२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भारतले फुकुवा गरे लगत्तै वीरगन्ज नाकाबाट धान–चालमको आयात बढ्यो

शंकर आचार्य

पर्सा — वीरगन्ज नाकाबाट धान र चामलको आयात ह्वात्तै बढेको छ । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिए लगत्तै भारतबाट यसको आयात सुरु भएको हो ।

भारतले फुकुवा गरे लगत्तै वीरगन्ज नाकाबाट धान–चालमको आयात बढ्यो

एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिको तथ्यांक अनुसार मंसिर ५ देखि बिहीबार सम्मको अवधिमा यो नाका हुँदै १ हजार ७ सय ९४ ट्रक धान र चामल भारतबाट आयात भएको छ । जसमा १ हजार ७ सय ९४ ट्रक धान र २३ ट्रक चामल छन् । बिहीबार एकै दिन २ सय ५ ट्रक धान आयात भएको थियो ।

इन्टर मोडलका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले धान चालमको आयात बढेपछि यो नाका हुँदै दैनिक भित्रिने मालबाहक सवारीको संख्या नै बढेको बताए । ‘यसअघि दैनिक ४ सय देखि ४ सय ५० को हाराहारीमा मालबाहक सवारी साधन दैनिक भित्रिने गरेको थियो,’ उनले भने, ‘डेढ सातायता भने दैनिक ५ सय देखि ५ सय ५० को हाराहारीमा मालबाहक सवारी भित्रि रहेका छन् ।’

भारतले नेपालतर्फ धान र चामलको निर्यात खुल्ला गरे लगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले जानकारी दिए । ‘भारतले निर्यात फुकुवा गरे लगत्तै यो नाकाबाट धान र चामल दुवैको आयात बढेको हो, भारतले पुन: निर्यातमा रोक लगाउने आशंकाले व्यवसायीहरुले हतारमा आयात गरेर भण्डारण गरी राखेको हुन सक्छ,’ उनले भने, ‘तर धानको आयातबाट राजश्वमा खासै योगदान भने हुँदैन, धानको आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत मात्रै लाग्छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन मात्र धान चामलको निर्यात फुकुवा गरेकाले व्यवसायीले हतारमा धान चामल आयात गरिरहेको बताए । ‘नेपालका अन्य नाकाबाट पनि धान चामल भित्रि रहेकाले व्यवसायीले भारतको कोटा सक्किने र भारतले जुनसुकै बेला पनि निर्यातमा रोक लगाउन सक्ने आशंकाले व्यवसायीले हतार गरेका हुन्,’ उनले भने, ‘गत वर्ष भारतले साढे ५ लाख मेटन कोटा नेपाललाई दिएको थियो ।’ यस वर्ष सिजनमै धान आयात गर्न पाएपछि व्यवसायीलाई धेरै राहत भएको गुप्ता बताउँछन् । भारतको धान र स्वदेशी धान समेतले नेपालको वर्षभरिको माग धान्न सक्ने र यसो हुँदा चामल महँगो समेत नहुने उनले बताए ।

प्रकाशित : मंसिर १७, २०७९ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?