कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एउटा बाख्रा फार्मले सयौं किसानलाई लाभ

९ करोड लगानीमा बाख्रा फार्म, ५० वटा बाख्राबाट सुरू गरिएको खोरमा अहिले ६ सय बाख्रा
प्रताप विष्ट

हेटौंडा — पचास वटा बाख्राबाट व्यवसाय सुरु गरेका हेटौंडा उपमहानगरपालिका–४ का गोविन्द सुवेदीको खोरमा अहिले ६ सय बाख्रा छन् । अस्ट्रेलियाबाट दुई वटा बोयर जातका बोका ल्याएर स्थानीय बाख्रामा क्रस गराएका थिए ।

एउटा बाख्रा फार्मले सयौं किसानलाई लाभ

त्यति बेला उनले प्रतिगोटा ३ लाखमा २ वटा बोयर बोका ल्याएका थिए । त्यति नै बेला १० वटा बोयर बाख्रा पनि ल्याएका थिए, जसकारण उनको बाख्रा फार्म क्रमशः बोयर बाख्राको फार्मका रूपमा विकास हुँदै गयो ।

हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा ०७० मा स्थापित फार्म सिमरथली एग्रो प्रालिमा विस्तार भएको छ । यहाँ ७५ बोका र ४ सय २५ बोयर बाख्रासहित ६ सय छन् । पाँच जना संलग्न रहेको उक्त फार्ममा अहिले ९ करोड रुपैयाँ लगानी भइसकेको छ । ‘घाँस लगाउन ३ बिघा जमिन किनेका छौं । बाख्रा राख्न १५ कट्ठामा आधुनिक पक्की गोठ बनाएका छौं,’ सुवेदीले भने । फार्म अवलोकन गर्न आउनेहरूलाई बस्न आवासको पनि व्यवस्था गरिएको छ । किसानलाई सैद्धान्तिक र व्यावहारिक तालिम दिन आवासीय तालिम हल पनि निर्माण गरिएको छ । उक्त फार्मको अवलोकन गर्न अहिलेसम्म ७० जिल्लाबाट किसान आइसकेका छन् । यहाँ उत्पादित बोयर जातका पाठापाठी र बोका ६६ जिल्लामा पुगिसकेको सुवेदीले जनाए । अघिल्लो आर्थिक वर्षमा ५ करोड रुपैयाँ हाराहारीको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा भने ३ करोड रुपैयाँको मात्र कारोबार गरेको सुवेदीले बताए ।

फार्मले मकवानपुरका किसानको जीवनमा पनि राम्रै आयआर्जन गराउन सफल भएको छ । जिल्लाका ४८ बाख्राफार्मका लागि सुवेदीको फार्मले बीउका रूपमा बोयर बोका उपलब्ध गराउँदै आएको छ । र, बोयरको क्रसबाट जन्मिएका पाठापाठी सबै फार्मले किनिदिएर अन्यत्र बिक्री गर्ने गरेको छ । ‘सिमरथली एग्रो प्रालि अर्थात् बोयर बाख्राफार्मका कारण मेरो पनि आम्दानी दोब्बर भएको छ,’ कैलाश गाउँपालिकास्थित चुनियाका किसान कर्ण पाख्रिनले भने, ‘मैले सामान्य ढंगले बाख्रापालन गर्दा वर्षको ८ देखि १० लाख रुपैयाँका खसीबोका बेच्थें, अहिले बोयर बोकाबाट पाठापाठी उत्पादन गरेपछि वर्षको २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’

सिमरथली एग्रो फार्ममा १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सस्तो ब्याजदरमा बैंकबाट ऋण लिएर बाख्राफार्मलाई देशकै नमुना फार्म बनाउने प्रयास गरिएको सुवेदीले बताए । बाख्राको बडकुलाको प्रशोधन गर्ने मेसिन ल्याएर गुणस्तरयुक्त मल उत्पादन गर्ने र मलमूत्र संकलन गरेर घाँस र तरकारी खेतीमा प्रयोग गर्ने तयारी गरिरहेको पनि उनको भनाइ छ । स्थानीय, प्रदेश र संघ– तीनै तहका सरकारले यस्ता फार्मलाई सहज ढंगले ऋण र प्राविधिक उपलब्ध गराउनुपर्ने उनको माग छ ।

बाख्रा खरिद गर्न नसक्ने र विदेशबाट फर्किएर नेपालमै केही गरौं भन्ने युवाका लागि फार्मले एक सय ५० वटा बाख्रा उपलब्ध गराएको छ । फार्मले हालसम्म बाख्रा पाल्न ४ सय घरका १२ सय जनालाई तालिमसमेत दिएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?