चीनको होलसेल बजार 'यिवु'मा नेपाली उत्पादनको प्रवर्द्धन 

लक्ष्मी लम्साल

बेइजिङ — चीनको चच्याङ प्रान्तको व्यापारिक सहर 'यिवु'मा आयोजित २८औं मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्ना उत्पादनको प्रवर्द्धन गरेको छ । साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो । 

चीनको होलसेल बजार 'यिवु'मा नेपाली उत्पादनको प्रवर्द्धन 

पहिलो पटक नेपाली पेभेलियन बनाइएको र नेपालबाटै आएका ब्यापारीहरूले नेपाली थाङ्का, मूर्तिकला तथा संस्कृतिको प्रदर्शन गरेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले बताए । कोभिडका कारण बेइजिङबाट राजदूतावासका प्रतिनिधिहरू उपस्थित हुन सकेनन् । अन्य देशका कतिपय उच्च अधिकारीहरुले पनि भिडियोमार्फत् आ आफ्नो देशको उत्पादनको प्रवर्द्धन गरेका थिए ।

यिवु अन्तर्राष्ट्रिय एक्स्पो सेन्टरमा २४ देखि २७ तारिखसम्म आयोजित प्रदर्शनीमा नेपालले पर्यटनमा सम्भाव्यताबारेमा प्रचार गरेका थिए । विधिवत रुपमा २ वर्षदेखि क्रियाशील नेपाल यिवु चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु दुमरूले कतिपय चिनियाँ लगानीकर्ता नेपाल जान इच्छुक भए पनि चीनको कोभिड पोलिसीका कारण फर्किन गाह्रो हुने भएकाले पर्खिरहेको बताए ।

विश्वका विभिन्न देशका २ सय ३३ भन्दा बढी कम्पनीको आउजाउ हुने संसारको सबैभन्दा ठूलो यिवु होलसेल मार्केट संचालनमा आएको ४० वर्ष पुगेको छ । प्रदर्शनीलाई महत्त्व दिँदै जापान, फिनल्याण्ड, रुससहित ६ देशका १५ भगिनी सहरहरूले भिडियो मार्फत् भाग लिए । चीन–विदेश सम्बन्धका लागि महत्त्वपूर्ण आधार र बलियो समर्थनका रुपमा यो प्रदर्शनीलाई लिइएको चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका महासचिव युआन मिन्ताओले भिडियोमार्फत् बताए । उनले भने, 'सन् १९७३ देखि चीन–विदेशीमैत्री शहरहरूको भगिनी सम्बन्ध तीव्र भएको छ र अहिले चीनले पाँच महादेशलाई समेट्ने गरी मित्र र साझेदार सञ्जालको अन्तर्राष्ट्रिय सर्कल स्थापना गरेको छ।’ चीनले २७ देशहरूमा ५४ शहरहरूसँग भगिनी शहर सम्बन्ध र ३४ विदेशी शहरहरूसँग मैत्रीपूर्ण विनिमय सम्बन्धको विकासको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्रकाशित : मंसिर १२, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?