भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

निगमलाई पाक्षिक ५३ करोड नाफा हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार (डिसेम्बर १) मा पठाएको सूचीअनुसार पेट्रोल/डिजेलको मूल्य केही घटेको छ । खाना पकाउने  एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।

‘आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ,’ निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक बिरेन्द्र गोइतले भने, ‘ग्यासको हकमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।’

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासको घाटा भने बढेर प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ पुगेको छ । ‘हालको मूल्य यथावत राख्दा समग्रमा अबको १५ दिनमा नाफा ५३ करोड हुने अनुमान छ,’ गोइतले भने, ‘तर, आईओसीको बक्यौता र सरकारकै ऋण चुक्ता गर्नुपर्ने दबाब पनि उत्तिकै छ ।’ गोइतका अनुसार नोभेम्बर १६को मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा करिब ३० करोड घाटा भएको छ ।

प्रकाशित : मंसिर १५, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनमा सामेल हुन तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

'भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,' निधिले भनेका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाको प्रस्तावमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको बताए । 'प्रधानमन्त्रीजीसँग भेट भयो । भेटमा उहाँले लोकतान्त्रिक सरकार बनाउनुपर्छ भन्ने उहाँको चाहना राख्नुभयो, तपाइहरुको पनि समर्थन चाहियो भन्नुभयो । प्रदेशदेखि केन्द्रसम्मको सरकार बनाउन उहाँहरुले हाम्रो आवश्यकता महसुस गर्दा अध्यक्षजीले पनि सरकारमा सामेल हुन सकारात्मक प्रतिक्रिया दिनुभएको छ,' उनले भने ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।

मधेशको नयाँ शक्तिकारुपमा उदाएको जनमतलाई कांग्रेस नेतृत्वको गठबन्धनमा समेट्न नेता निधिले पहल गरेका थिए । निधि र राउतबीच पटक-पटक भेटघाट र संवादपछि निधिले राउतलाई प्रधानमन्त्री देउवासँग भेटाएका हुन् ।

प्रकाशित : मंसिर १५, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×