा छ । एडिडासमा आबद्ध छँदा उनको कुल सम्पत्ती १.५ बिलियन डलर थियो भने अहिले ४ सय मिलियन डलर मात्र बाँकी रहेको फोर्ब्सले जनाएको छ ।

ट्वीटरबाट निलम्बित भइरहँदा वेस्टलाई सामाजिक सञ्जालसम्बन्धी अर्को खबरले झट्का दिएको छ । पार्लर नामक सोसल मिडिया कम्पनीका संस्थापकहरूले केही अघि आफूहरूको एप वेस्टले खरिद गर्न चाहेमा बेच्न तयार रहेको बताएका थिए । वेस्टले यसमा सरात्मक जवाफ फर्काएपछि पार्लर उनको हुने हल्ला थियो । तर यसै साता पार्लरले पनि वेस्टसँगको सम्झौता रद्द गरिदिएको छ । आपसी समझदारीमा यस्तो गरिएको बताए पनि वेस्टका लागि यो दु:खद खबर हो । सामाजिक सञ्जालहरूले आफूलाई स्वतन्त्र ढ‌ंगले बोल्न नदिएको बताउने वेस्टले पार्लर एप किनेर त्यसबाटै मनलाग्दी लेख्न/बोल्न खोजेका थिए ।

विवादास्पद तरिकाले सामाजिक सञ्जालमा छाइरहने कलाकारमध्ये वेस्ट पनि एक हुन् । केहीअघि उनले मेटा र ट्वीटरजस्ता एपले आफूलाई सेन्सर गरेको बताएका थिए । त्यो बेला उनलाई इन्स्टाग्राममा समेत सस्पेन्ड गरिएको थियो । स्पटीफाइ र एप्पल म्युजिकले उनका गीत आफ्ना प्लाटफर्मबाट हटाउने हल्ला चले पनि कम्पनीहरूले गीतमा जातीभेदी अभिव्यक्ति नभएकाले त्यसो नगर्ने स्पष्टिकरण दिए । यद्यपी, उनका भनाइहरू ‘असाध्यै भद्दा’ भएको स्पटिफाइका प्रमुख डेनियल इकले बताएका थिए ।

प्रकाशित : मंसिर १७, २०७९ १८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×