२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिलो चौमासिकमा आयकर र भ्याट सङ्कलन लक्ष्यभन्दा कम

रासस

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा अन्तःशुल्कतर्फको राजस्व मात्रै लक्ष्यअनुसार सङ्कलन भएको देखिएको हो ।

पहिलो चौमासिकमा आयकर र भ्याट सङ्कलन लक्ष्यभन्दा कम

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव नौ प्रतिशत बराबर सङ्कलन भएको छ । कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड ७ लाख ५८ हजार आयकर सङ्कलन गर्ने सरकारी लक्ष्य छ । यो अवधिसम्मको वास्तविक आयकर सङ्कलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ । गत आव २०७८/७९ को पहिलो चौमासिकमा ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार आयकर सङ्कलन भएको थियो ।

पहिलो चौमासिकमा भ्याट असूली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्तसम्ममा ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट सङ्कलन गर्ने सरकारी लक्ष्य रहेकामा ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको हो । त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्कतर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० अर्ब ६५ करोड ३८ लाख अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य राखिएकामा ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असुली भएको हो । सो असुली पहिलो चौमासिक लक्ष्यको १ सय १२ दशमलव ९२ प्रतिशत बराबर हो ।

त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्तसम्ममा एक अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य रहेकोमा ६४ करोड ४२ लाख बराबर मात्रै उठेको हो । शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधिसम्ममा ५३ करोड २३ लाख ५२ हजार शिक्षा कर उठाउने लक्ष्य रहेकामा ५० करोड ८६ लाख ९५ हजार मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा १ अर्ब ३६ करोड ११ लाख बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा १ सय ८३ दशमलव १५ प्रतिशत अर्थात् २ अर्ब ४९ करोड २९ लाख १६ हजार असुली भएको छ ।


प्रकाशित : मंसिर ११, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?