१९ महिनापछि फर्कियो ग्वाङझाउबाट चाइना साउदर्न एयरलाइन्स

काठमाडौँ — सार्स–कोभिडको नयाँ प्रजाति डेल्टा भेरियन्ट देखा परेपछि चीनको व्यापारिक सहर ग्वाङझाउदेखि काठमाडौं सिधा उडान स्थगन गरेको चाइना साउदर्न एयलाइन्सले १९ महिनापछि नेपालमा पुन: उडान सुरु गरेको छ ।

योसँगै चीनबाट नेपाल उडान गर्ने वायुसेवाको संख्या दुई पुगेको छ । कोभिडअघि चीन र हङकङबाट ६ वटा वायुसेवाले नेपालका लागि उडान गर्दै आएका थिए । चाइना साउदर्न काठमाडौं कार्यालयका अनुसार, मंगलबार दिउँसो पौने २ बजे उक्त एयरलायन्सको उडान नम्बर सीजेड–६०६७ को विमान १८ जना यात्रु ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो भने यहाँबाट ६५ यात्रु लिएर चीनको ग्वाङझाउ फर्किएको थियो ।
चाइना साउदर्नका डेपुटी सेल्स म्यानेजर धिरज श्रेष्ठका अनुसार, चीनका विभिन्न सहरमा अझै आइसोलेसनमा अनिवार्य बस्नु पर्ने नियम कायमै भएकाले अहिले यस एयरलायन्सले सातामा एक दिन मंगलबार मात्रै ग्वाङझाउ–काठमाडौं– ग्वाङझाउ उडान हुने छ ।
श्रेष्ठका अनुसार, चीनले अन्तर्राष्ट्रिय उडान बिस्तारै खुला गर्दै गइरहेको छ । एसियामा भारतमा अझै चीनबाट उडान खुला भइसकेको छैन । ‘अहिले एसियामा सिंगापुर, मलेसिया, बंगलादेश अनि नेपालमा उडान खुला भयो, बिस्तारै अरु मुलुकमा पनि उडान खुल्दै जाने छ,’ श्रेष्ठले भने ।
कोभिडअघि चाइना साउदर्न अस्ट्रेलिया, अमेरिका, क्यानडालगायतका मुलुकमा जाने नेपाली विद्यार्थी, अभिभावक र व्यापारीहरूको रोजाइमा पर्ने चिनियाँ वायुसेवा हो । तर, अहिले चाइना साउदर्नले एउटा विन्दुदेखि अर्को विन्दुसम्मको उडानमात्रै खुला गरेको छ । अर्थात ग्वाङझाउ–काठमाडौंका लागि मात्रै ओहोरदोहोर गर्ने चीनमा अध्ययनरत नेपाली विद्यार्थी, त्यहा किनमेल गर्न जाने व्यापारीले मात्रै टिकट पाउने छन् ।
‘युरोप अमेरिका वा चीनबाट अहिले पर्यटकले यात्रा गर्न पाउने छैनन्,' श्रेष्ठले भने, ‘उता चीनमा अझै ५ दिन होटल क्वारेन्टाइन, काठमाडौंस्थित चिनियाँ दूतावासको वेबसाइटबाट हरियो बारकोड अनिवार्य लिनुपर्ने र यात्रा गर्नु भन्दा ४८ घन्टाअघिको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य चाहिने नियम छ ।’ त्यस्तै चीनको ग्वाङझाउबाट अर्को प्रान्तमा जानुपर्नेले त्यहाँको सरकारले बनाएको होम क्वारेन्टाइन अनिवार्य पालना गर्नुपर्ने छ ।
नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, कोभिडअघि काठमाडौंका लागि चीनको कुनमिङबाट चाइना इस्टर्न, ल्हासा र छेन्दुबाट सिचुवान एयरलायन्स र तिब्बत एयरलायन्सले गर्ने व्यवसायिक उडान अझै सुरु भएका छैनन । कोभिडका कारण नेपाल उडान बन्द गर्ने चिनियाँ सरकार स्वामित्वको एयर चाइनाले भने छेन्दुबाट उडान सुरु गरिसकेको छ ।
उनका अनुसार, कोभिडअघि भारतबाट नेपाल उडान गरिरहेको स्पाइसजेट, बैंककको थाई एयर र कुवेतको वातानिया एयरको नेपालमा उडान छैन । कोभिडपछि नयाँ वायुसेवाका रूपमा प्राधिकरणले कुवेतको कुवेत एयरवेज, बैंककको थाई लायन र थाई स्माइललाई व्यावसायिक उडानका लागि अनुमति दिएको छ ।
प्रकाशित : मंसिर १३, २०७९ १६:१७