सामाजिक सञ्जालमा सँधै विवादित कान्य वेस्ट


काठमाडौँ — अमेरिकी र्यापर ये (कान्य वेस्ट) लाई ट्वीटरमा पुन: प्रतिबन्ध लगाइएको छ । रङ र जातीभेदी अभिव्यक्ति दिएर ‘हिंसा भड्काउन खोजेको’ भन्दै उनको खाता सस्पेन्ड गरिएको ट्वीटरका नयाँ मालिक इलन मस्कले ट्वीटरमार्फत् बताएका छन् ।


वेस्टले हिंसा प्रोत्साहनविरुद्धको ट्वीटरको नीति उल्लंघन गरेकाले उनको खाता सस्पेन्ड गरिएको इलनको ट्वीटमा उल्लेख छ । गत महिना पनि वेस्टलाई ट्वीटरमा प्रतिबन्ध लगाइएको थियो । पछिल्लो समय उनी लगातार जातीभेदी ट्वीटहरू पोस्ट गरिरहेका थिए । तीमध्ये एउटामा उनले नाजी जर्मनको स्वस्तीक चिन्हलाई यहुदीहरूको स्टार अफ डेभिड चिन्हसँग समाहित गरिएको तस्बीर ट्वीट गरेका थिए ।
उक्त ट्वीटपछि उनले एक अन्तर्वार्तामा नाजी जर्मनका नेता अडोल्फ हिटलरको प्रशंसा गर्दै पाप, अश्लिलता र दानवताबारे लामो भाषण दिएका थिए । बेलायतको ‘होलोकास्ट एजुकेसनल ट्रस्ट’ ले उनको अभिव्यक्तिलाई ‘घृणित र रोगी’ बताएको बीबीसीको समाचारमा उल्लेख छ । यस्तै अभिव्यक्तिलाई लिएर विभिन्न ब्रान्ड र कम्पनीहरूले वेस्टसँगको सहकार्य अन्त्य गरेका छन् । पछिल्लो समय एडिडासले उनीसँगको सम्बन्ध टुटाएको थियो । यसले गर्दा उनी अर्बपतीको सूचीबाट हट्न लागेको फोर्ब्सको आँकडा छ । एडिडासमा आबद्ध छँदा उनको कुल सम्पत्ती १.५ बिलियन डलर थियो भने अहिले ४ सय मिलियन डलर मात्र बाँकी रहेको फोर्ब्सले जनाएको छ ।
ट्वीटरबाट निलम्बित भइरहँदा वेस्टलाई सामाजिक सञ्जालसम्बन्धी अर्को खबरले झट्का दिएको छ । पार्लर नामक सोसल मिडिया कम्पनीका संस्थापकहरूले केही अघि आफूहरूको एप वेस्टले खरिद गर्न चाहेमा बेच्न तयार रहेको बताएका थिए । वेस्टले यसमा सरात्मक जवाफ फर्काएपछि पार्लर उनको हुने हल्ला थियो । तर यसै साता पार्लरले पनि वेस्टसँगको सम्झौता रद्द गरिदिएको छ । आपसी समझदारीमा यस्तो गरिएको बताए पनि वेस्टका लागि यो दु:खद खबर हो । सामाजिक सञ्जालहरूले आफूलाई स्वतन्त्र ढंगले बोल्न नदिएको बताउने वेस्टले पार्लर एप किनेर त्यसबाटै मनलाग्दी लेख्न/बोल्न खोजेका थिए ।
विवादास्पद तरिकाले सामाजिक सञ्जालमा छाइरहने कलाकारमध्ये वेस्ट पनि एक हुन् । केहीअघि उनले मेटा र ट्वीटरजस्ता एपले आफूलाई सेन्सर गरेको बताएका थिए । त्यो बेला उनलाई इन्स्टाग्राममा समेत सस्पेन्ड गरिएको थियो । स्पटीफाइ र एप्पल म्युजिकले उनका गीत आफ्ना प्लाटफर्मबाट हटाउने हल्ला चले पनि कम्पनीहरूले गीतमा जातीभेदी अभिव्यक्ति नभएकाले त्यसो नगर्ने स्पष्टिकरण दिए । यद्यपी, उनका भनाइहरू ‘असाध्यै भद्दा’ भएको स्पटिफाइका प्रमुख डेनियल इकले बताएका थिए ।
प्रकाशित : मंसिर १७, २०७९ १८:०९