
काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार (डिसेम्बर १) मा पठाएको सूचीअनुसार पेट्रोल/डिजेलको मूल्य केही घटेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।

‘आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ,’ निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक बिरेन्द्र गोइतले भने, ‘ग्यासको हकमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।’
नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासको घाटा भने बढेर प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ पुगेको छ । ‘हालको मूल्य यथावत राख्दा समग्रमा अबको १५ दिनमा नाफा ५३ करोड हुने अनुमान छ,’ गोइतले भने, ‘तर, आईओसीको बक्यौता र सरकारकै ऋण चुक्ता गर्नुपर्ने दबाब पनि उत्तिकै छ ।’ गोइतका अनुसार नोभेम्बर १६को मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा करिब ३० करोड घाटा भएको छ ।
प्रकाशित : मंसिर १५, २०७९ १९:११