साना उद्योगमा घट्यो लगानी प्रतिबद्धता

काठमाडौँ — अघिल्लो वर्षको तुलनामा गत वर्ष लघु, घरेलु तथा साना उद्योगमा लगानी प्रतिबद्धता ११.२८ प्रतिशतले घटेको छ । उक्त अवधिमा उद्योग दर्ता गर्नेको संख्यासमेत २१.९६ प्रतिशतले घटेको उद्योग विभागको तथ्यांक छ । यससँगै देशभर हालसम्म लुघ, घरेलु तथा साना उद्योगको संख्या ५ लाख ८७ हजार ८ सय २ पुगेको छ ।

साना उद्योगमा घट्यो लगानी प्रतिबद्धता

आर्थिक वर्ष ०७६/७७ मा घटेको लघु, घरेलु तथा साना उद्योगको संख्या र लगानी प्रतिबद्धता दोस्रो लहरको कोरोना संक्रमण कम भएसँगै आर्थिक वर्ष ०७७/७८ मा बढेको थियो । तर गत वर्ष पुनः घटेको हो । आर्थिक वर्ष ०७६/७७ मा १ खर्ब ११ अर्ब १५ करोड ९४ लाख ७ हजार रुपैयाँ लगानी गर्न भन्दै ४८ हजार ८ सय ५४ वटा यस्ता उद्योग दर्ता भएका थिए । अघिलो वर्ष एक खर्ब ८५ अर्ब २० करोड ५५ लाख ४ हजार रुपैयाँ लगानीका ८३ हजार ३ सय ८६ वटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । गत वर्ष १ खर्ब ६४ करोड २९ करोड ९७ लाख ३६ हजार रुपैयाँ लगानीका ६५ हजार ६९ दर्ता भएका हुन् ।

आर्थिक वर्ष ०७७/७८ मा ४३ हजार ५ सय ६६ जना महिला र ४६ हजार ३ सय ५८ जना पुरुष उद्यमी थिए्, जसले ३ लाख ११ हजार ६ सय ९३ जनालाई रोजगारी प्रस्ताव गरेका थिए । आर्थिक वर्ष ०७८/७९ मा महिला उद्यमी बढेको विभागको तथ्यांक छ । विभागका अनुसार गत वर्ष ४१ हजार ८७४ महिला उद्यमी पुगेका छन् । पुरुष उद्यमी भने ३६ हजार ४ सय १५ जना छन् । यी उद्यमीले २ लाख ४५ हजार ८८८ जनालाई रोजगारी प्रस्ताव गरेका छन् ।

विभागले आठ वर्गीकरणमा राखेर लघु, घरेलु तथा साना उद्योग दर्ता गर्दै आएको छ । यसमा उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वनजन्य, खनिज, पर्यटन, सेवामूलक, निर्माण र सूचना तथा प्रविधि उद्योग छन् । आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगमा ४८ हजार ८ सय ५२ र सेवामूलकमा १८ हजार २१८ दर्ता भएका थिए । गत वर्ष पनि कृषि तथा वनजन्य उद्योगमा ३९ हजार ७ सय ५५ र सेवामूलकमा १४ हजार २२६ उद्योग दर्ता छन् । तर आर्थिक वर्ष ०५१/५२ देखि हालसम्मको तथ्यांक हेर्दा सेवामूलक उद्योग नै बढी दर्ता भएको देखिएको छ । आर्थिक वर्ष ०५१/५२ देखि हालसम्म सेवामूलकमा १ लाख ९० हजार २३४ उद्योग दर्ता छन् ।

औद्योगिक व्यवसाय ऐन ०७६ ले लघु उद्यम र घरेलु उद्योगबाहेकको १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएको उद्योगलाई साना उद्योगको वर्गीकरणमा राखेको छ । घरजग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पुँजी रहेका उद्योगलाई लघु, परम्परागत सीप र प्रविधिमा आधारित हुनेलाई घरेलु उद्योगमा वर्गीकरण गरेको छ ।

प्रकाशित : मंसिर १४, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?