धेरै आयकर तिर्ने व्यक्ति विजय शाह र संस्था सूर्य नेपाल

काठमाडौँ — आर्थिक वर्ष ०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ विजयकुमार शाह रहेका छन् । सूर्य नेपाल यसअघि पनि ७ पटकसम्म सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने कम्पनीको सूचीमा अग्रणी स्थानमा रहँदै आएको छ ।

धेरै आयकर तिर्ने व्यक्ति विजय शाह र संस्था सूर्य नेपाल

शाह ०७५/७६ मा पनि सबैभन्दा बढी व्यक्तिगत आयकर दाखिला गर्ने करदाता भएका थिए । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा बुधबार सूर्य नेपाल र शाहसँगै सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १६ करदातालाई सम्मान गरेको हो । विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ ।

यसैगरी, सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमा श्री शिवशक्ति घिउ उद्योग, विशेष उद्योगमा राजेश मेटल क्राफ्ट, कृषि एवं पशुपक्षीजन्य उद्योगमा ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामा छिमेकी लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामा नबिल बैंक, बिमा व्यवसायमा नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन् । पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि, वस्तु व्यापारको कारोबारमा हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालि, मध्यमस्तरीय करदातामा नेपाल धितोपत्र विनिमय बजार, ऊर्जामूलक उद्योगमा चिलिमे जलविद्युत् कम्पनी र रेमिट्यान्स तथा मनिट्रान्सफरहरूमा आईएमई रेमिट्यान्स कम्पनी रहेको विभागले जनाएको छ ।

२०६७ साउनदेखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा गोर्खा ब्रुअरी प्रालि रहेको विभागको भनाइ छ । अघिल्लो आवमा सबैभन्दा बढी कर तिर्ने १० जना कर्मचारीलाई पनि विभागले सम्मान गरेको छ । यहाँ हालसम्म धेरै पटक सम्मानित भएका करदाताको चर्चा गरिएको छ ।

सूर्य नेपाल

विभागले ठूला करदातालाई सम्मान गर्न थालेदेखि सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको पहिलो स्थानमा सूर्य नेपाल रहँदै आएको छ । यो कम्पनीले २०७३ यता हरेक वर्ष बढी आयकर तिर्ने कम्पनीको अग्रणी स्थानमा छ । २०७२ मा पनि सबैभन्दा बढी अन्तः शुल्क तिर्ने कम्पनीमा सूर्य नेपाल रहेको थियो । २०७१ र २०७२ मा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा एनसेल विभागबाट सम्मानित भएको थियो ।

नबिल बैंक

बैंक तथा वित्तीय क्षेत्रमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा नबिल बैंक अग्रणी स्थानमा छ । यसअघि कम्पनीले २०७१, २०७२, २०७३, २०७५, २०७७, २०७८ सालमा पनि विभागबाट सम्मानित भएको थियो । यसबाहेक २०७४ मा हिमालयन बैंक र २०७६ मा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक बनेका थिए ।

सिद्धार्थपछि विजय

व्यक्तिगत आयकरमध्ये हालसम्म धेरै पटक उच्च कर तिर्नेमा सिद्धार्थशमशेर जबरा छन् । विभागले ठूला करदातालाई सम्मान गर्न थालेदेखि ६ पटक (२०७१, २०७३, २०७४, २०७५, २०७६ र २०७८) उनी सम्मानित भइसकेका छन् । उनी सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष हुन् । २०७७ र यस वर्ष भने उनलाई उछिन्दै विजयकुमार शाह सबैभन्दा बढी कर तिर्नेको पहिलो नम्बरमा पुगेका छन् । शाह जाउलाखेल डिस्ट्रलरी ग्रुपका अध्यक्ष हुन् ।

नेपाल दूरसञ्चार कम्पनी

यो वर्ष पनि सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने कम्पनीको पहिलो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ । यसअघिका ४ वर्ष (२०७१, २०७२, २०७३ र २०७८) पनि यो कम्पनी यही शीर्षकमा विभागबाट सम्मानित भइसकेको छ ।

आईएमई

रेमिट्यान्स व्यवसायमा सबैभन्दा बढी आयकर तिरेको भन्दै विभागले आईएमई लिमिटेडलाई सम्मानित गरेको छ । आईएमई यसअघि पनि ४ पटक (२०७१, २०७२, २०७३ र २०७७) बढी आयकर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित भइसकेको छ ।

डाबर नेपाल

हालसम्मको इतिहास हेर्दा निर्यातकर्ताहरूमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको अग्रणी स्थानमा डाबर नेपाल रहँदै आएको छ । यो कम्पनीलाई २०७२, २०७३, २०७५, २०७६, २०७७ र २०७८ मा सबैभन्दा बढी आयकर तिरेको भन्दै विभागले सम्मान गरेको थियो । यो वर्ष भने डाबर नेपालको स्थान श्री शिवशक्ति घिउ उद्योग प्रालिले ओगटेको छ ।

नेपाल पुनर्बिमा कम्पनी

नेपालमा बिमा व्यवसाय गर्ने कम्पनीमध्येमा वार्षिक रूपमा सबैभन्दा धेरै आयकर दाखिला गर्ने कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएको छ । यो कम्पनीले २०७४, २०७५, २०७७ र २०७८ मा पनि यही शीर्षकमा सम्मान थापेको थियो ।

तारागाउँ रिजेन्सी

पर्यटन व्यवसायमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको अग्रणी स्थानमा तारागाउँ रिजेन्सी रहँदै आएकोमा यो वर्ष उक्त स्थान मनकामना दर्शन प्रालिले ओगटेको छ । अघिल्लो आवमा धेरै कर तिरेको भन्दै मनकामना दर्शन बुधबार सम्मानित भएको हो । यसअघि ४ वर्ष (२०७५, २०७६, २०७७ र २०७८) पर्यटन क्षेत्रमा धेरै आयकर दाखिला गरेको भन्दै विभागले तारागाउँ रिजेन्सीलाई सम्मान गरेको थियो ।

छिमेक लघुवित्त

लघुवित्त वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर तिरेको भन्दै यो वर्ष विभागले छिमेक लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको छ । यो कम्पनी यसअघि पनि ६ पटकसम्म (२०७१, २०७३, २०७५, २०७६ र २०७७) सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?