सस्तियो ब्रोइलर कुखुराको मासु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सस्तियो ब्रोइलर कुखुराको मासु

कान्तिपुर संवाददाता

काठमाडौँ — बजारमा अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने केही सातादेखि निरन्तर घटेको छ । भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको व्यवसायी बताँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।

‘कुखुराको उत्पादन बढेर मूल्य घटेको होइन,’ संघका सचिव देवकुमार गिरीले भने, ‘मूल्य घट्नुको एक मात्रै कारण भारतबाट सस्तोमा आयात भएर हो ।’ असोज २२ गते प्रतिकिलो २ सय ७० रुपैयाँ रहेको जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य असोज ३१ मा प्रतिकिलो २ सय ६० रुपैयाँ तोकियो । मंसिर १४ गते प्रतिकिलो २ सय २० रुपैयाँ तोकिएको संघले जनाएको छ ।

गिरीका अनुसार खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा ब्रोइलर कुखुरा भित्रिन्छ । तुलनात्मक रुपमा भारतीय कुखुरा धेरै सस्तो पर्छ । सस्तो कुखुरा बजारमा भित्रिएपछि बाध्य भएर मूल्य घटाएको उनको दाबी छ । ‘आर्थिक मन्दीले सर्वसाधारणको क्रयशक्ति घटेको देखिन्छ, जसले गर्दा खपत पनि कमै भएको छ,’ उनले भने, ‘सस्तो कुखुरा तस्करी भएर आएपछि प्रतिस्पर्धा गर्न मूल्य घटाउन बाध्य भयाैं ।’ संघले कोल्डस्टोर मूल्य २ सय २० तोकेपछि खुद्रा बजारमा प्रतिकिलो ३ सय रुपैयाँ भन्दा बढी नपर्ने गिरीको दाबी छ ।

प्रकाशित : मंसिर १५, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

नेम्वाङको चौथो संसदीय यात्रा

लक्ष्मी गौतम

पाँचथर — पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले चौथो पटक विजय प्राप्त गरेका छन् । उनले यस पटक प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई मात्र ४६ मतान्तरले हराएका हुन् । नेम्वाङ यसअघि २०४८, २०५६ र २०७४ को संसदीय निर्वाचनमा विजयी भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा भने उनी कांग्रेसका दीपकप्रकाश बाँस्कोटासँग पराजित भएका थिए ।

तत्कालीन वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका उनले २०७४ मा आङदेम्बेलाई १० हजारभन्दा धेरै मतान्तरले हराएका थिए । यस पटक उनी कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट साझा उम्मेदवार थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार नेम्वाङले ३२ हजार १ सय ३५ र आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरे । मंसिर ९ को बिहान प्रत्यक्षतर्फको मत गणना सक्दा नेम्वाङको मत ३२ हजार १ सय १० र आङदेम्बेको ३२ हजार ६३ थियो । नेम्वाङले विजय उत्सव मनाइसकेपछि समानुपातिकका पेटिकामा प्रत्यक्षतर्फकै मतपत्र भेटिन थालेपछि विवाद हुँदा मतगणना प्रभावित भएको थियो । समानुपातिकतर्फको गणना सक्दा ती पेटिकामा भेटिएका भोटसमेत जोडेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम सार्वजनिक गर्दै मंगलबार मध्यरात नेम्वाङलाई प्रमाण पत्र दिएको छ ।

मुलुक संघीय संरचनामा जानुअघि दुइटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा त्यसअघि नेम्वाङ क्षेत्र नं. १ र आङदेम्बे २ बाट चुनावमा उठ्दै आएका थिए । राज्यको पुनःसंरचनामा पाँचथरमा प्रतिनिधिसभाका लागि एक सिट कायम भएपछि २०७४ को चुनावदेखि उनीहरूबीच प्रतिस्पर्धीका रूपमा भेट हुन थालेको हो । कांग्रेस सहमहामन्त्री आङदेम्बेलाई कांग्रेसले २०५६ को आम निर्वाचनपछि निरन्तर टिकट दिँदै आए पनि २०७० को संविधानसभा निर्वाचनबाहेक सबै चुनावमा हार्दै आएका छन् । उनी २०५६ को आम निर्वाचन र २०६४ को संविधानसभामा एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग हारेका थिए । २०७० मा तेस्रो पटक लड्दा सम्बाहाम्फेलाई हराएर संविधानसभा सदस्य बनेका उनी पुनः नेम्वाङसँग २०७४ र २०७९ का निर्वाचनमा पराजित भएका हुन् ।

निर्वाचित नेम्वाङ एमाले अध्यक्ष केपी ओली निकट र आङदेम्बे कांग्रेस सभापति देउवा पक्षका मानिन्छन् । नेम्वाङ २०७६ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा करिब २ वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । यस पटकको निर्वाचनमा दुवैले विजयी भए शक्तिशाली मन्त्रालयको नेतृत्व पाउने भन्दै मतदातासामु भोट मागेका थिए । आङदेम्बेले यस पटक आफू अन्तिम पटक चुनाव लडेको मतदातालाई भनेका थिए । नेम्वाङको विजयले उसै पनि आङदेम्बेको राजनीतिक भविष्यसमेत संकटमा पारिदिएको टिप्पणी हुन थालेको छ ।

प्रकाशित : मंसिर १५, २०७९ १६:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×