वैदेशिक रोजगारीमा रहेकालाई पहिलो पटक खुल्यो आईपीओ, कसरी भर्ने ?- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

वैदेशिक रोजगारीमा रहेकालाई पहिलो पटक खुल्यो आईपीओ, कसरी भर्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कालिन्चोक दर्शनले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकालाई पहिलो पटक १ लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

विदेशमा रहेका नेपालीले 'मेरो सेयर' अनलाइन प्रणालीबाट आईपीओका लागि आवेदन दिन सक्नेछन् । अंकित मूल्य प्रतिकित्ता १ सयका दरले न्यूनतम १० र अधिकतम १० हजार ८ सय कित्तासम्मका लागि उनीहरुले आवेदन दिन सक्नेछन् । मंसिर* २८ गतेसम्म आवेदन दिन पाउने म्याद तोकिएको छ । वैदेशिक रोजगारमा गएकाले रेमिट्यान्स बचत खातामार्फत मात्र आईपीओको रकम भुक्तानी गर्नुपर्नेछ । त्यस्तै रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था छ ।

यसरी वैदेशिक रोजगारमा गएकालाई छुट्याइएको आईपीओ पूरा बिक्री नभएमा सो आईपीओ समेत सर्वसाधारणलाई बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई आईपीओको कोटा छुट्याउने व्यवस्था गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओबाट १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकालाई आरक्षण गरिन थालेको हो ।

विदेशमा रहेकाले कसरी भर्ने आइपीओ ?

अनलाइन प्रणाली 'मेरो सेयर' खुलिसकेपछि डिम्याट खाता नम्बर भएको संस्थाको नाम छनोट गर्ने, 'युजर' नाम र 'पासवर्ड' राखेर लगिन गर्न सकिन्छ । त्यसपछि खुलेको पेजमा बायाँतिर रहेको 'माई आस्बा'मा क्लिक गरिसकेपछि कालिन्चोक दर्शनमा अप्लाई गर्नुपर्छ, एउटा अनलाइन फारम खुल्छ । खुलेको फारममा रेमिट्यान्स खाता रहेको बैंक नाम, बैंक खाता नम्बर, सीआरएन नम्बर, भर्न चाहेको सेयर संख्या लगायत विवरण भरी 'सबमिट' गरेपछि आफ्नाे ४ अंकको गाेप्य नम्बर राखेर कन्फर्म गर्नुपर्छ ।

(*सच्याइएको)

प्रकाशित : मंसिर १४, २०७९ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

कतारको स्वीकारोक्ति : विश्वकप तयारीका क्रममा ४००-५०० श्रमिकको मृत्यु भएको छ

गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — यतिबेला कतारमा विश्वकप फुटबल-२०२२ आयोजना भइरहेको छ । समूह चरणको अन्तिम खेल सुरु भइसकेका छन् विश्वकपको रौनक हेर्नका लागि संसारभरबाट दर्शक कतार पुगेका छन् ।

तर यसैबीच विश्वकप आयोजनाका लागि पूर्वाधार निर्माणमा श्रमिकको शोषण गरेको र तयारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै कतारी सरकारको कडा आलोचना पनि हुँदै आएको छ ।

कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब दिइरहेका छन् । यसैबीच विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण वा आयोजना तयारीका क्रममा ४ सयदेखि ५ सय श्रमिकको मृत्यु भएको स्वीकार गरेका छन् ।

पियर्स मोर्गनसँगको कुराकानीमा हसन अल थवादी । तस्बिर : पियर्स मोर्गन अनसेन्सर्डको युट्युबबाट स्क्रिनग्र्याब गरिएको हो ।

'पियर्स मोगर्न अनसेन्सर्ड' टेलिभिजन सोमा अन्तर्वार्ताका क्रममा थवादीले भनेका छन्, 'अनुमान त्यस्तै ४ सयजति हो । ४ सयदेखि ५ सयकै बीचमा होला । मसँग ठ्याक्कै संख्या त छैन ।' उनले त्यसमध्ये पनि काम गर्ने क्रममा ३ जनाको मृत्यु भएको ३७ जनाको अन्य अवस्थामा मृत्यु भएको बताएका छन् । उनले आप्रवासी कामदारको मृत्युबारे कतार सरकार पारदर्शी भएको दाबी समेत गरेका छन् । 'एउटै मृत्यु पनि दु:खको कुरा हो । हामीले हरेक वर्ष कार्यक्षेत्रको अवस्थामा सुधार गर्दै लगेका थियौँ । कम्तीमा विश्वकप आयोजनास्थलचाहिँ सुधार गरेका थियौँ ।'

अल थवादीको अन्तर्वार्ता प्रसारण भएपछि अधिकारवादी समूह फेयर स्क्वायरले कतार जिम्मेवार र उत्तरदायी रूपमा प्रस्तुत नभएको आरोप लगाएको छ । फेयर स्क्वायरलाई उद्धृत गर्दै गार्डियन लेख्छ, 'श्रमिकको मृत्युको मुद्दामा कतारले अक्षम्य पारदर्शिता देखाइरहेको छ भन्ने यो पछिल्लो उदाहरण हो । हामीलाई वास्तविक तथ्यांक र सूक्ष्म अनुसन्धान चाहिन्छ । अस्पष्ट तथ्यांक र सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता पर्याप्त हुँदैन । फिपा र कतारले अझै थुप्रै प्रश्नको उत्तर दिनुपर्नेछ । यी श्रमिकको कसरी र कहाँ मृत्यु भयो भन्नेबारे र आश्रित परिवारले क्षतिपूर्ति पायो/पाएन भन्ने स्पष्ट जवाफ आउनुपर्छ ।'

कतारको विश्वकप आयोजनासम्बन्धी उच्च समितिले सन् २०१४ मा रंगशाला निर्माण सुरु भएयता मात्र ३ जनाको कामको सिलसिलामा मृत्यु भएको दाबी गरेको छ । तर गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ । कतारले सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएको थियो । कतारले सन् २०११ देखि पूर्वाधार निर्माण सुरु गरेको थियो ।

गार्डियनका अनुसार सन् २०११ देखि २०२० सम्म १ हजार ६ सय ४१ नेपाली श्रमिकको मृत्यु भएको छ । तर यो तथ्यांकबारे नेपाल सरकारले आधिकारिक रूपमा भने केही जानकारी गराएको छैन । त्यस्तै सबैभन्दा बढी २ हजार ७ सय ११ भारतीय श्रमिकको मृत्यु भएको छ । त्यस्तैगरी बांग्लादेशका १ हजार १८, पाकिस्तानका ८ सय २४ र श्रीलंकाका ५ सय ५७ श्रमिकको मृत्यु भएको गार्डियनको दाबी छ ।

प्रकाशित : मंसिर १४, २०७९ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×