अर्थतन्त्र संकटमा पुगिसकेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौँ — अहिलेको अवस्थामा देशको अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । खासगरी कोभिड–१९ को संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको उनले दाबी गरे ।

अर्थतन्त्र संकटमा पुगिसकेको छैन : अर्थमन्त्री शर्मा

आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सवका उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिति लगायत केही सूचकमा समस्या देखिएको छ । ती पनि पछिल्लो समयमा सुधारोन्मुख छन्,’ उनले भने, ‘यस्तो अवस्थामा अर्थतन्त्र संकटमा गयो भनेर प्रचारबाजी गरियो, जुन एकदमै गलत हो ।’ अर्थतन्त्रमा भएका समस्या समाधान गर्न पनि सरकार सक्षम रहेको उनको दाबी थियो । नेपाली अर्थतन्त्रको आफ्नै किसिमको विशेषता रहेकाले त्यसलाई सोही अनुसार नै समस्याको समाधान खोज्नुपर्ने उनले बताए ।

विदेशी मुद्रा सञ्चितिमा समस्या आएकाले सरकारले केही वस्तुको आयात बन्द गरेको छ । चार पांग्रे निजी सवारीसाधन, ३ सय डलरमाथिका स्मार्टफोन, तयारी विदेशी मदिरा र १५० सीसीमाथिका मोटरसाइकल आयातमा मंसिर मसान्तसम्मका लागि प्रतिबन्ध लगाइएको छ । यहीं कारण राजस्व संकलनमा पनि केही कमी आएको छ । तर, प्रशासनिक संयन्त्रमा सुधार/व्यवस्थापन गरेर पनि राजस्व सुधार गर्न सकिने शर्माले बताए । प्रतिनिधि सभा र प्रदेशको निर्वाचनका क्रममा सरकारले प्रशासनिक संयन्त्रमा सुधारको काम धेरै गर्न नसकेको उनले स्वीकार गरे ।

प्रकाशित : मंसिर १५, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?