नेपालको उडान सुरक्षा मूल्यांकन गर्न युरोपियन युनियनको टोली आउँदै

काठमाडौँ — आफ्ना २७ वटा सदस्य राष्ट्रमा नेपाली वायुसेवालाई २०७० मंसिरदेखि लगाएको निषेध (कालोसूची) को ‘अन–साइट’ मूल्यांकन गर्न युरोपियन कमिसनको टोली पुन: नेपाल आउने भएको छ ।

नेपालको उडान सुरक्षा मूल्यांकन गर्न युरोपियन युनियनको टोली आउँदै

नेपालको हवाई सेवा प्रदायक तथा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै निकट भविष्यमै युरोपियन युनियनको टोली नेपाल भम्रण आउने जनाएको हो ।

कात्तिक २४ र २५ गते बेल्जियमको ब्रसेल्समा सम्पन्न सेफ्टी कमिटीको बैठक र उक्त बैठकपश्चात बुधबार सार्वजनिक गरिएको ईयू एयर सेफ्टी लिस्टबाट नेपाल अझै हटेको छैन ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावलीमा व्यवस्था गरिएको नियामक र सेवा प्रदायक कार्य विभाजन सम्बन्धमा मूल्यांकन गरिएको थियो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाल लागू गरिएको नयाँ प्रावधान तथा नेपालको उडान सुरक्षा निगरानी क्षमतामा अभिवृद्धि भएको र अन्तर्राष्ट्रिय उडान सुरक्षा मापदण्डको अनुकूल प्रगति भएको सन्दर्भमा नेपालमा स्थलगत भ्रमण गरी प्रमाणित गर्नु आवश्यक छ । तसर्थ युरोपियन एभिएसन सेफ्टी एजेन्सी तथा सदस्य राष्ट्रहरुको सहयोगमा युरोपियन कमिसनको नेपालमा निकट भविष्यमै भ्रमण गर्ने योजना रहेको छ ।’

प्राधिकरणका अनुसार, केही महिनामै काठमाडौंमा आउने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक(डीजी मूभ) ले नेतृत्व गर्ने टोलीले यहाको हवाई क्षेत्रको मूल्यांकन गर्ने छ ।

यसअघि असोज २० देखि २२ सम्म युरोपियन युनियन अन्र्तगतको असिस्टेन्ट मिसनले प्राधिकरण र केही वायुसेवामा भ्रमण तथा मूल्यांकन गरेको थियो । ईयूले नेपाल अझै आफ्नो सुरक्षा सूचीमै रहेको उल्लेख गर्दै यहाँको उडान सुरक्षाको क्षेत्रमा भएको प्रगति सम्बन्धमा जानकारी प्राप्त भएको विज्ञप्तीमा लेखेको छ ।

प्राधिकरणले आफ्नो नियमावली संशोधन गर्दै नियमनकारी निकाय र सेवाप्रदायकलाई एउटै महानिर्देशकले हेर्ने गरी कार्यविभाजन गरेको छ । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, अबको अनसाइट मूल्यांकनले प्राधिकरणको नयाँ नियमावलीको कार्यान्वनको अवस्था तथा क्षमताको अध्यावधिक गरिने छ ।

प्रकाशित : मंसिर १२, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?