चार महिनामा २ अर्बको ल्यापटप आयात

गत वर्षकाे पहिलाे चाैमासिककाे तुलनामा यस वर्ष ६० प्रतिशतले घट्यो ल्यापटप आयात

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ११ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागका अनुसार साउन, भदौ, असोज र कात्तिकमा ३१ हजार ४१० वटा ल्यापटप तथा नोटबुक आयात भएको हो । गत वर्षको सोही अवधिका तुलनामा भने यस वर्ष ६० दशमलव ६९ प्रतिशतले ल्यापटप आयात घटेको विभागको तथ्यांक छ । 

चार महिनामा २ अर्बको ल्यापटप आयात

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सबैभन्दा बढी चीनबाट २ अर्ब ४ करोड ४६ लाख ८७ हजार रुपैयाँ बराबरको ३० हजार २५७ वटा, मलेसियाबाट १ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ३३९ वटा ल्यापटप आयात भएको छ । यस्तै संयुक्त राज्य अमेरिकाबाट १ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १४६ वटा आयात भएको विभागले जनाएको छ । मुलुकमा अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, जर्मनी, हङकङ भारत, इटाली, कोरिया, कुवेत, कतार, पोल्याड लगायत विभिन्न मुलुकबाट ल्यापटप आयात हुने गरेको विभागको तथ्यांक छ ।

गत वर्षको पहिलो चौमासिकमा ५ अर्ब ३७ करोड ३८ लाख ६० हजार रुपैयाँ बराबरको ९५ हजार ७५९ वटा ल्यापटप आयात भएको थियो । गत वर्ष पनि सबैभन्दा बढी चीनबाट ५ अर्ब ९ करोड रुपैयाँ बराबरको ल्यापटप आयात भएको थियो । विभागका अनुसार गत वर्ष पुरा १२ महिनामा भने ११ अर्ब ४२ करोड ८० लाख ९५ हजारको ल्यापटप तथा नोटबुक आयात भएको थियो । सो १ वर्षको अवधिमा विभिन्न मुलुकबाट १ लाख ९० हजार ५१६ वटा आयात ल्यापटप तथा नोटबुक आयात गरिएको विभागले जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?