चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।

गभर्नर अधिकारीले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावका आधारमा उक्त नीति संसोधन गर्न तयार रहेको बताएका हुन् । यद्यपि उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति नै फिर्ता भने हुन नसक्ने स्पष्ट पारे ।उनले भने ‘यसमा संशोधन गर्न सकिन्छ तर सबै जना अनुशासनमा बस्नुपर्छ । अनुशासनमा बसिएन भने हामी अर्को बाटोमा जान सक्छौं ।’ बैंकबाट लिएको ऋण सही ठाउँमा सदुपयोग होस्, कच्चा पदार्थ किन्न लिएको ऋण कच्चा पदार्थ खरिद गर्नकै लागि जाओस् भन्ने उद्देश्यले चालु पुँजी कर्जासम्बन्धी व्यवस्था गरिएको उनले स्पष्ट पारे ।

चालु पुँजी कर्जा मार्गदर्शनसम्बन्धी व्यवस्था पर्याप्त अध्ययनपछि ल्याइएको उनको भनाइ छ । उनले भने ‘राष्ट्र बैंकले बजारलाई सुधार गर्न ल्याएका नीतिमा निजी क्षेत्र असन्तुष्ट देखिएका छन् । चालु पुँजी कर्जा मार्गदर्शन सबैसामु छलफल गरी सल्लाह सुझावको आधारमा ल्याएका हौं । यो नीतिमा प्रशस्त ट्रान्जिक्सनका व्यवस्था गरिएको छ । यदि कसैलाई ठूलो रकम कर्जा चाहिन्छ, चालु पुँजी पर्मानेन्ट छ भने ५ वर्ष भन्दा माथिको कर्जा लिन पाउने व्यवस्था त्यहाँ छ ।’

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र पछिल्लो समय तुलनात्मक रुपमा सुधार हुँदै सहज अवस्थामा आएको बताए । पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको, अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजिरहेको उनको भनाइ छ । यद्यपि अर्थतन्त्रमा अझै केही समस्या रहेको उनले बताए । ‘पछिल्लो एक वर्षदेखि वाह्य क्षेत्रको दबाबमा रहेका छौं । केही वस्तुहरुको आयातमा प्रतिबन्ध पनि लगाइयो । राष्ट्र बैंकले आयात गर्न मार्जिनको समेत व्यवस्था गर्‍यो । त्यसको असर स्वरुप पछिल्लो ३ महिनाको तथ्याङ्क हेर्दा १२ अर्बको शोधानान्तर स्थिति बचत हुन गयो । गत वर्षको यही अवधि हेर्दा ८८ अर्ब रुपैयााँ शोधानान्तर घाटा थियो । विस्तारै अहिले बजारमा देखिएको तरलता सहज हुँदै ब्याजदरमा भएको वृद्धिलाई बजारले नै करेक्सन गर्ने आशामा छौं ।’

प्रकाशित : मंसिर १५, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

रंगमञ्चको दुनियाँमा नयाँ खोज : ‘इम्ब्रिओनिक’

‘हामीले जे सिक्यौं, जे गर्दै आएका थियौं त्यही मात्र गर्नुपर्छ भन्ने छैन । केही अभ्यास गरौं र अनुभव बटुलौं ।’
सुशीला तामा‌ङ

काठमाडौँ — कालो पृष्ठभूमिमा नीलो रङको प्रकाशमा गुञ्जिरहेको संगीतको अनौठो धून । त्यसैमा रुमलिरहेको मानव अस्तित्व । प्रकाश केही उज्यालो हुन्छ र दर्शकले भुँइमै लडेका तीन जना मानवरूपी शरीरहरू अझै प्रस्ट देख्छन् । ढाकिएको गोप्य अंगबाहेक पूरै 'न्युड' शरीरमा पोतिएका सेता रङले अझै दर्शकको ध्यान तानिन्छ ।

