२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पोखरामा सातौं पर्वतीय महोत्सवको तयारी

पोखरा — अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले पोखरामा सातौं पर्वतीय महोत्सव गर्ने भएको छ । संघले मंसिर २४ र २५ मा पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा महोत्सव गर्ने भएको हो ।  

पोखरामा सातौं पर्वतीय महोत्सवको तयारी

संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिवसका अवसरमा संघले नेपालमा वर्सेनि महोत्सव आयोजना गर्छ । महोत्सवमा पर्वतीय वातावरण, जैवीक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको संघले जनाएको छ । संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो ।

पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले जानकारी दिए । ‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ उनले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई संघले प्राथमिकतामा राखेको छ । महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछ । यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पोखरामा पर्यटक वृद्धि गर्ने विषयमा पनि बहस हुनेछ ।

संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार अनुसार यसपल्ट महोत्सवमा स्थानीयलाई नै जिम्मेवारी दिइएको छ । ‘पर्वतीय क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्छौं, जुन बजारमा आएको छैन,’ उनले भने, ‘प्रचारप्रसार नभएका वस्तुहरू स्टलमा राख्दा त्यहाँ आउने दर्शकले जानकारी पाउनुहुन्छ । जसले गर्दा बिक्री वितरण र उत्पादनमा सहयोग गर्छ ।’

महोत्सवको सहसंयोजकमा संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र सदस्य सचिवमा निर्मला न्यौपाने छिन् । मूल आयोजक समिति सदस्य–सचिव न्यौपानेले महोत्सवले जनमानसमा पर्वतारोहण पर्यटन सम्बन्धी चेतना अभिवृद्धि गराउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिन् । संघका सल्लाहकार गणेश गुरुङले पर्वतीय महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा बौद्धिक बहसमा महत्त्वपूर्ण भूमिका निभाउने बताए ।

महोत्सव मूल आयोजक समिति सदस्य तथा पोखरा पर्यटक परिषद् अध्यक्ष पोखरामा पर्यटकको संख्या बढाउन पनि महोत्सवले भूमिका खेल्ने बताए । उनले भने, ‘तीन वर्षमा हामीले पर्यटन कसरी दोब्बर बनाउन सकिन्छ भन्ने विषयमा पनि बहसमूलक कार्यक्रम सञ्चालन हुँदैछ,’ उनले भने, ‘यस्ता महोत्सव पोखराकै गहनाका रुपमा लिनुपर्छ ।’ यसपल्टको अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ छ । जसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ ।

प्रकाशित : मंसिर १३, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?