२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ई-सिम राख्नुअघि मोबाइलमा चल्ने/नचल्ने यकिन गर्न आग्रह

काठमाडौँ — नेपाल टेलिकमले पर्याप्त तयारीपछि ग्राहकलाई ई–सिम वितरण गरेको बताइरहँदा कतिपय मोबाइलमा ई–सिमको सफ्टवेयर इन्स्टल गरेपछि डिभाइस नै बिग्रने समस्या देखिएको छ । आफ्ना मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिम राख्न हाल कम्पनीले सेवाग्राहीलाई आग्रह गरेको छ ।

ई-सिम राख्नुअघि मोबाइलमा चल्ने/नचल्ने यकिन गर्न आग्रह

केही सेवाग्राहीले ई–सिम राख्दा फोनबाट आईएमईआई नम्बर हराएको र मोबाइल डिभाइस नै करप्ट (बिग्रिने) भएको गुनासो गरेका थिए । विशेषत: गुगलका पिक्सेल फोनमा यस्तो समस्या देखिएपछि प्रयोगकर्ताले पिक्सेल हेल्प कम्युनिटीमा समेत जिज्ञाशा राखेका थिए । प्रत्येक डिभाइसमा परीक्षण सम्भव नभएकाले यस्तो हुन सक्ने टेलिकमले बताएको थियो ।

‘मोबाइल सेटमा ई–सिम इन्स्टल गर्न क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ,’ कम्पनीले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिम प्रयोग गर्न अनुरोध छ ।’ यद्यपी, त्यो बेला टेलिकमका ग्राहक सेवा केन्द्रमा टाँसिएको ‘ई–सिम सर्पोटेड ह्यान्डसेट’ को सूचीमा रहेकै फोन सेटमा पनि समस्या देखिएको थियो ।

कम्पनीले हाल देशका सम्पूर्ण दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण गरिरहेको जानकारी दिएको छ । कम्पनीले भदौ ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ई–सिम वितरण सुरु गरेको हो । पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले नि:शुल्क ई–सिम उपलब्ध गराइरेहको जनाएको छ ।

यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ । त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘एड मोबाइल प्लान’ वा ‘एड डाटा प्लान’ भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यत: ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

एनसेलले पनि ई सिम वितरण गर्न थालेको छ । हेर्नुहोस् - [एनसेलको सिमकार्ड कसरी ई-सिममा अपग्रेड गर्ने ?]

प्रकाशित : मंसिर १३, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?