कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याजदर वृद्धि र तरलता अभावले मनोबल कमजोर भयो : गोल्छा

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका छन् । शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले बजारमा तरलताको चरम अभाव, उद्योगको उत्पादन क्षमतामा कमी, बैंकको ब्याजदर वृद्धि लगायतका कारण निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । 

ब्याजदर वृद्धि र तरलता अभावले मनोबल कमजोर भयो : गोल्छा

सरकारले लामो समय आयात प्रतिबन्ध गर्दा राजश्व संकलनमा कमी आएकाले सरकारको चालु खर्चमै समस्या हुन सक्ने उनको भनाइ छ । अध्यक्ष गोल्छाले अहिले विदेशमा रहेका ५० लाख युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बताउँदै देशभित्र नै युवाहरुलाई रोजगारी दिन नसक्नु निजी क्षेत्र र सरकारको कमजोरी भएको बताए ।

सरकारले उद्योगलाई बचाउन सके मात्रै अहिले देखिएको अर्थतन्त्रको समस्या समाधान हुने उनले बताए । उद्योग क्षेत्रका समस्या समाधान गर्नका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनको भनाइ छ । नेपालमा मूल्य अभिवृद्धि हुने, धेरै रोजगारी सृजना गर्ने र धेरै निर्यात गर्ने उद्योगलाई सरकारले ब्याजमा अनुदान दिनुपर्नेमा उनले जोड दिए । वाणिज्य बैंकहरुको उद्देश्य नाफा कमाउने हुने हुँदा ब्याजदरको अस्थिर अवस्थामा बैंकभन्दा उद्योग बचाउन सरकारले अनुदान दिनुपर्ने गोल्छाको भनाइ छ । उनले भने ‘वाणिज्य बैंकहरु नाफा कमाउने उद्देश्यकै हुन्, ब्याजदरको अस्थिर अवस्थामा बैंकभन्दा पनि उद्योग बचाउन सरकारले ब्याजमा अनुदान दिनुपर्छ । उद्योग बचाउन सरकारले काम नगरे अवस्था भयवह छ ।’

१८ प्रतिशतसम्मको ब्याजले निराश बनायो : अग्रवाल

त्यस्तै, उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्र निराश रहेको बताए । उनले पछिल्लो समय तलरलताको चरम अभाव, बैंकको ब्याजदर १८ प्रतिशतसम्म पुग्नु, मागमा समेत ठूलो रुपमा संकुचन भएकाले निराशा छाएको बताए । लगानी गर्ने वातावरण नभएकाले ७० प्रतिशत उद्योगी लगानी रोकेर राखेको उनले बताए ।

सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन उनले माग गरे । उनले परिसंघले अगाडि सारेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमार्फत् ४ वर्षमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, १ लाख ५० हजार युवालाई वार्षिक रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको बताए ।


प्रकाशित : मंसिर ९, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?