कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मूल्य बढ्दा र माग घट्दा आयातमा गिरावट

राजु चौधरी

काठमाडौँ — मुलुकभित्र उत्पादित वस्तुको निर्यात नबढे पनि मुलुकको व्यापार घाटा निरन्तर घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ को पहिलो ४ महिनाको तुलनामा चालु आर्थिक वर्ष ०७९/८० को यही अवधिमा व्यापार घाटा हरेक महिना घटेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार आयातसँगै निर्यात प्रतिशत पनि घटेको छ ।

मूल्य बढ्दा र माग घट्दा आयातमा गिरावट

गत आवको पहिलो ४ महिनामा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु आयात भएको थियो । यसपल्ट आयात भएको वस्तुको मूल्य १८.०८ प्रतिशतले घटेर ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, निर्यातमा ३३.३० प्रतिशतले कमी आएको छ । गत आवको साउनदेखि कात्तिकसम्म ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा अहिले उक्त आँकडा ५४ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ । व्यापार घाटा पनि १५.८८ प्रतिशतले घटेको विभागले जनाएको छ । गत आवको पहिलो ४ महिनामा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ घाटा रहेकोमा अहिले घटेर ४ खर्ब ७७ अर्ब १९ करोड रुपैयाँ मात्रै छ ।

विभागका महानिर्देशक कमल भट्टराईले घाटा कम हुनुको कारण अन्तर्राष्ट्रिय वस्तुको मागमा कमी र नेपालले केही वस्तुको आयात बन्देज रहेको बताए । ‘मुद्रा सञ्चिति बढाउनलाई नै केही वस्तुको आयात बन्देज गरिएको हो, बन्देजले व्यापार घाटा पनि कम भएको छ,’ उनले भने, ‘सँगसँगै अन्तर्राष्ट्रिय वस्तुको मागमा पनि कमी भएको छ । केही स्वदेशी उत्पादन बढेकाले पनि माग कम भएको छ ।’

तीन महिनाको मात्रै तथ्यांक हेर्दा पनि आयात–निर्यातसँगै व्यापार घाटा पनि घटेको देखिन्छ । गत आवको साउनदेखि असोजसम्म ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएकोमा यो वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ मात्रै छ । यो १६.२० प्रतिशतले कमी हो । त्यस्तै, निर्यातमा ३५.७१ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँमा कारोबार खुम्चिएको छ । जसअनुसार व्यापार घाटा १३.१३ प्रतिशतले घटेर ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा घट्नु सन्तोषजनक भए पनि निर्यात नबढ्नु सुखद नभएको जानकारहरू बताउँछन् । पछिल्लो ४ महिनाको व्यापारको चित्रणले मुलुक आर्थिक मन्दीतर्फ उन्मुख रहेको उनीहरूको दाबी छ ।

‘व्यापार घाटा कम हुनुको एउटा कारण आयात बन्द हो, अर्को जनतासँग खरिद गर्न सक्ने क्रयशक्ति नभएर पनि हो । सर्वसाधारणसँग पैसा नहुँदा खपत पनि कम भएको देखिन्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘अर्को आयात–निर्यात घटेर व्यापार घाटा घटेको देखिन्छ । निर्यात नबढी व्यापार घाटा घट्नु आर्थिक गतिविधिमा मन्दी आएको संकेत हो ।’

निर्यातमा मुख्यतः खाने तेलको भूमिका रहन्छ । तेस्रो मुलुकबाट आयात हुने खाने तेलको कच्चा पदार्थलाई प्रशोधन गरेर व्यवसायीहरूले भारत निर्यात गर्दै आएका छन् । रुस र युक्रेनबिचको युद्धले खाने तेलको कच्चा पदार्थको आयातमा प्रभाव परेको छ । जसले गर्दा आयातसँगै निर्यात पनि घटेको छ । ‘आयात गरेर पुनः निर्यात गर्नु प्रभावकारी विकल्प होइन, दिगो पनि होइन,’ ओझाले भने, ‘उत्पादन प्रक्रिया नकारात्मकतर्फ गएको छ । स्वदेशी उत्पादन बढाएरै निर्यात गर्ने हो, अहिले देखिएको मन्दीको उपचार आयात कडाइ गरेको वस्तुलाई खुकुलो बनाउने हो ।’

सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने नाममा गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनको आयातमा लगातार प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीहरूले निरन्तर दबाब दिए पनि सरकारले ४ वस्तुको आयात प्रतिबन्ध मंसिर २८ सम्मलाई यथावत् राखेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै असोज २८ मा प्रकाशित राजपत्रमा सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान तथा १५० सीसीमाथिका मोटरसाइकल आयातमा प्रतिबन्ध कायम रहेको उल्लेख छ ।

मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल, टीभी, मोटरसाइकल लगायतका १० वस्तुहरूमा आयात बन्देज गर्ने निर्णय गरेको थियो । केही वस्तुको आयात फुकुवा गरे पनि ४ वस्तुको अझै कायम छ । एउटै प्रकृतिका कुनै वस्तुमाथिको आयात फुकुवा र कुनैमाथि कायम प्रतिबन्धले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश नगएको जानकारहरूले बताउँदै आएका छन् ।

आर्थिक मन्दी बढ्दो क्रममा रहेकाले सरकारले बजार चलायमान बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ । ‘मुलुकमा आर्थिक मन्दी छँदै छ, यस्तो अवस्थामा पनि आयात कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले पनि आयात निरुत्साहनको नीति लिएको छ,’ महासंघ अध्यक्ष शेखर गोल्छाले भने, ‘बजारमा तरलता अभाव हुँदा माग खस्किएको छ । एकातर्फ राजस्व संकलन उल्लेख्य छैन भने अर्कोतर्फ मदिरा अवैध रूपमा भित्रिरहेको छ । राजस्व नभई देश कसरी अगाडि बढ्छ ?’ बजारमा देखिएको समस्या समाधान गर्न आयात नीति खुकुलो बनाई व्यवसायीको मनोबल बढाउनुपर्नेमा उनले जोड दिए । तरलता अभावको समस्या समाधन गर्न राष्ट्र बैंक लचिलो हुनुपर्ने र चालु पुँजीसम्बन्धी निर्देशिकालाई यथावत् राख्नुपर्ने पनि उनले सुझाए ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?