सुन्तलाबाट उत्साहित किसान, बढ्दै आम्दानी

सम्झना रसाइली

तनहुँ — देवघाट गाउँपालिका–३ छिपछिपेका भीम राना बगैंचामा उत्पादित सुन्तला देखेर दंग छन् । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठूला र पोटिला दाना फलेपछि उनी उत्साहित भएका हुन् । ७२ रोपनीमा सुन्तलाखेती गरेका रानाले अघिल्लो वर्ष २७ लाख रुपैयाँ आम्दानी लिएका थिए । अहिले भने करिब ३२ लाख रुपैयाँ भित्र्याउने उनको लक्ष्य छ । 

सुन्तलाबाट उत्साहित किसान, बढ्दै आम्दानी

रानाका बुबाले ०२२ सालदेखि नै सुन्तला खेती थालेका थिए । त्यति बेला राम्रो बजार नपाएपछि रानाका बुबा र छिपछिपे क्षेत्रका धेरैजसो किसानले ०४६ सालमा सबै सुन्तलाका बोट फाँडेर मकै खेती पनि गरे । छिपछिपेबाट किसान साढे दुई घण्टा हिँडेर सुन्तला बिक्री गर्न जान्थे । ‘तर उचित मूल्य नपाएपछि सुन्तला खेतीबाट आशा मरेको थियो,’ रानाले भने, ‘०६८ सालमा यहाँ उत्पादित सुन्तला काठमाडौंको कालीमाटी बजार लग्ने वातावरण बनेपछि स्थानीय सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।’

यस क्षेत्रका धेरैजसो सुन्तला काठमाडौं लागिए पनि केही सुन्तला नारायणगढ, मुग्लिङ, दमौलीलगायत आसपासका बजार क्षेत्रमा पनि बिक्रीवितरण हुने गरेको राना बताउँछन् । ०६८ सालमा सुन्तला बिक्रीबाट १ हजार ७ सय रुपैयाँ आम्दानी भएको स्मरण गर्दै उनले भने, ‘सुन्तला बिक्री हुन थालेपछि बिरुवा पनि थपेँ । अहिले आम्दानी पनि बर्सेनि बढेको छ । यसपटक मौसमले साथ दिएकाले उत्पादन राम्रो भयो ।’

सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिएको व्यास नगरपालिका–१३ बेनीकोटका विकास थापा बताउँछन् । उनले २० रोपनीमा सुन्तला खेती गरेका छन् । ‘निर्वाहमुखी रहेको सुन्तला खेतीलाई व्यावसायिक रूपमै अगाडि बढ्दा राम्रो आम्दानी लिन सफल भएका छौं,’ उनले भने, ‘हामीले सुन्तलाको बगैंचा सबै ठेक्कामा दिन्छौं । अघिल्लो वर्ष ३ लाख ५० हजार रुपैयाँमा बेचिएको थियो । यस वर्ष भने ८ लाख रुपैयाँमा बेचेका छौं ।’

आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकका सोलबहादुर रानाले पनि यस वर्ष सुन्तला उत्पादन राम्रो भएको जनाए । ‘समयमै पानी पर्नाले सुन्तलाको बोटले आवश्यक सिँचाइ पायो,’ उनले भने, ‘मौसमले साथ दिएकाले नै अहिले सुन्तलाका दाना पनि ठूला छन् । मैले त बगैंचा नै ३ लाख ५० हजार रुपैयाँमा ठेक्कामा दिइसकें ।’

रानाले करिब ४ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अघिल्लो वर्ष २ लाख ८० हजार रुपैयाँ आम्दानी भएको बताउने उनी अहिले उत्पादन राम्रो भएसँगै सुन्तलाको मूल्य बढ्दा खुसी छन् । मौसमको साथ र स्याहारसुसार गरी समयमै मलजल गर्दा फल राम्रो लागेको व्यास नगरपालिका–१३ बेनीकोटका खेमबहादुर रानाको भनाइ छ । ‘असिना नपरेकाले पनि सुन्तला बचे । अहिले सुन्तलाका दाना ठूला भएकाले किसानले मागेको रकम दिएर व्यापारीले किनिरहेका छन्,’ उनले भने ।

‘बेनीकोटमा सुन्तलाको उत्पादन राम्रो छ तर यसपटक अझै बढी उत्पादन भएको छ,’ रानाले भने, ‘पहिलाको तुलनामा अहिले किसान सचेत छन् । उनीहरूले सुन्तलाका बोटबिरुवालाई सानैदेखि हेरचाह, स्याहारसुसार गरिरहेका छन् । मलजल गर्ने र समयमै पानी पुर्‍याई गोडमेल गर्दा आम्दानी पनि राम्रै लिन सफल भएका छन् ।’ यस वर्ष जिल्लामा सुन्तलाको उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘समग्रमा जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ,’उनले भने ।

दक्षिण मोडा फर्किएको क्षेत्रमा सुन्तला उत्पादन राम्रो नभएको र बोट पनि सुक्दै गएको तिवारीको भनाइ छ । तर उत्तरतर्फको मोहडामा रहेका बगैंचामा सुन्तला उत्पादन राम्रो छ । १ हजार ४ सय ८० हेक्टरमा ९ हजार ५ सय १० टन सुन्तला उत्पादन भएको उनले जनाए । यस पटक करिब २८ करोड रुपैयाँको सुन्तला बिक्री हुने केन्द्रको अनुमान छ ।

अघिल्लो आर्थिक वर्षमा १ हजार ४ सय ६० हेक्टर क्षेत्रफलबाट ९ हजार ३ सय १० टन सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तला बिक्रीबाट जिल्लामा २६ करोड ५० लाख रुपैयाँ भित्रिएको थियो ।

जिल्लामा शुक्लागण्डकीको राइपुर, व्यास नगरपालिकाको तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको छिपछिपे, बैदी, कोट र भिमाद नगरपालिकाको भानुमतिलगायत क्षेत्रलाई सुन्तला खेतीको पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौंबाट आउने ठेकेदारले राम्रो मूल्य दिएर किन्ने गरेका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?