यी सबै थापागाउँस्थित मण्डला थिएटरमा जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार मञ्चन भएको प्रस्तुति ‘इम्ब्रिओनिक’का दृश्य हुन् । केदारनाथ पौडेलद्वारा लेखन तथा निर्देशन गरिएको यसलाई नेपाली प्रयोगात्मक प्रस्तुतिका रुपमा हेरिएको छ ।

झन्डै आधा घण्टासम्म संगीतको तालमा तीन मानवरूपी शरीरहरु संगीतको तालमा आफ्नै अस्तित्वको लागि संघर्षरत गरेजस्तै देखिन्छ । जब दुई मानव अस्तित्वहरु निकै कष्टपूर्ण तरिकाले उभिएर पाइला अगाडि चाल्छन्, तब भुँइमा सेतै प्लास्टिकभित्र गुम्सिएको अर्काे मानवरूपी अस्तित्व चलमलाउँछ । निकै छलमलावट, छटपट्टीपछि तिनै अस्तित्व पनि बाहिर संसारमा आइपुग्छ र आफूसँगै सम्पूर्ण चिजबिजलाई नियाल्दै अगाडि बढ्छ । सँगसँगै मन्ददेखि तीव्र गतिमा बजिरहेको संगीतको धुन, तिनै जनाको सुस्त गति, तिनको मौनता र अभिव्यक्तिले दर्शकको मनमा एक ब्रह्माण्डको झलक दिँदै जान्छ । जहाँ संगीत र जीवात्माको स्वासको गतिबाहेक केवल शून्य र मौनता भरिएका हुन्छन् ।

शब्द, बोली र संवादबिना नै ती अस्तित्वहरूले केवल खोजी जारी राख्छन्, आफ्नो पाइला अगाडि बढाइराख्छन् र शून्य भावले संसार नियाली राख्छन् । नीलो रङमा तुवाँलोले भरिन्छ । कालो पृष्ठभूमि, नीलो प्रकाश र सेतो रङको तुवाँलो भरिएको परिवेशले ठ्याक्कै चन्द्र, सूर्य, तारा र त्यसैमा बाँचिरहेको एक जीवित प्राणीको झलक दिन्छ । दर्शक पूर्ण शून्य हुन्छन् । मन र मस्तिष्कमा अनेक तर्कना चल्छन् । त्यही क्रममा प्लास्टिकभित्र संसार नियाल्न आएको मानवरूपी अस्तित्वको दर्दनाक आवाजले दर्शकको ध्यान भंग हुन्छ । उसको रुवाइ, छटपटीले शून्य समयमा भावुकता थपिन्छ । लाग्छ सम्पूर्ण ब्रह्माण्डकै अस्तित्व संकटमा छ । संगीतको धून झनै कारुणिक र अप्रिय बन्दै द्रुत गतिमा चल्छ । सोही गतिमा तीन मानवरुपी अस्तित्व ढलेसँगै प्रस्तुतिले बिट मार्छ । हलमा तालीको गडगडाहट निकै लामो समयसम्म चल्छ ।

झट्ट हेर्दा अमूर्त फर्ममा प्रस्तुत भएको यस प्रस्तुति फर्ममेन्स कलाझैं लाग्छ । जहा कुनै संवाद छैन तर कलाकार, विचार, दृष्टिकोण, संगीत र शरीरका हाउभाउ सम्मिलित छन् । प्रस्तुति हेर्दै गर्दा दर्शकको दिल र दिमागमा अनेक प्रश्न र तिनैमा सवालजवाफ हुँदै जान्छन् । प्रस्तुतिले ‘मानव तथा सम्पूर्ण प्राणीको जीवन चक्रलाई त इंगित गरिरहेको छैन’, ‘के यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षलाई बताइरहेको छ’, ‘के यो पृथ्वी र सम्पूर्ण बह्माण्डको परिवेश हुन सक्ला ?’ यिनै प्रश्नहरु प्रस्तुति हेर्दै गर्दा आम दर्शकको मस्तिष्कमा जोडले चल्न सक्छ ।

