चर्को ब्याजविरुद्ध जुम्लाका व्यवसायी आन्दोलित- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

चर्को ब्याजविरुद्ध जुम्लाका व्यवसायी आन्दोलित

डीबी बुढा

जुम्ला — बैंक तथा वित्तीय संस्थाद्वारा लगाइएको चर्को ब्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्लाका उद्योगी तथा व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाउँदै तत्काल ब्याजदर फिर्ता गरिनुपर्ने माग राखेका छन् ।


उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई ज्ञापनपत्र बुझाउँदै चर्को व्याजदरले उद्योगी व्यवसायीको ढाडै सेकेको बताए । उनले भने,‘कोरोना महामारीका कारण कलकारखाना पूर्ण रुपमा प्रभावित छ । व्यापार व्यवसायमा तीव्र गिरावट आएको छ । झनै चर्को ब्याजदर बढ्दा नराम्ररी प्रभावित भएको छ । यो अवस्थामा बैंक तथा वितीय संस्थाले ब्याज बढाउनु असान्दर्भिक हो ।’

यस्तै उद्योगीहरूलाई सहजिकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्पडेक्स स्थापना गर्नुपर्ने व्यवसायीहरूको माग छ । घरदैलो तथा घुमन्ते व्यवसायहरूलाई कानुनी दायरामा ल्याएर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने पनि उनीहरूले जारी गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

तर व्यवसायीक र संरक्षणका लागि राखिएका माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने उनीहरूले चेतावनी दिएका छन् । ज्ञापनपत्रमा भनिएको छ, ‘विकासोन्मुख अवस्थामा रहेको नेपालमा विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) बाट उद्योगधन्दा कलकारखाना थला परेका छन् । मजदुर तथा कर्मचारीहरू कटौती गर्नुपर्ने अवस्था, उत्पादनमा कमी, इन्धनमा भएको मुल्यवृद्धिले पीडामा परेका उद्योगी व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदरका कारण पीडामा परेका छन् ।’ प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले व्यापारीहरूको माग सम्बोधनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित : मंसिर ११, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा एमाले : प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो 

डीबी बुढा

जुम्ला — जुम्लामा मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे ।


तर समानुपातिकमा नेकपा एमालेले १० हजार ५ सय ४८ मत पाएको छ । यो मतपरिणाम हेर्दा प्रत्यक्षभन्दा समानुपातिकमा ४ हजार बढी मत एमालेको आएको छ । प्रदेशमा भने दोस्रो स्थानमा छ । कांग्रेसले प्रदेशमा ९ हजार ३ सय ४६ मत ल्याएर पहिलो स्थान ओगटेकोमा एमालेले ९ हजार २ सय ९४ मत ल्याएको हो ।

नेकपा एमालेका जिल्ला सचिव धनकृष्ण पाण्डे व्यक्तित्व हेरेर पनि मत बढेको हुन सक्ने बताए । उनले भने, ‘चारवटा मतपत्र थिए । मतदाता अलमलिए होलान् । जसले गर्दा प्रत्यक्षमा कम मत आयो । समानुपातिकमा बढी आउन पुग्यो ।’ प्रत्यक्षमा योगीलाई पनि पार्टीले अब्बल नै ठानेर छनोट गरेको बताए । ‘पार्टीले अब्बल ठान्यो, जनताले पत्याएनन् त के गरौं’ उनले भने । प्रत्यक्षमा एमाले चौथो हुनुमा सिंजा क्षेत्रबाट ज्ञानबहादुरको उम्मेदवारीले पनि प्रभाव पारेको देखिन्छ । सिंजा क्षेत्रमा सिंजा, हिमा, कनकासुन्दरी र तिला गाउँपालिका पर्छन् ।

सिंजाले ज्ञानबहादुर शाहीलाई प्रत्यक्षतर्फ मतदान गरेकोले एमालेको कम आएको ठहर छ । युवा अगुवा रामसिंह रावल समानुपातिक उम्मेदवारका आधारमा पनि मत परिणाम बढेको हुन सक्ने बताउँछन् । उनले भने, ‘हरेक पार्टीभित्र राम्रा नराम्रा नेताहरु अवश्य हुन्छन् । जसका आधारमा मतदाताले पनि मूल्यांकन गरेर बसेका हुन्छन् । मतदाता अनुकुलको उम्मेदवार समानुपातिकभित्र परेपछि मत बढी गएको हुन सक्छ ।’

तर नेकपा एमालेभित्र प्रत्यक्षभन्दा समानुपातिक मत धेरै ठूलो अन्तरमा देखिएपछि तीब्र असन्तुष्टि देखिन्छ । नेकपा एमाले चन्दननाथ नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायाले सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेको सबै संरचना पुनर्गठन हुनुपर्ने भनाइ राखेका छन् ।

समानुपातिकमा कांग्रेसबाट कान्तिका सेजुवाल, नेकपा एमालेबाट मेनका पछाईं र नेकपा माओवादी केन्द्रबाट छिरिङ लामा बन्दसूचीमा परेका छन् । ‘एमालेमा तीब्र अन्तर्घात छ । जहॉ एमालेको गढ मानिन्छ त्यही मत कम देखन्छ,’ गिरीले भने, ‘जुम्ला क्षेत्रमा एमाले अघि हुन्छ भन्यो त्यही स्थानमै तेस्रोमा देखिन्छ । यो अन्तर्घात नभएर के हुन सक्छ ।’ निर्वाचनको समीक्षाका लागि एमालेले मंसिर १२ गते समीक्षा बैठक तोकेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×