कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एनसेलको सिमकार्ड कसरी ई-सिममा अपग्रेड गर्ने ? 

काठमाडौँ — एनसेलका ग्राहकले अब आफ्नो सिमकार्डलाई ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन् । एनसेल आजियाटाले शुक्रबारदेखि आफ्ना ग्राहकलाई ई–सिम वितरण गर्न थालेको छ । अब ग्राहकले ई–सिम चल्ने मोबाइलमा यसको प्रयोग गर्न सक्नेछन् । 

एनसेलको सिमकार्ड कसरी ई-सिममा अपग्रेड गर्ने ? 

ई–सिम अर्थात 'इम्बेडेड सिम' हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो प्रयोगका लागि ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिप हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केहीगरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्ने एनसेलले जनाएको छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम पुन: सुरु गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै एनसेलले भनेको छ 'ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्छन् ।' कम्पनीका अनुसार नयाँ ग्राहकले कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पूरा गरी ई–सिम लिन सक्छन् । आफ्नो मोबाइलमा ई–सिम चल्ने/नचल्नेबारे एस्ट्रिक्स ह्यास ०६ ह्यास डायल गरी थाहा पाउन सकिनेछ । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा छ । त्यसैगरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा छ । ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढी ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ ।

प्रकाशित : मंसिर ११, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?