‘यसलाई नाटक मान्ने कि फर्ममेन्स कला ?’ प्रस्तुतिमा समेत देखिएका यसका लेखक तथा निर्देशक पौडेललाई प्रश्न गर्दा यसको नाम र परिभाषा दिन आम दशर्कलाई छोडेको सुनाउँछन् । उनका अनुसार नेपाली रंगमञ्चमा नयाँ किसिमको प्रस्तुति दिने उनको यो सानो प्रयास हो । ‘अहिले नाट्य महोत्सवलाई विविधताको उत्सवका रूपमा समेत लिइएको छ’, उनले भने,‘अहिलेसम्म निर्देशकको रुल, डाइलगलाई फलो गरेर चलेको हाम्रो रंगमञ्चमा केही नयाँ गरौं न भन्ने मेरो यो प्रयोगात्मक प्रस्तुति हो ।’

गत मार्च महिनामा इटलीस्थित पिसामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसिया लगायतका साहित्य, संगीत, रंगमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट रंगकर्मी पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति तयार भएको पौडेलले बताए । उनले भने,‘हामीले एकैपटक मात्र पहिलो र अन्तिम हुने गरी प्रस्तुति दिने सोचेका थियौं तर नाट्य महोत्सव र रंगमञ्चमै फरक कुरा किन नगर्ने भन्ने विचारले प्रस्तुति दिएका हौं ।’

विगत १३ वर्षदेखि उनी रंगकर्ममा नै छन् । नाट्य क्षेत्रमा केही फरक ल्याउनुपर्छ र सम्पूर्ण रंगकर्मीहरूले केही न केही नयाँपन सिर्जना गर्नेतिर उन्मूख हुनुपर्छ भन्ने उनको बुझाइ छ । पृथ्वी तथा सम्पूर्ण ब्रह्माण्डमै सबैको जीव तथा वस्तुको आ–आफ्नै अस्तित्व छ । सुरुवात र अन्त्यपनि सबैमा निहित हुन्छ र यसैलाई पौडेलले कलामा प्रतीकात्मक रूपमा प्रस्तुत गरेका थिए । केही समयअघि पोखरास्थित विन्धवासिनी मन्दिरमा कमल तथा विभिन्न प्रजातिका फूलहरुसँगै ढुंगामुनि फूलेको प्याउली फूल उनले देखेका थिए । प्याउलीको सौन्दर्य र त्यसको अन्त्यसम्मको दृश्यले पछिल्लो प्रस्तुतिका लागि अझै उत्साह थपिएको उनले प्रस्ट्याए ।

प्रस्तुतिमा उनीसहित दुई जना कलाकारहरु अनिल तिमिल्सिना र अर्जुन गुरुङ सहभागी थिए । प्रस्तुतिपूर्व प्रकाश, कलाकारको स्थान, गति, शरीरको चालको तिव्रता, प्रयुक्त संगीतको छनौट कुनै पनि कार्य नगरिएको पौडेलले सुनाए । ‘कलाकारहरुले जे सोच्छन्, जे गर्छन् त्यो मनबाट गरियो भने प्राकृतिक र अर्काे नयाँ अनुभव बटुल्न सकिन्छ । मेरो उद्देश्य त्यही नयाँ चिज खोज्नु हो’ उनले थपे । परम्परागत रूपमा चलेका थिएटर र नाटकको अभ्यासमा यसले केही नौलो कुरा सिक्न सघाउ पुर्‍याउनेमा उनी विश्वस्त छन् । उनको आग्रह छ, ‘हामीले जे सिक्यौं, जे गर्दै आएका थियौं त्यही मात्र गर्नुपर्छ भन्ने छैन । केही अभ्यास गरौं र अनुभव बटुलौं ।’

संगीत प्रयोगमा बिमल दाहाल थिए । केही न केही खोज गरिरहेको जस्तो देखिने कलाकारहरुको शरीरको चाल र मुहारको भावभंगी सुन्दर थिए ।

प्रकाशित : मंसिर १५, २०७९ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×